सम्पादकीय

सम्पादकीय

सोलुखोला दुर्घटनाको छानबिन हुनुपर्छ

इकागज |
पुस १२, २०७८ सोमबार १७:१९ बजे

फाइल फोटो

निर्माणको करिब अन्तिम चरणमा रहेको सोलु खोला (दूधकोसी) जलविद्युत् आयोजनाको पानी भरिएको पेनस्टक पाइप परीक्षणका क्रममा उक्त पाइप फुटेर दुईजना होनाहार इन्जिनियरद्वय सुवासराज काफ्ले र अर्जुन थापाले ज्यान गुमाउनु परेको छ । करिब ६ सय मिटरको उचाइबाट खस्ने तीव्र गतिमा खस्ने प्रतिसेकेण्ड १७ घनमिटर पानीको वेग धान्न नसकी पाइप नै फुटेर परीक्षणकर्ता इन्जिनियरकै ज्यान जानु आफैमा ‘गम्भीर लापर्वाही’ भएको स्पष्टै देखिन्छ । किनभने कति वेगमा झर्ने र कति परिमाणको पानीको चाप थेग्न के कस्तो इन्जिनियरिङ प्रविधि र बनोट आवश्यक पर्छ भन्ने कुरा पहिले नै आकलन गरिएको हुन्छ । त्यसैका आधारमा संरचनाको डिजाइन गरिएको हुन्छ । तर पेन स्टक पाइप निर्माण गर्दा चरम गल्ती भएको यो घटनाले देखाउँछ ।

जलविद्युत् आयोजना निर्माण आफैमा चुनौतीपूर्ण छ । यसको निर्माणमा धेरैले ज्यान गुमाइसकेका छन् । तर जुनसुकै भौतिक पूर्वाधारका विकास निर्माणमा सुरक्षा पहिले आउनुपर्छ भन्ने मान्यता सर्वत्र छ । सुरक्षाका लागि अपनाइने उपाय, रणनीति नै मुख्य विषय हुन् । नेपालको जलविद्युत् आयोजना निर्माणका क्रममा बेलाबखत यस्ता ज्यानै जाने दुर्घटना भइरहेका छन्, त्यसबाट अरु प्रवद्र्धकहरुले पाठ नसिकेको सोलु घटनाले देखाउँछ ।


परीक्षणकै क्रममा डेढ वर्षअघि मेलम्ची खानेपानी आयोजनाको सुरुङस्थित ढोका फुटेर दुईजनाले ज्यान गुमाएका थिए । तीव्र वेगमा रहेको पानीसँग सम्बन्धित परीक्षण गर्दा सजगता अपाउनुपर्छ भन्ने पाठ मेलम्चीको थियो । सोलु घटनामा पनि सजगता अपनाइएको देखिएन । त्योभन्दा पनि महत्वपूर्ण पक्ष पानीको बेग धान्न नसक्ने गरी हाइड्रो-मेकानिकलको ठेकेदार माछापुच्छे« मेटल एण्ड मेसिनरी वक्र्स प्रालिले बनाएको पेनस्टक पाइप लगायतका संरचनामाथि ठूलो प्रश्न उठेको छ ।

फिट गर्नुअघि त्यसको गुणस्तर परीक्षणमा आयोजनाको परर्मशदाता नेपालको हाइड्रो–कन्सल्ट इन्जिनियरिङ लिमिटेड र फिचनर जीएमबीएच एण्ड कम्पनीको संयुक्त उपक्रम चुकेको देखिन्छ । समग्रमा सोलु दुर्घटना के कति कारण र कसको लापर्वाहीले गर्दा भएको हो त्यसको छानबिन गर्नुपर्छ । यसका लागि विद्युत् विकास विभागले नै छानबिन कमिटी बनाउन जरुरी छ । यो घटनाको सत्य तथ्य छानबिन गरी जिम्मेवार पक्षलाई उचित दण्ड दिन सके मात्र भविष्यमा यस्ता दुर्घटना नहुन सक्छ । 

यतिखेर करिब ३ हजार मेगावाट बराबरका जलविद्युत् आयोजनाहरु निर्माणाधीन छन् । हाम्रो मान्यता एउटा आयोजनामा पनि यस्ताखाले दुर्घटना हुनु हुँदैन भन्ने हो । सुरक्षा पहिले भन्ने मान्यता र सिद्धान्तलाई आयोजनाका प्रवद्र्धकहरुले त्यति ध्यान दिएको देखिएन । आयोजनालाई सस्तो बनाउने नाममा वा आयोजनामा धेरै खर्च भएको देखाएर बाँकी फरक आउने रकम गोजीमा हाल्ने प्रवृत्ति नेपालका प्रवद्र्धकहरुमा नभएको होइन ।

उनीहरुको लोभ, लालचले पनि गुणस्तरमा सम्झौता हुँदै आएका छन् । यसको पनि छानबिन हुनुपर्छ । जलविद्युत् आयोजना निर्माणको कुनै निश्चित मापदण्ड छैन । विद्युत् विकास विभागले यति धेरै आयोजनाहरुको निरीक्षण वा सुपरीवेक्षण गरेर भ्याउँदैन वा साध्य पनि लाग्दैन । निर्माण कम्पनी आफै जिम्मेवार हुनुपर्ने एकप्रकारको ‘बाध्यता’ पनि छ ।

घटनामा मृत्यु हुन पुगेका इन्जिनियरद्वयका परिवारलाई प्रवद्र्धक कम्पनी साहस ऊर्जाले उचित क्षतिपूर्ति र पारिवारिक भरणपोषणको बन्दोबस्त गरिदिनुपर्छ । प्रवद्र्धक कम्पनीले ज्यान त फिर्ता गर्न सक्दैन । उनीहरुको परिवारलाई जति रकम दिए पनि त्यो पैसा वा मूल्यसँग तुलना हुन सक्दैन । अर्थात् उनीहरुको ज्यानको पूर्ति नै हुन सक्दैन । यद्यपि उनीहरुमा आश्रित परिवारलाई प्रवद्र्धक कम्पनीले उचित क्षतिपूर्ति र मुआब्जा दिन कन्जुस्याईं गर्नु हुँदैन । किनभने परिवारलाई कति मेहेनत गरेर, कति खर्च गरेर इन्जिनियर बनाएका हुन्छन् । आफ्ना अभिभावकले कति सपना सजाएका हुन्छन्  । उनीहरुमाथि ठूलो बज्रपात परेको छ । सहनै नसकिने पीडाको पहाड टुटेको छ । 

आर्थिक र मानवीय दुवै हिसाबले इन्जिनियरद्वय काफ्ले र थापाको परिवारलाई उचित भरणपोषण गर्ने दायित्व प्रवद्र्धककै हो, बीमा कम्पनीलाई देखाएर पन्छन मिल्दैन । सोलु घटना दोहोरिन नदिन राज्यले खास नीति बनाउन आवश्यक रहेको देखियो । निर्माण थाल्नुअघि अपनाउनुपर्ने सुरक्षाका मापदण्डको पालना भए नभएको अनुगमन गर्न वा अनुमति लिन तेस्रो पक्षलाई जिम्मा दिने बन्दोबस्ती हुन सकेमा यस्ता घटना दोहोरिने थिएनन् कि । आयोजना निर्माणका बेला यस्ता घटना भइरहन्छन् भन्ने सोच राज्य र प्रवद्र्धक कसैले पनि लिनु हुँदैन ।
 


Author

थप समाचार
x