सम्पादकीय
गठबन्धनमा बाह्रै टक्का, मतियार साह्रै पक्का !
कवि भूपि शेरचनले २०१७ सालमा ‘हामी’ कवितामा लेखेका थिए–
हामी आफुखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग–रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नाे गति हराएरका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं ।।
देशमा पटक–पटक राजनीतिक व्यवस्था फेर्ने आन्दोलन भए । व्यवस्था फेरिए, पात्र पनि फेरिए तर प्रवृत्ति फेरिएन । नागरिक अधिकार सम्पन्न, सुदृढ र संवृद्ध मुलुक मृगतृष्णामात्र भयो । लोकतान्त्रिक गणतन्त्रपछि त राजनीति झन्–झन् गैर जिम्मेवार हुँदै गयो, नेतालाई जवाफदेही बनाउनुपर्ने समाज झन्–झन् भ्रष्ट हुँदै गयो ।
दलका लम्पट कार्यकर्ता न्यूनतम विवेक प्रयोग गर्न नसक्ने स्थितिमा पुगे । हल्लाखोर लम्पटहरू हावी हुँदै जाँदा जाने बुझेका अनुभव, प्राज्ञिक ज्ञानगुनले खारिएका मानिसहरूको बोली मधुरो हुँदै गयो । धेरै नेपालीहरू मुलुकमा भविष्य नदेखेर पलायन भए । हरेक क्षेत्रमा राजनीति व्याप्त हुँदै गएपछि सबैजसो संस्था कमजोर र खोक्रा हुँदै गएका छन् । सबै क्षेत्रमा दलीय रूझानका आधारमा निर्णय हुने र हुँदा अनुशासनहीनताले पश्रय पाउँदै गएको छ ।
राजनीतिक दलमा आवद्ध भएपछि अपराध गरे पनि कानुन नलाग्ने, आफ्नो जिम्मेवारी पूरा नगरे पनि उन्मुक्ति पाइने भएपछि को जिम्मेवार भएर काम गर्छ र ? अझ राजनीतिक नेतृत्व वृत्त त आफैँ समस्याको बिऊ रोप्छन्, भरिलो पार्छन् । अनि उक्त समस्या आफूबेगर समाधान नै गर्न नसक्ने भान दिलाउँदै राजनीति गर्छन् । तिनमा जिम्मेवारीबोधको सामान्य छनक समेत पाइँदैन । नेता/कार्यकर्ताको यही रीतमा मुलुक भीरतिर लम्कँदैछ ।
आज कर्मचारी, प्रहरी, विश्वविद्यालय, अस्पताल, नियामक संस्थाहरू, संवैधानिक अंगहरू जताततै समस्यै समस्याको चाङ । मुलुक असफल राज्य लम्कँदै गर्दा पनि तिनमा चेतना पलाएको छैन । कुनै पनि देश असफल हुने भनेको त्यसका संस्थाहरू काम नलाग्ने, खोक्रा र पंगू हुनु हो । अरु संस्थाको त कुरै छाँडौं संस्था भत्काउने र भत्किने क्रम अब राज्यका तीनै अंगको शिखरसम्म पुगिसकेको छ ।
संसद पाँच महिनादेखि अवरुद्ध छ, प्रमुख प्रतिपक्षीले संसद चल्न दिदैंन । संसद्को नेता बनाएर जिम्मेवारी सुम्पिएका सभामुख आफूमा रहँदै नरहेको शक्ति अभ्यास गर्न खोज्छन् । व्यवस्थापिकाको हालत यस्तो छ ।
न्यायपालिकातिर हेर्ने हो भने अदालतमा प्रधानन्यायाधीशको पेशागत निष्ठामाथि प्रश्न उठाएर कानुन व्यवासायीले आन्दोलन थालेको महिनौं भैसकेको छ । उनलाई कठघरामा उभ्याउनुपर्ने संसद आफैं अनिर्णयको बन्दी बनेको छ । कार्यपालिकामा नै हेरौं, सरकार गठबन्धनबाट सञ्चालित छ । सरकार सञ्चालन गर्ने पाँच दलहरू पाँचतिर मुख फकाएर बसेका छन् । राष्ट्रिय मुद्दामा उनीहरूको साझा धारणा बन्न सकेको छैन ।
यसले व्यवस्था क्रमशः असफलतातिर उन्मुख रहेको प्रतीत हुन्छ । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने दलहरू देशको हितमा भन्दा आफ्ना राजनीतिक स्वार्थका पछाडि दौडेका छन् । राष्ट्रहितका सवालमा पनि दलैपिच्छेका फरक–फरक मत छन् ।
दलहरूले आ–आफ्ना डम्फू बजाउँदा बजाउँदै मुलुक भने झन्–झन् अस्थिर, कमजोर र कंगाल बन्दै गइरहेको छ । दलहरूले राजनीति गर्न कुनै ठाउँ छोडेका छैनन्, पहिले विद्यालय र शिक्षकमा राजनीति गरे । विश्वविद्यालयमा विद्यार्थी संगठन बनाए । कर्मचारीमा युनियन खडा गरे । श्रमिक–मजदूरको संगठन बनाएर, उद्यमी–व्यवसायीमाथि दागा धरे, आक्रमण गरे । किसानका नामा देखि पिछडिएको क्षेत्रका नाममा यिनले राजनीति गरे । आफू बने र आफ्नालाई बनाए ।
प्रहरी संगठनलाई आफ्नो बफादार बनाए, कर्मचारीलाई आफ्ना पछि कुदाए । गुण्डा पाले, अपराधलाई संरक्षण गरे । श्रेष्ठता र विज्ञतालाई लात हानेर चाकरी, चाप्लुसी र शुभलाभ खोजे । यिनले जलश्रोतमा धेरै अघिदेखि राजनीति गरेकै हुन् ।
हुँदाहुँदा यिनले जातजाति, धर्मका नाममा राजनीति गरे । त्यतिले पनि नपुगेर मुलुकको परराष्ट्र सम्बन्धमा राजनीति गरिरहेका छन्, मित्र मुलुकसँग एक पक्ष लिएर अर्कोतिर रोष पोखिरहेका छन् । व्यवस्थापिका र न्यायपालिकामा नेतृत्व गर्नेहरू यिनकै उपज हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया