सम्पादकीय

सम्पादकीय

व्यभिचारीहरूलाई दण्डित गर !

इकागज |
माघ २६, २०७७ सोमबार १०:५१ बजे

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको दुर्दान्‍त दुखान्त घटना सामुन्‍नेमा आएको छ । झण्डै साढे दुई वर्षअघि कञ्‍चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान गर्न सकेन ।

बरु प्रधानमन्त्रीले यस्ता घटनाका अपराधी बीसौं वर्षपछि पनि पत्ता लाग्‍ने र गृहमन्त्रीले अन्य देशको तुलनामा नेपालमा बलात्कारको घटना कम रहेको र नेपालमा मात्र यस्ता घटना नभएको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए । त्यो पृष्ठभूमिमा भागरथीको बलात्कारपछि हत्याको विभत्स घटनाको विषयमा तत्काल निष्पक्ष छानविन हुनुपर्छ । राज्यको दायित्व अपराधीलाई सजाय दिलाउनु हो, गैरजिम्मेवार अभिव्यक्ति दिनु होइन । यस्ता अभिव्यक्तिका कारण अपराधिक मनोवृत्तिले बोलवाला पाउँछ ।


बैतडी जिल्ला दोगडाकेदार गाउँपालिकामा सनातन धर्म माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको माघ २१ का दिन बलात्कारपछि हत्या गरिएको थियो । घटना भएको छ दिन बितिसक्दा पनि अपराधी पत्ता लागेको छैन । भागरथीका परिवारले दोषी पत्ता नलागेसम्म शव नबुझ्‍ने अडान लिएका छन् । हामी कहाँ कतिपय अपराधमा राज्य-संयन्त्र अपराधी पत्ता लगाउन असफल रहँदै आएको छ । अझ कतिपयलाई राजनीतिकरण गरी शासन-संयन्त्र र राजनीतिक दलहरु अपराधीलाई संरक्षण गर्न पुग्छन् । कुनै पनि खाले राजनीतिक तत्वहरु संरक्षणमा उद्यत भएमा तिनलाई पनि दण्डित गरिनुपर्छ ।

राज्यले प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्न नसक्दा यस्ता व्यभिचारीहरूले घटना घटाइरहेका छन् । अपराधीले कलिला कोपिलाहरू चुँडिरहेका छन् । महिलाहरूको हितमा काम गर्दै आएको संस्था ओरेकका अनुसार पछिल्लो दुई वर्षमा चार हजार चार सय २१ बलात्कारका घटनाहरू भएका छन् ।

कुल बलात्कारका घटनामध्ये ५१ प्रतिशत बालिका र किशोरीहरू बलात्कृत भएका छन् ।

यीमध्ये ५१ प्रतिशत बालिका र किशोरीहरू बलात्कृत भएका छन् । स-साना बालबालिकाहरूलाई ललाई-फकाई वा धम्की दिएर व्यभिचारीहरूले यस्ता अपराध गर्ने गरेका छन् । बालबालिकामाथिका यस्ता जघन्य अपराधमा पारिवारिक चिनजान, नजिकका आफन्त र अपराधिक मनोवृत्ति भएकाहरूबाट हुने गरेका छन् ।

प्रहरीले प्रभावकारी अनुसन्धानबाट भागरथीका परिवारलाई न्याय दिलाउनुपर्छ । यस्ता गम्भीर प्रकारका अपराधीमा कारवाही नभएको खण्डमा त्यस्ता प्रवृत्ति-मनोवृत्तिका मानिसहरु हतोत्साहित हुन सक्दैनन् । सयममै अनुसन्धान गरी व्यभिचारी/अपराधीलाई दण्डित गर्नु राज्यको कर्तव्य हो ।

डेढ महिनाअघि पति गुमाएकी वैतडी दोगडाकेदारकी-७ चडेपानी दुरा भट्टमाथि बज्रपात परेको छ । वृद्ध आमाकी जीवनको सहारा १७ वर्षीय छोरी भागरथीमाथि भएको यो घटनाले जो कसैको पनि जीउ सिरिङ्ग हुन्‍छ । समाजमा यस्ता घटनाहरू बढ्नुमा हाम्रो समाज मनोविज्ञानको अध्ययन पनि जरुरी छ ।

बालिका र किशोरीहरूलाई पनि यसबारेमा सुसूचित गर्नुपर्छ । समाजमा व्याप्त यस्ता अपराधहरू निराकरण गर्न प्रशासन र नागरिक समाजले सार्थक पहल गर्नुपर्छ । अर्कातिर यस्ता घटनामा तत्काल अनुसन्धान नगरेपछि बिस्तारै प्रमाण लोप हुन सक्छन् । राज्य-संयन्त्रले तत्काल प्रभावकारी अनुन्धान गरिनुपर्छ ।


Author

थप समाचार
x