सम्पादकीय
ट्रम्प र ओली प्रवृत्ति उस्तै
अमेरिकी नागरिकका लागि यतिखेर अल कायदा, आइएस, चीन र उत्तर कोरियाभन्दा पनि बढी खतरा आफ्नै देशको राष्ट्रपति डोनाल्ड ट्रम्प लाग्न थालेको हुनुपर्छ । जनताले चुनावमार्फत् उनलाई अस्वीकार गरे, लोकतान्त्रिक देशका राष्ट्रपति ट्रम्पले आफ्नो हार स्वीकार गरेनन् । अमेरिकी संसद् क्यापिटल हलमाथि आफ्ना हतियार र विस्फोटक पदार्थधारी समर्थकद्वारा आक्रमण गर्न उक्साए । ६ जनवरीमा भएको यो घटनाले भौगोलिक आकारमा ठूलो, संविधान पनि २३१ वर्षको पुरानो, नेता पनि विश्वभर कहलिएका भएर मात्र हुँदो रहेनछ, जब शासकका लोकतान्त्रिक आचरणको पतन हुन्छ इतिहासको पानामा कलंकका रुपमा दर्ज हुन्छन् भन्ने उदाहरण ट्रम्पले स्थापित गरेका छन् ।
अमेरिकासँग परम्परागत दुश्मनी भएका केही देशबाहेक सारा विश्वले अमेरिकी संसदमाथि भएको आक्रमणको निन्दा गरेका छन् । अरु देशमा यस्तै सत्ता परिवर्तन हुँदा चिन्ता प्रकट गर्ने, अर्ती बुद्धि दिने अमेरिकामा भएको यो घटना सारा लोकतान्त्रिक देशका लागि लाजमर्दो रह्यो । रिपलब्लिकन पार्टीले सही होस् कि गलत ट्रम्पलाई साथ दिँदै आयो । पार्टीले पनि राष्ट्रपतीय चुनावमा धाँधली भएको आरोप लगाउँदै लोकतान्त्रिक संस्थालाई चुनौती दिँदै आयो । त्यसैको नतिजास्वरुप चुनावको प्रमाणीकरण गर्न बसेको सिनेटमाथि ट्रम्प र उनका समर्थकले धावा बोले । संसदअगाडि भाषण गरेर समर्थकहरुलाई आक्रमणका लागि उक्साए । उनले संवैधानिक र लोकतान्त्रिक संस्थाहरुले आफूले पाएको मत (भोट) चोरेको आरोप लगाए ।
सात करोड ४० लाख मत पाएका राष्ट्रपति ट्रम्पले इलेक्ट्रोल कलेजको मतलाई प्रमाणीकरण गर्ने क्रममा उपराष्ट्रपति माइक पेन्सलाई दवाब दिन सिनेटअगाडि भीड जम्मा पारेका थिए । ट्रम्पले कूल २३२ इलेक्ट्रोल मत पाएका थिए । उनका प्रतिद्वन्द्वी जो बाइडनले ३०६ इलेक्ट्रोल मत पाएका थिए । अमेरिकी संविधानअनुसार जनताले दिएको मतको प्रमाणीकरण सिनेटले गर्नुपर्छ ।
लोकतान्त्रिक संस्थामाथि धावा बोलेका ओली अवैधानिक तवरबाट सत्तामा बसिरहेका छन् । ओलीको यो असंवैधानिक तर दम्भपूर्ण अवस्थाको पनि एक दिन पतन हुनेछ, त्यो दिन धेरै टाढा छैन ।
यही प्रमाणीकरण गर्ने क्रममा उपराष्ट्रपति पेन्सलाई ट्रम्पले दबाब दिँदै आएका थिए । सिनेटका अध्यक्षसमेत रहेका पेन्सकै रेखदेखमा इलेक्ट्रोल कलेजको भोट गन्ती हुँदै थियो । ट्रम्पका हरेक कदममा साथ दिँदै आएको उपराष्ट्रपति पेन्सले उनलाई जिताउन अस्वीकार गरिदिए । यही कारण ट्रम्प समर्थकले यो उपद्रो मच्चाएका हुन् । यसले लोकतान्त्रिक मुलुकमा स्थापित पद्धति, संविधान र जनताको मतलाई पनि चुनौती दिँदै हिंसा र अराजकताबाट सत्तामा टिकिरहन सकिन्छ कि भन्ने लालसा र दम्भले अभिप्रेरित गर्यो ।
सन् १७९६ मा अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङटनले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हाले । उनले सर्लक्क सत्ता हस्तान्तरण गरेर संविधानको सम्मान गरे । २३१ वर्षपछि ४५ औं राष्ट्रपति ट्रम्पले भने त्यो थिति बिगार्ने दुष्प्रयास गरे । उद्दण्ड ट्रम्पको यो असंवैधानिक, अमर्यादित र अलोकतान्त्रिक दुष्प्रयासस्वरुप अमेरिकाका चार नागरिक मारिए । ६ जनवरीमा भएको यो घटना सवा एक बजेदेखि सुरु भएको देखियो ।
ट्रम्पका समर्थकले केसम्म गरे भने सभामुख न्यान्सी पोलेसीको कुर्सीमा बसेर तस्बिर खिची सामाजिक सञ्जालमा समेत हाले । संसद क्यापिटोल हिलमा बमसहित भारी मात्रामा हतियारसमेत भेटियो । १८१२ मा अंग्रेजले हमला गरेको क्यापटिल हिलमा दोस्रोपटक अमेरिकी जनताले आगो लगाए ।
विश्वको सर्वशक्तिमान देशका राष्ट्रपतिलाई फेसबुक र ट्वीटरजस्ता लोकप्रिय सामाजिक सञ्जालले प्रतिबन्ध लगाए । रिपलब्लिकनबाटै राष्ट्रपति भएका जर्ज बुसले समेत ट्रम्पको आलोचना गरे । सधै अरु देशको मामिलामा दबाब दिँदै आएको अमेरिकाले आफ्नै देशको संसद्माथि बहालवाल राष्ट्रपतिको उक्साहटमा भएको आक्रमणले सारा अमेरिकीलाई लज्जित तुल्यायो । अन्ततः ट्रम्पले आफ्नो हार स्वीकार गरे । उनले २० जनवरीमा सहज रुपमा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न सहयोग गर्ने बाचा गर्न बाध्य भए । तर यति हुँदा पनि ट्रम्पलाई कुनै ग्लानी भने भएन ।
यो घटनाले दुनियाँभरका लोकतान्त्रिक देशहरुले पाठ सिक्नुपर्ने देखिएको छ । कुनै विवादको अवस्थामा हाम्रो आस्था दलको राजननीतिमा हुन्छ कि संविधानप्रति ? लोकतान्त्रिक संस्थाको निष्पक्षता सुनिश्चित गर्न सकिन्छ सकिँदैन ? देशको संविधान ठूलो हुन्छ कि कुनै दल वा कुनै सन्कि नेताको राजनीति ? राजनीतिक स्वार्थका लागि लोकतान्त्रिक आदर्शसँग सम्झौता गर्ने नेता स्वीकार हुन सक्छ ?
ट्रम्पले जसरी संविधान र कानुन आफ्नो हातमा लिए नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानमा प्रावधान नभएको धारा प्रयोग गरेर सत्ताको आडमा प्रतिनिधि सभा विघटन गरिदिए । लोकतान्त्रिक संस्थामाथि धावा बोलेका ओली अवैधानिक तवरबाट सत्तामा बसिरहेका छन् । ओलीको यो असंवैधानिक तर दम्भपूर्ण अवस्थाको पनि एक दिन पतन हुनेछ, त्यो दिन धेरै टाढा छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया