सम्पादकीय
यो घर कसको ? यी प्रश्न कसलाई ?
फाइल फोटो
मानौँ, राज्य वा देश भन्नु एउटा घर हो । घरमा अनेक उमेर र लिंग, रुचि र स्वभाव, बर्कत र औकातका सदस्य हुन्छन् । कोही कमाउने हुन्छन् । कोही पालिने हुन्छन् । कोही शारीरिक श्रम गर्न सक्ने हुन्छन् । कोही असक्त हुन्छन् । कोही अल्छी पनि हुन्छन् । कोही दिनरात कामका घोटिने पनि हुन्छन् । घरमा कोही हुनुले मात्र पनि सुरक्षाको आभास दिन्छ । कोही भने बोझ जस्तो पनि ठानिएका हुन्छन् । बालबालिका, वृद्धवृद्धा, अपांगता भएकाहरूको उचित संरक्षण घरमा हुनुपर्छ । घर भन्नु कोठाहरूको समूह मात्र होइन । घर एउटा राजनीतिक एकाइ हो ।
घरमा हर सदस्यको आफ्आफ्नै काम र भूमिका हुन्छ । घरको आफ्नै ‘कानुन’ हुन्छ । घरका आफ्नै ‘न्यायाधीश’ हुन्छन् । घरमा आफ्नै खाले पुलिस र प्रशासक पनि हुन्छन् । शिक्षक हुन्छन् । इन्जिनियर हुन्छन् । घर कति सदस्यका लागि विद्यालय, कतिका लागि झ्यालखाना, कतिका लागि कारखाना, कतिका लागि सिनेमा हल हुन्छ ।
घरको आफ्नै आर्थिक कार्यप्रणाली हुन्छ । घरमा आफ्आफ्नै तरिकाले कमाउने, खर्च गर्ने पनि हुन्छन् । कमाउनेहरूले मुलीलाई पैसा बुझाउँछन् । बुझाउने पैसालाई कर भन्नुस् । कर लिनेहरू बा-आमा हुन्छन् भनी मान्ने हो भने करको उचित परिचालन गर्ने तिनीहरूको सबैभन्दा ठूलो दायित्व हुन्छ ।
राजस्व लिनेले राजस्व बाँडफाँडको, बजेट विनियोजनको राम्रो प्रबन्ध गर्नुपर्छ । कमाइ बुझाउनेभन्दा कमाइ बुझ्ने जो अभिभावक कहलिन्छन्, घरका प्रति तिनीहरूको दायित्व प्रधान हुन्छ । जससँग घरभित्र अधिकार छैन, स्रोत र साधनमा पहुँच छैन, ढुकुटीको चाबी छैन, ऊ घरको गैरजिम्मेवारीमा गौण हो ।
घरका सदस्यबाट आयस्रोत लिएर घरको गाँस, बास, कपास, सहवास, सुरक्षा, शिक्षा, स्वास्थ्य, सबको जिम्मेवारी लिइबसेको अभिभावक त्यतिबेलासम्म मात्र अभिभावक हुन्छ, जति बेलासम्म ऊ आफ्नो अधिकार र कर्तव्यप्रति बरोबर जिम्मेवार हुन्छ । कर्तव्यको ‘क’ पनि पालना नगर्ने, ‘आय’ खाने तर ‘न्याय’ नदिने अभिभावक अभिभावक हैन, ऊ घरभँडुवा हो । घरका सदस्यले उसको विकल्प खोज्नुपर्छ ।
मानौँ, कुनै दिन घरमा चोर पस्यो । अब प्रश्न चोरलाई गर्ने कि चोरसँग मिलेर घरको सम्पत्ति चोराउने अभिभावकलाई गर्ने ? घरको सुरक्षा गर्ने कसम खाएकालाई हामीले कमाइ बुझाई पनि रहने अनि उसलाई प्रश्नको कठघरामा नउभ्याउने ? यती, ओम्नी, बतासहरूलाई छिर्न दिने ‘गार्ड’लाई उन्मुक्ति दिने अनि तिनीहरूलाई मात्र प्रश्न ? चाबी बलियो नराखे चोर पस्छ, यो कुन अनौठो कुरो भयो ?
