सम्पादकीय

सम्पादकीय

मुलुकलाई विदेशीको क्रीडास्थल बन्‍नबाट जोगाऊ

इकागज |
पुस १४, २०७७ मंगलबार ११:१४ बजे

चीन भन्‍ने बित्तिकै शान्त कूटनीतिको स्मरण हुन्छ । त्यो नेपालमा मात्र होइन, विश्वमा नै । उनीहरूले शान्त कूटनीतिको परिचय बनाएका थिए । नेपालमा हकमा पनि तिनले त्यही नीति अख्तियार गरेका थिए । विगतमा जसरी दक्षिणी छिमेक भारतबाट राजनीतिक दलका नेता वा विशेष दूतहरु नेपालको आन्तरिक ममिलामा प्रवेश गर्थे, यतिखेर चीनले पनि पुरानो नीति बदल्दै भारतीय शैली नक्कल गरेको भान पार्दैछन् । यदाकदा, भारतीयहरूले राम्रै भाव राखेर काम गर्दा पनि के स्वार्थमा गर्दैछन् भन्‍ने आशंका उब्जिन्थ्यो । चिनियाँ पक्षबाट नराम्रो भएकै खण्डमा पनि हाम्रैले बिगारे भन्‍ने टिप्पणीसहित चीनले नेपालको साँचो माया पाउँथे ।

चीनको भ्रमणसँगै विभाजित नेकपा फेरि ‘एकताको सूत्र’मा गाँसिने अड्‍कल काटिँदैछ ।


तर, चीनको पछिल्ला राजनीतिक अतिरिक्त सक्रियताले विगतको त्यो न्यानो मायामा ठेस लाग्‍ने दृश्य बढ्दै गएको छ । सत्तारुढ नेकपासँग चीनको गहिरो सम्बन्ध थियो नै । उनीहरुबीच सैद्धान्तिक ‘स्कूलिङ’ पनि चलिरहेकै थियो, अब त आन्तरिक झगडा संयोजनमा पनि चीनको प्रवेश भएको छ । नेकपा विभाजनसँगै राजनीतिक संकट निम्तिएपछि चिनियाँ कम्युनिस्ट पार्टी टोली आइतबार काठमाडौँ आइपुग्यो । नेकपाका दुवैतिरका नेताहरूसँग म्याराथुन शैलीमा भेटघाट गरी नेपालको राजनीतिक मामिलामा गहिरो चासो देखाए । यो भ्रमणसँगै विभाजित नेकपा फेरि ‘एकताको सूत्र’मा गाँसिने अड्‍कल काटिँदैछ ।

कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भन्‍ने चीनको नीति थियो । तर एउटा दल मिलाउन विमान चार्टर गरी भित्रिएपछि उसले नीति फेरेको आभास हुँदैछ । उसले आन्तरिक राजनीतिक ममिलामा शक्ति प्रदर्शनको नयाँ शैली अपनाएको छ । यद्यपि यो भ्रमणबारे नेपाल सरकारले कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । विदेशीहरु यसरी नेताका घरदैलोमा पुग्दै वार्ता गरेको विषयबारे नागरिकलाई जानकारी दिनु राज्यको दायित्व हो कि होइन ? के कूटनीतिमा यस्तै व्यवहार हुन्छ ? यो कुन प्रकारको कूटनीतिक सम्बन्ध हो भन्‍ने सवालमा प्रश्‍न उब्जिएको छ ।

कुनै पनि छिमेकी घरभित्रको झगडामा प्रवेश गर्न राज्यको स्वीकृति चाहिन्छ । त्यो मध्यस्तता नै गर्ने भए औपचारिक प्रक्रिया पनि हुन्छ । सद्‍भाव राख्‍न, सम्बन्ध देखाउन पाइन्छ तर प्रवेश नै गरेर मिल्न आग्रह गर्ने आँट कहाँबाट मिल्यो र त्यो कसरी सम्भव भयो यसमा सचेत नागरिक सचेत हुनैपर्छ, प्रश्‍न गर्नैपर्छ । यो विषयमा परराष्ट्र मन्त्रालयका प्रवक्तासमेत यसमा अनविज्ञ छन् । सरकारको निमन्त्रणामा नआएको हुनाले कूटनीतिक संयन्त्र आफै अचम्मित भएका छन् । वा, अचम्मित भएको स्वाङ पारिरहेका छन् । त्यो, त बाहिर आउला किनकी परराष्ट्रमन्त्री स्वयं नै नेकपाको एक खेमाको प्रवक्ता हुन । पक्कै यस विषयमा प्रवक्ता वेखवर त थिएनन् ।

कुनै पनि छिमेकी घरभित्रको झगडामा प्रवेश गर्न राज्यको स्वीकृति चाहिन्छ । त्यो मध्यस्तता नै गर्ने भए औपचारिक प्रक्रिया पनि हुन्छ । सद्‍भाव राख्‍न, सम्बन्ध देखाउन पाइन्छ तर प्रवेश नै गरेर मिल्न आग्रह गर्ने आँट कहाँबाट मिल्यो र त्यो कसरी सम्भव भयो यसमा सचेत नागरिक सचेत हुनैपर्छ, प्रश्‍न गर्नैपर्छ ।

त्यो टोलीले राष्ट्रपतिबाटै वार्ता आरम्भ गरेको थियो भने कामचलाऊ प्रधानमन्त्रीसँग दुई पटक भेट्यो । पूर्वप्रधानमन्त्रीत्रय पुप्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग कुराकानी गर्‍यो । तर यसरी चिनियाँ टोलीले सबैलाई भेट्‍नु त्यसबारे कूटनीतिक संयन्त्र अनविज्ञ हुँदा मुलुक कसरी र कुन प्रध्दतिमा चलेको देखिन्‍छ प्रश्‍न उब्जिएको छ । यही प्रकृतिको भेट छिमेकी भारतले पनि गर्‍यो । परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई केही समयअघि चार्टर उडानमा भारतीय गुप्तचर निकाय प्रमुख नेपाल आए । ‘रअ’ प्रमुख सामान्तकुमार गोयलले नेतृत्व तहसँग यही शैलीको मन्त्रणा गरेका थिए । भलै तिनका ‘मिसन’ फरक थियो होला । परराष्ट्र मन्त्री कूटनीतिक आचार-संहिता पालनाका विषयमा निकै प्रखर वक्ता मानिन्थे । तर उनको शैली पनि ‘गफ’मै सीमित रह्यो ।

कूटनीतिक संयन्त्रलाई अँध्यारोमा राख्दै राजनीतिक नेतृत्वले गर्ने यस्ता छलले मुलुकमा अस्थिरता र विदेशी हतस्क्षेप निम्तिने हो । अझ मुलुक विदेशीको क्रीडास्थल बन्‍न सक्छ । सँगै नागरिक तहले छिमेकीप्रति तय गर्ने धारणा सशंकित बन्‍न सक्छ । त्यसै त, नेपाल शक्ति राष्ट्रको चासोमा परेको छ । झन् राष्ट्रपति-प्रधानमन्त्रीको सरकारी निवासका चोठा-कोठा चाहार्दै गरेको शैली बाक्लिएपछि अनेकन आशंका उब्जिन्छ नै । कुनै विदेशीले राष्ट्रप्रमुख-सरकारप्रमुखसँग वार्ता गर्दा त्यसमा निश्‍चित मापदण्ड र शैली अपनाइन्‍छ । त्यो घेराबाट कोही पनि बाहिर जान पाउँदैनन् । यदि त्यो रेखा नाघियो भने विदेशीको मुलुक क्रिडास्थल बन्‍न पुग्छ । शासकीय वृत्त र राजनीतिक नेतृत्वले निहित स्वार्थ खातिर ठाउँ छाड्‍दै गएको हुँदा सार्वभौम नागरिक तहबाटै व्यापक प्रश्‍न उब्जिनुपर्छ ।
 


Author

थप समाचार
x