सम्पादकीय

सम्पादकीय

माओवादीलाई शुभकामना : जड्सूत्रवादी रहने कि रूपान्तरणकारी बन्ने ?

इकागज |
पुस ११, २०७८ आइतबार १३:१८ बजे

कम्युनिष्ट पार्टीहरूमा मात्र होइन, नेपालको सन्दर्भमा दलहरूमा आन्तरिक लोकतन्त्रको अभ्यासको अभाव छ । दल कब्जा अर्थात् अकण्टक नेतृत्वमा रहने चाहनाकै कारण कयौं वर्षदेखि प्रमुख दलहरूको नेतृत्वमा देउवा, ओली, दाहालहरूले सत्ता जमाएका छन् । दलभित्र परिवर्तन र रूपान्तरणबिना लोकतन्त्र परिस्कृत र बलियो बन्न सक्दैन । एकपटक दलको नेतृत्व हातमा आएपछि लोकप्रिय कामले नेतृत्वमा दाबी गर्नेभन्दा पनि जसरी पनि कब्जा गर्ने नेतृत्वको सोच जति खराब छ, दलका लम्पट कार्यकर्ता (बुटलिकर्स) त्यत्तिकै खराब छन् । त्यसकारण बहुदलीय लोकतन्त्रमा दलहरू जसरी आवधिक निर्वाचनमा प्रतिस्पर्धा गर्छन्, त्यसरी नै पार्टीभित्रका सबैसंरचनामा नेतृत्व चयनमा प्रतिस्पर्धाको सुनिश्चितता हाम्रो संविधानले गरेको छ । त्यसलाई प्रयोग गर्ने दायित्व भनेको सुविचारित कार्यकर्ताहरूकै हो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)पछि राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसपछि नेपाली कांग्रेसले यसै सिजनमा महाधिवेशन सम्पन्न गरिसकेका छन् । आजदेखि माओवादीको महाधिवेशन शुरु भएको छ । सुरुमा राष्ट्रिय सम्मेलन गर्ने र दुई वर्षपछि महाधिवेशन गर्ने भनिएपनि माओवादीले राष्ट्रिय सम्मेलनलाई नै आठौं महाधिवेशनमा रूपान्तरण गरेको छ । 


वास्तवमा महाधिवेशनका लागि राजनीतिक दस्तावेजहरू तयार गरी प्रदेश, पालिका, वडा, सेल, टोल सम्म पुर्‍याएर त्यहाँबाट प्राप्त भएका फरक मतलाई समेत सम्बोधन गर्दै राजनीतिक दस्तावेजलाई सर्वस्वीकार्य बनाएर नेतृत्वमा पुग्ने हो । माओवादीमा विचारको भन्दा पनि नेता छान्नका लागि महाधिवेशन हुँदैछ, अन्य पार्टीमा जस्तै । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कसैले चुनौती दिन सक्दैन । प्रचण्ड स्वयंले नेतृत्वको विषय आन्दोलन, विचार र जनमतसँग जोडिएको र अहिले माओवादीमा आफ्नो विकल्प नभएको बताइसकेका छन् । अध्यक्ष बाहेकका पदमा पदाधिकारी चयनका लागि निर्वाचन हुनसक्ने बताइएको छ । माओवादीमा समेत नेतृत्व र पदाधिकारी चयनका लागि आन्तरिक प्रतिस्पर्धा र निर्वाचन हुने वातावरण हुनु आफैंमा राम्रो हो । तर माओवादीले यो महाधिवेशनबाट अध्यक्षमात्र छान्ने र पदाधिकारी केन्द्रीय समितिभित्रबाट चुनाव गरेर विभिन्न पदाधिकारी छान्ने तयारी गरिरहेको छ ।

माओवादी आफैंभित्र पनि नीतिप्रधानभन्दा पनि नेताप्रधान देखिन्छ । नेता व्यवस्थापनका लागि विधान संशोधनमार्फत् बहुपदीय व्यवस्था हुँदैछ । त्यसो त माओवादी यसअघि पनि नेता व्यवस्थापनका लागि चार हजार जनाको केन्द्रीय कमिटी बनाउने पार्टी हो । 

अहिले अध्यक्ष प्रचण्डलाई आफ्नो उत्तराधिकारीमा कसलाई अघि बढाउने भन्ने चुनौती छ । दोस्रो पुस्ताका नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माबीच प्रतिस्पर्धा छ । यो अप्ठेरोमा रहेका प्रचण्डले महासचिव लगायत पदाधिकारी छनौटको विषय आफूमा केन्द्रीकरण गर्नुभन्दा महाधिवेशन प्रतिनिधिलाई दिनु नै लोकतान्त्रिक विधि हुन्छ । 

आजदेखि आउँदो बिहीबारसम्म माओवादीले पार्टीका नीति, रणनीति र नयाँ परिस्थितिमा उत्पन्न अवसर र चुनौतीका बारेका छलफल गर्नेछ । साथै नेतृत्व चयन पनि गर्नेछ । माओवादीले आफूलाई व्यवहारिक बनाउन नसक्दा सशस्त्र द्वन्द्व र आन्दोलनमार्फत् स्थापित भएको शक्ति समेत पतनोन्मुख हुँदै गएको छ । यो भनेको माओवादीले राजनीतिमा आफ्नो औचित्य पुष्टी गर्न नसकेको अवस्था हो । यी विषयमा माओवादीले गम्भीर विमर्श गरोस्, अनि आफूलाई सोही अनुसार रूपान्तरण गरोस् । आफूलाई रूपान्तरणकारी शक्ति दाबी गर्ने माओवादी विचार, नेतृत्व र खुम्चिदोँ जनमतका हिसाबले जड्सूत्रवादी राजनीतिक दलको रूपमा रहेको छ ।माओवादी जड्सूत्रवादी हुने कि रूपान्तरणकारी, रोजाई यसकै महाधिवेशन प्रतिनिधिहरूको । 

आठौं महाधिवेशनको माओवादीलाई शुभकामना !


Author

थप समाचार
x