मानौँ, घरका सदस्यसँग सल्लाह नै नगरी घरमुली अवैध व्यापारीहरूबाट पैसा बुझ्छ । अनि त्यो अवैध व्यापारीलाई घरभित्र उच्चासनमा राखेर समानुपातिक अभिभावक बनाउँछ । अब प्रश्न घरको रक्षकका रुपमा बसेको भक्षकलाई गर्ने कि व्यवसायीहरूलाई गरिरहने ?
करका सदस्यको कमाइ खाएर घरमै आगो झोस्छु भन्ने माननीय मन्त्रीलाई प्रश्न नगरी हामी घरका अधिकारविहीन सदस्यलाई प्रश्न गरिरहने ? घरको सदस्य सीके राउतलाई रुने, कराउने अधिकार छ तर मन्त्री रेणु यादवलाई मान्छे मार्छु भन्ने अधिकार छ ?
घरको कोही निर्धाे–निमुखो सदस्य बार्दलीमा बसेर रोइरहेछ भने प्रश्न घरमुलीलाई गर्ने कि रोइरहेकालाई गर्ने ? घरको बच्चा खान नपाई रोइरहेको छ भने आमा–बालाई प्रश्न गर्ने कि अबोध बच्चालाई ? कोही सदस्य आत्महत्या गरिरहेको वा गर्न खोजिरहेको भने प्रश्न आत्महन्तालाई गर्ने कि अभिभावकको अत्याचारी शैलीलाई गर्ने ? घरमा रहेका अपांगता भएका नागरिक थुनिएका थुनियै, हेपिएका हेपियै छन् भने प्रश्न घरको कर खाने अभिभावकलाई गर्ने कि असक्तहरू यस्तै हुन् भन्ने ?
कमाइ सबै छोराछोरीबाट बराबर लिन्छ तर सुविधा भने टाठाबाठा छोराछोरीलाई मात्र दिन्छ भने प्रश्न कसलाई गर्ने ? सेना, पुलिस, निजामती, शिक्षक, जागिरे, धनीमानी छोराछोरी मात्र अभिभावकका प्रिय हुने घरका लागि खेतीपाती गर्ने, भान्साको काम गर्ने, घर सफासुग्घर राख्ने, लत्ताकपडा धुनेहरू विनापैसा–विनासम्मान कामका घोटिइरहने ?
कुनै पनि घर कसरी चलेको छ भनेर बुझ्न घरको सदाबहार अभिभावकसँग बाह्रैमास ‘टक–सो’ गरेर हुन्न । घरका सबैभन्दा तल्लो तहमा रहेका कामदारसँग कुरा बुझ्न पर्छ । घरको मूल्यांकन छतबाट हैन, अदृश्य जगबाट गर्नुपर्छ । जो घरमा रातदिन काम, काम र काममा घोटिइरहन्छ उसका कुरा हामीले कहिले सुन्ने ? कहिले सुनाउने ? सधैँ गफाडी बासी कथित अभिभावक सदस्यलाई मात्र कति भाउ दिइरहने ? घरको मूल खाँबो जति महत्वको हुन्छ, दलिन र चिर्पट झनै महत्वपूर्ण हुन्छन् । कथित अभिभावकका आँखाबाट हेरेर घरको उत्पीडित सदस्यलाई हामी घरद्रोही देखिरहेका छौँ ।
प्रश्न गरौँ, तर विचार गरेर । प्रश्न गरौँ शक्तिसम्पन्नलाई, न कि शक्तिहीनलाई । प्रश्न गरौँ, सुरक्षा गार्डलाई न कि चोरलाई । प्रश्न गरौँ, घर-घरका हाकिमलाई न कि सामान्य सदस्यलाई । प्रश्न गरौँ, कर बुझाउनेलाई न कि कर खानेलाई । प्रश्न गरौँ, जवाफदेही हुनैपर्ने घरमुलीलाई ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया