सम्पादकीय

सम्पादकीय

केही प्रश्‍न आज नागरिकलाई

इकागज |
फागुन ५, २०७७ बुधबार ११:३ बजे

- नेताहरूले देश बर्बादै पारे ।
- नेताहरूले देश लुटे । 
- नेताहरू भ्रष्ट भए । 
- नेताहरू लोभी-पापी भए । 
- राजनीति फोहोरी खेल मात्र भयो । 
- नेपाल कहिल्यै बन्दैन । 

चिया पसलदेखि मदिरा पसलसम्म, रिक्सापार्कदेखि रत्‍नपार्कसम्म, पैदल यात्रादेखि पठाओ-यात्रासम्म, ट्‍वीटरदेखि टिकटकसम्म, फेसबुकदेखि फैसलालयसम्म, अछामदेखि अमेरिकासम्म, आँखा खुल्दादेखि आँखा चिम्लिँदासम्म, घरदेखि घाटसम्मका हर भेटघाटसम्म, नेपाली जहाँ छन्, सुनिने कुरा यस्तै हो- देश त बर्बादै भयो । अनि थप सुनिने कुरा हो- देश बर्बाद गराउने नेता हुन्, राजनीति हो ।

राजनीति मूल नीति हो । यसले धेरै पक्ष निर्देश गर्छ । यो सत्य हो । यसमा कुनै द्विविधा छैन । तर, अलिकति गहिराइसम्म पुगेर प्रश्न गर्दा भन्‍न सकिन्‍छ- राजनीति बिग्रियो, नेता बिग्रियो भन्‍नु कारण हो कि परिणाम ? शरीरमा होस् या देशमा, आउने हर खराबीका केही निश्चित कारण हुन्‍छन् ।


बिरामी भइयो, बिरामी भइयो भनेर रोइकराई गर्नु गलत पनि होइन । तर, समाजका केही गन्यमान्य बौद्धिकहरूसमेत देश बिरामी पर्नुका मूल कारण, मूल जरोसम्म नपुगी भड्किनु हाम्रो नागरिक चेतनाको प्रतिविम्ब हो । केवल रोगका लक्षणको बयान गर्नु, परिणामको प्रदर्शन गर्नु अज्ञानता वा अस्पष्टता वा पक्षधरता के हो, उहाँहरू नै जान्‍नुहोला । तर, स्वतन्त्र प्राज्ञदेखि ‘सचेत नागरिक’सम्मका सबैले राजनीति सधैँ खराब भइरहनुको कारण के होला भन्‍नेतिर घोत्लिनु जरुरी छ । मूल जरोसम्म पुगेर पहिचान गरिएका समस्या सुनाउने, बोल्ने, लेख्‍ने गरे आम सर्वसाधारणलाई पनि त्यसले विचार निर्माण गर्न मद्दत पुग्छ । आज केही प्रश्न नागरिकलाई, स्वयंलाई गरौँ ।

लोकतन्त्रमा नागरिक शक्तिमान हुन्‍छ । प्रत्येक नागरिकले आफ्नो शक्ति बुझ्न जरुरी छ । हाम्रो विवेक नै राजनीतिमा प्रतिविम्बित हुने हो । हामी नै लोभी र स्वार्थी भइदिँदा नेता पनि त्यस्तै चुनिन्‍छ, अनि हामीलाई ज्वरो आउँछ । खराब भनेर चिन्दाचिन्दै हामी मत दिन्‍छौँ कि दिँदैनौँ ? खराब कसरी चिन्‍ने त ? साथी चिन्‍ने आपत्मा हो भनेझैँ खराब-असल शासक चिन्‍ने एउटा उपाय कुर्सी पुगेपछि उसले कस्तो काम गर्यो ? आफूले गरेका वाचा भुल्यो कि भुलेन ? अवसर पाउँदा पनि उसले खराब मात्रै गर्यो र फेरि हामी उसैको पछि लाग्छौँ, उसैलाई अगुवा बनाउँछौँ भने त हामीलाई ज्वरो आउने निश्चित छ । सडेगलेको फोहोर खाएपछि बिरामी परियो भनेर रोइकराई गर्नुको कुनै अर्थ छ ?

नेता निर्वाचित भइसकेपछि हामीले उसलाई खराब काम गर्न प्रेरित पो गर्छौँ कि ? मेरो मान्‍छेलाई जागिर लगाइदेऊ भन्‍छौँ कि परीक्षा निष्पक्ष गर भनेर दबाब दिन्‍छौँ ? स्कुलमा राजनीति नगर भन्‍छौँ कि भन्दैनौँ ? भ्युटावर बनाउनुभन्दा पुस्तकालय खोलौँ-राम्ररी चलाऔँ भन्‍छौँ कि भन्दैनौँ ? बजेट कनिका छर्नुभन्दा यसपालि कुनै भरपर्दो आयोजनामा केन्द्रित गरौँ भन्‍छौँ कि भन्दैनौँ ? नेताले राम्रो आयोजनामा केन्द्रित गर्न खोज्दा मेरो गाउँ, मेरो ठाउँ, मेरो टोलमा खै भनेर कनिका छर्नतिर मात्र लाग्छौँ कि ? अनि हर-हिसाब माग्छौँ कि माग्दैनौँ ? माग्दैनौँ भने त बर्बादीका दोषी हामी नै हौँ ।

हर-हिसाब माग्छौँ कि माग्दैनौँ ? माग्दैनौँ भने त बर्बादीका दोषी हामी सर्वशक्तिमान नागरिक नै हौँ ।

स्कुलमा, कलेजमा दलीय भागबन्डा नगरौँ भन्‍छौँ कि दललाई स्वागत गर्छौँ ? बलात्कारीलाई कारबाही गर्न दबाब दिन्‍छौँ कि चुप बस्छौँ कि बलात्कारीकै पक्ष लिन्‍छौँ ? पानीका मूल सुक्ने गरी, पुरिने गरी डोजर चलाउँछौँ कि चलाउँदैनौँ ? सबैभन्दा कमजोर वर्गलाई सजिलो हुने गरी नीति-कार्यक्रम ल्याउन भन्‍छौँ कि भन्दैनौँ ? सानोभन्दा सानो समस्यामा उपचार गर्न गाउँ-जिल्ला-देशबाहिर जानुपर्ने अवस्थामा राम्रो स्वास्थ्यसेवा चाहियो भन्‍छौँ कि भन्दैनौँ ?

विधिमा नटेकी काम गर्ने शासक-प्रशासकहरूलाई फेरि फेरि पाइलै टेक्न लाज लाग्ने गरी प्रश्न गर्छौँ कि गर्दैनौँ ? आफूले आस्था राख्ने दल, त्यसको नेताले जतिसुकै खराब गरे पनि राम्रो देख्छौँ कि ? तलबभत्ता खाने तर काम समयमा नगर्नेहरूलाई तिमीहरूलाई पालेको हामीले हो, हामीलाई नै नटेर्ने भनेर घेराबन्दी गरेर प्रश्न गर्छौँ कि गर्दैनौँ ? खुला ठाउँ मासेर सडकमा रमिता देखाउने भूमाफिया शासकलाई प्रश्न गर्छौँ कि गर्दैनौँ ? निर्वाचितभन्दा मनोनितलाई च्याप्नु निर्वाचित गराउने हामी नागरिककै अपमान हो, हामी बुझ्छौँ कि बुझ्दैनौँ ?

नागरिकको कर खाने व्यक्ति र संस्था सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ भनेर मिडिया प्रायः सत्ताको आलोचक हुनुपर्छ र हुन्‍छ । पत्रकारका प्रश्नको जवाफ नदिने तर पत्रकारलाई दलाल भन्‍ने नेताको भाषणमा ताली पिट्छौँ कि जवाफ देऊ भन्‍छौँ ? राज्यका सबै अंग आफैँ मात्र चलाउन खोज्ने तानाशाहलाई लोकतन्त्रमा शक्ति केन्द्रीकृत होइन, पृथकीकृत हुनुपर्छ भन्‍छौँ कि भन्दैनौँ ? तपाईं हाम्रो करबाट तलब खाने कोही जागिरे कुनै दल विशेषको सदस्य छ, दलको, गुटको चाकडी गर्छ भने मैले तिमीलाई किन पाल्ने भन्‍छौँ कि भन्दैनौँ ?

काम गरीखान पनि नदिने, सधैँ बन्द, हड्ताल गर्ने दललाई चुनावमा पराजित गरेर बन्दै गरिदिने चेतावनी दिन्‍छौँ कि दिँदैनौँ ? सत्तामा हुँदा सिन्को पनि नभाँच्ने, सत्ताबाहिर हुँदा चाहिँ ठूल्ठूला कुरा गर्ने नेताहरुलाई ऐना देखाउँछौँ कि देखाउन्‍नौँ ? ५०/६० वर्षदेखि राजनीतिलाई पेवा बनाएका, पटकपटक मन्त्री, प्रधानमन्त्री भएका स्खलित नेताहरुलाई बाईबाई भन्‍छौँ कि अझै हाईहाई गर्छौँ ?  आमनागरिक जसरी, सञ्चार माध्यम जसरी आलोचक हुनुपर्ने प्रतिपक्षी दल सत्ताको सारथि भएकामा प्रश्न गर्छौँ कि गर्दैनौँ ? भागबन्डा खोज्‍ने प्रतिपक्षलाई ‘भागबन्डाबाट भाग्’ भन्‍छौँ कि भन्दैनौँ ?

लोभी-स्वार्थी पार्टी/नेतालाई सधैँ सत्तामा चढाउने पनि हामी, अनि देश बर्बादै भयो भनेर रुवाबासी गर्ने पनि हामी । नेताहरुको शक्ति प्रदर्शनमा भक्ति होइन, प्रश्न प्रदर्शन गरौँ । नेताजीहरूबाट जवाफ नमाग्ने, उनीहरूबाट खालि आश्वासन र भाषण सुन्‍ने र यिनैमा ताली बजाउने नागरिक हुँदासम्म हाम्रो रोग निको हुँदैन । बुझ्नुपर्ने कुरा के हो भने, देशको रोगको उपचार हामी नागरिकसँगै छ । लोकतान्त्रिक व्यवस्थामा नागरिक जति शक्तिशाली कोही र केही छैन । अनि यति शक्तिशाली नागरिक सधैँ निरीह भएर बस्‍ने ? आफ्नो शक्ति चिनौँ, शोकबाट मुक्त होऔँ ।


Author

थप समाचार
x