सम्पादकीय
उपल्लो कुर्सीमा कति पटक ? जति धेरै पटक, उति धेरै चोटपटक
नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले भित्री मनबाटै भनेका हुन् या प्रश्न आएपछि जवाफ दिनैपर्छ भन्ने बाध्यताको उपज, यो उनैले जानून् । तर उनले प्रधानमन्त्री र पार्टीको मूल नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्नु उचित हुन्न भन्ने पद्धति स्थापित गर्ने वचन सार्वजनिक गरेका छन् । हो, राजनीति र शासकीय विकृतिको मूल जड भनेकै एकै व्यक्ति निरन्तर प्रधानमन्त्री पद प्राप्ति र त्यसपछि कसरी टिक्ने भन्ने दाउपेच रचिनु हो । प्रधानमन्त्री-मन्त्रीको पद प्राप्ति र त्यसबाट बाहिरिन नचाहने प्रवृत्तिकै कारण दलीय राजनीतिमा झगडा, गुटबन्दी, षड्यन्त्र र शासकीय फोहोरी खेल झाँगिएको हो ।
प्रधानमन्त्रीकै कुर्सीका निम्ति संविधान त सिधै उल्लंघन हुने मुलुकमा त्यो पद्धति सजिलै स्थापित हुन्छ भन्ने अपेक्षा चाहिँ गर्न सकिन्न । काठमाडौंका सम्पादकहरूबीच दाहालले बुधबार बिहान आफ्नै समूहले त्यो विषयमा ‘ठोस निर्णय लिने’ भनाइ राखे । त्यो संयोगवश फुत्किएको शब्दजाल हो या वास्तविकतामै परिणत गर्नेछन्, त्यो भावी दिनले नै बताउनेछ । किनभने शासकीय वृत्तका पात्रहरू जतिसुकै बेला बोली र निर्णय बदल्छन् । उनीहरूको बोलीको कुनै ठेगान नभएको हुँदा मूर्त रूपमा कार्यान्वयन नभएसम्म यस्ता वचन शब्दजालमै सीमित हुनेछ ।
यदि दुई कार्यकालको पद्धति स्थापित भएमा सबभन्दा पहिला प्रधानमन्त्री र पार्टी दुवैतिर स्वयं दाहाल ‘अयोग्य’ घोषित हुन्छन् । किनभने पार्टीमा उनी लामो समयदेखि महासचिव र अध्यक्ष रहिसके भने प्रधानमन्त्रीको कुर्सीमा पनि दुई पटक । उनीमात्र होइन, यतिखेरको आन्दोलनको नेतृत्वकर्ताहरू पनि दल र सरकार दुवैतिर अयोग्य साबित हुन सक्छन् । त्यसकारण उनीहरूले आप्mनै खुट्टामा बन्चरो प्रहार गर्लान् भन्ने आशा चाहिँ गर्न सकिन्न । यद्यपि यो बहस हुनैपर्ने र पद्धति स्थापित गर्नैपर्ने मूलभूत सवाल हो, नेपालको राजनीतिलाई दाउपेच र षड्यन्त्रमुक्त गर्ने हो भने ।
आख्यानकार ध्रुवचन्द्र गौतमको ‘कट्टेल सरको चोटपटक’को भाकामा भन्न सकिन्छ, दुईपटकभन्दा माथि जतिपटक हुनुस्, त्यो देश र नागरिकलाई चोटपटक हो । पटकपटक अवसर पाउँदा पनि केही लछारपाटो नलगाएकाहरूले फेरि राम्रो गर्छन्, तीबाट चमत्कार हुन्छ भन्ने आशा गर्नु निराश हुनु मात्र हो ।
अमेरिका होस् बेलायत अथवा अरु लोकतान्त्रिक मुलुकमा दुई कार्यकालभन्दा तिनीहरू शासकीय कुर्सीमा देख्नुपर्दैनन् । उनीहरू आफ्नो कार्यकाल पूरा गरेपछि पूर्ववत् या पृथक् पेसामा पुग्छन् । उनीहरू हामीकहाँ जसरी गुटीय राजनीतिको मलजल गर्न लाग्दैनन् । त्यसकारण उनीहरू सुशासन र समृद्धिको यात्रामा छन् ।
राजनीतिक नेतृत्वलाई पदमा रहँदा मात्रै मान-सम्मान मिल्छ भन्ने भ्रम छ । तिनको दिमागमा जम्माजम्मी १८ महिना मात्र प्रधानमन्त्री भएका विश्वेश्वरप्रसाद कोइराला ‘राजनेता’ बनेको दृश्य घुस्न सकेको छैन । कम्युनिष्ट नेता मनमोहन अधिकारी जम्माजम्मी नौ महिना मात्र भए भने कृष्णप्रसाद भट्टराई अन्तरिमकालमा तेह्र महिना र २०५६ मा नौ महिना । दुवै अनगन्ती पटक प्रधानमन्त्री भएका पात्रहरूभन्दा असल-इमानदार पात्र आमनेपालीको स्मरणमा पर्छन् । इतिहासमा तिनै असल पात्र मात्र नाम लिनलायक प्रधानमन्त्रीको सूचीमा दर्ज छन् । अरुको नाम लिनुपर्दा मनै खिन्न हुन्छ ।
यतिखेर प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चलिरहेको छ, खासमा कार्यकर्ताबाहेक नागरिकको ध्यान खिच्न सकेको देखिन्न । यसो हुनुमा फेरि तिनै अनुहारलाई कुर्सीमा पु¥याउन किन आन्दोलन गर्ने भन्ने अनुभूति बाक्लिँदै छ । नागरिकका आँखामा सबै उस्तै हुन् भन्ने भान परेको छ । फरक हुन उनीहरूले फरक मान्यता स्थापित गर्नैपर्छ ।
त्यसकारण पनि पार्टी र सरकार दुवैको मूल नेतृत्वमा दुई पटकभन्दा बढी रहन नपाइने पद्धति स्थापित गर्ने सार्वजनिक प्रतिबद्धता आएमा फरक स्थिति देखापर्न सक्छ । यसो भएमा शासकीय घेराभित्र हुने अधिक षड्यन्त्र, गुटीय राजनीतिक खेल पनि कम हुन सक्छ । शासनमा जसरी टिक्ने र अड्न अपनाइने ‘फोहोरी-खेल’ पनि कम हुन सक्छ ।
आख्यानकार ध्रुवचन्द्र गौतमको चर्चित उपन्यास छ, ‘कट्टेल सरको चोटपटक’ । यही भाकामा भन्न सकिन्छ, दुईपटकभन्दा माथि जतिपटक हुनुस्, त्यो देश र नागरिकलाई चोटपटक त हुँदै हो, स्वयं पात्रलाई पनि थप स्खलनको चोटपटक नै हो । किनभने पटकपटक अवसर पाउँदा पनि केही लछारपाटो नलगाएकाहरु फेरि राम्रो गर्छन्, तीबाट चमत्कार हुन्छ भन्ने आशा गर्नु निराश हुनु मात्र हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया