सम्पादकीय
अहिलेलाई देउवालाई बधाइ
अन्ततः शेरबहादुर देउवा दोस्रो कार्यकाल निम्ति नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । संस्थापन इतरपक्ष ‘तितर-वितर’ र कोइराला परिवार विभाजित भएपछिको ‘लाभ’ देउवालाई मिलेको हो । चारैतिर प्रतिकूल परिस्थितिबीच डा. शेखर कोइरालालाई प्राप्त मत हेर्ने हो भने उनको कांग्रेसभित्र दरिलो उपस्थिति भएको छ । अनि २०५९ असार विभाजनपछिको प्रजातान्त्रिक कांग्रेसको सभापतिलाई नगन्ने हो भने देउवा कांग्रेसको सभापतिमा दोस्रो पटक अत्यधिक मतसहित विजयी भएका छन् ।
त्यसो त, प्रधानमन्त्री समेत रहेका देउवाका निम्ति कांग्रेसभित्र चुनौतीका पहाड छन् । महाधिवेशनका बेला सिर्जित गुटगत राजनीतिका कारण केन्द्रदेखि वडा तहसम्म नेता/कार्यकर्ता चिरा-चिरामा छन् । अब सभापति भएपछि देउवाले कुँडिएका-भाँचिएका मनलाई जोड्दै सग्लो कांग्रेसको माहौल सिर्जना गर्नुपर्नेछ । अनि आफैँँद्वारा वा चुनावी प्रतिस्पर्धा निम्ति सिर्जित ‘गुटतन्त्र’ अन्त्य गर्न पाइला चाल्नुपर्छ ।
त्यस निम्ति पहिलो सर्त भनेको कसैलाई अन्याय हुन नदिने र क्षमताअनुरुप जिम्मेवारी दिने वाचा पनि देउवाबाट आउनुपर्छ । देउवालाई पराजित इतर समूह समेट्नुपर्ने बाध्यता छ । त्यसो त, देउवाको अघिल्लो महाधिवेशनको मूलभूत नारा नै ‘गुटबन्दी अन्त्य गर्ने’ थियो । आफू सधैँभरि कोइराला परिवारको अन्यायमा परेको दलिल पेस गर्दै आफू सभापति भएमा कसैलाई ‘अन्याय’ हुन नदिने प्रतिबद्धता जाहेर गरेका थिए । उक्त प्रतिबद्धतामा देउवा कति कटिबद्ध रहे, त्यसको हिसाब-किताब कांग्रेसीजनले राखेकै होलान् ।
तिनै कांग्रेसीजनको टीका-टिप्पणी चाहिँ देउवा सभापति र प्रधानमन्त्री बनेसँगै गुटका मानिस टिपोट गर्र्ने ‘बहिखाता’ सिर्जना भएको छ । अनि ‘बहिखाता’मा नाम चढाउनेमा नवप्रवेशी, खातापिता परिवार, स्वार्थी व्यापारिक समूह प्रभावी हुँदै गएका छन् । जसलाई कांग्रेसीजन ‘हुकुमबासी’ संज्ञा दिन्छन् । ती नवप्रवेशीहरु सख्खरसँगै बसाइँ सर्दै कांग्रेसमा आइपुगेका हुन्, कांग्रेसको हैसियत तल-माथि पर्यो भने तिनीहरुले अन्यत्रै डेरा सार्छन् ।
यतिखेर तिनै हुकुमबासीहरुले ‘बहिखाता बाहिर’का जतिसुकै योग्य, इमानदार र सक्षम व्यक्ति भए पनि ठाउँ नदिने र सुकुमबासी बनाइदिने खेल भित्र्याएका छन् । झन् महाधिवेशनका बेला त स्वाभाविक रुपमा ‘संस्थापन’ र ‘इतर’ समूह सिर्जना भएको छ । तिनीहरुमाथि प्रतिशोध साँधिएको खण्डमा आउँदा चुनावहरुमा कांग्रेसले संकट खेप्नुपर्नेछ । देउवाले कांग्रेसलाई पहिलो पार्टीमा स्थापित गर्ने हो भने प्रतिशोध र अन्याय रणनीतिको दायराबाट माथि उठ्नुपर्छ ।
राजनीतिक जीवनको उत्तरार्द्धमा देउवाले यावत् समस्या चिर्दै, पार्टीभित्र न्यायको वातावरण सिर्जना गर्दै अघि बढेको खण्डमा सुदृढ कांग्रेस बन्न सक्छ । दोस्रो कार्यकाल सफल होस्, शुभकामना छ ।
अर्को त, देउवाको पहिलो कार्यकालमा कांग्रेस संसदीय, प्रदेश र स्थानीय तहको चुनावमा नराम्ररी पराजय बेहोर्यो । अब फेरि मुलुक उनकै नेतृत्वमा तीनै तहको चुनावमा जाँदै छ । उनले कांग्रेसलाई पहिलो पार्टी बनाउने वाचा गरेसँगै महाधिवेशन प्रतिनिधिहरुले अन्तिम मौका दिएका छन् । विधानतः पनि दुई कार्यकालभन्दा बढी सभापति बन्न पनि मिल्दैन ।
चौधौँ अधिवेशन/महाधिवेशनमा एउटा सकारात्मक पक्ष चाहिँ वडादेखि केन्द्रसम्म चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन पुग्यो । कहीँ कतै पनि ‘सहमति’ वा ‘सर्वसम्मति’ शब्द घन्किएन । क्रियाशील सदस्य हुँदै क्षेत्रीय सदस्यहरुबाटै मतीय प्रक्रियाद्वारा नै नेतृत्व चयन हुन पुग्यो । नत्र कुनै बेला कांग्रेसमा पनि ‘सर्वसम्मति’ जस्ता वाक्यांश गुन्जन्थ्यो ।
देउवा, जसरी २०७२ मा कांग्रेस सभापति निर्वाचित भएका थिए, उनले पार्टी संगठन विस्तार र सुदृढ गर्न खासै भूमिका निर्वाह गर्न नसकेको धु्रवसत्य हो । उनले चार वर्षसम्म पार्टीका विभागहरुलाई समेत पूर्णता नदिएपछि नेतृत्व ‘गु्रमिङ’मै बाधा परेको थियो । समयमै विभाग नबन्दा कांग्रेस भद्रगोल भयो । कांग्रेसले नेतृत्व ‘गु्रमिङ’ गर्ने भ्रातृ संस्थाहरुको पनि समयमै अधिवेशन गर्न नसकेपछि तिनीहरुको वैधानिक अस्तित्व नै संकटमा पर्र्दै गएको अवस्था छ ।
पार्टीमा विभागहरु क्रियाशील नबन्दा पार्टीकै क्रियाकलाप सुस्त हुन पुग्यो नै । गएको संसदीय, प्रदेश र स्थानीय तहका चुनावमा कांग्रेसले हार बेहोर्नुको मूलभूत कारण नै कांग्रेस क्रियाशील हुन नपुग्नु हो । आफू संस्थापन इतरमा हुँदा कुनै बेला ‘एक व्यक्ति एक पद’को वकालतकर्ता देउवा पछिल्लो समयमा दुवै पदका मालिक बनेका छन् ।
उमेरका हिसाबले पनि सरकार र पार्टी दुवैलाई गतिशील तुल्याउनु सजिलो छैन । अर्कातिर देउवाले पार्टी र सरकार सञ्चालनमा सहयोग पुग्ने गरी सल्लाहकार ‘टिम’ निर्माण गर्न नसकेको कटु सत्य हो । देउवाले नयाँ पुस्तालाई आकर्षित गर्ने नयाँ योजना प्रस्तुत गर्न सक्नुपर्छ ।
देउवाले जसरी कांग्रेसलाई आउँदा चुनावमा पहिलो नम्बरमा स्थापित गर्ने दृढता व्यक्त गरेका छन्, त्यस निम्ति विभाजित मानसिकतामा गुम्सेका कांग्रेसजनका मन जोड्नुपर्नेछ । नत्र चुनावका बेला कांग्रेस हराउन अरु शक्ति चाहिँदैन कांग्रेस नै पर्याप्त हुन सक्छन् । राजनीतिक जीवनको उत्तराद्र्धमा देउवाले यावत् समस्या चिर्दै, पार्टीभित्र न्यायको वातावरण सिर्जना गर्दै अघि बढेको खण्डमा सुदृढ कांग्रेस बन्न सक्छ । दोस्रो कार्यकाल सफल होस्, शुभकामना छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया