सम्पादकीय

सम्पादकीय

महाधिवेशन धकेलिरहने कांग्रेसको ‘लोकतान्त्रिक पाठ’

इकागज |
फागुन १०, २०७७ सोमबार ११:२३ बजे

मुलुककै पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस विधानतः  समयावधिभित्रै महाविधेशन गर्न असफल रह्यो । उसले एक वर्ष म्याद थपेको थियो, जसको अवधि पनि आज सकिँदै छ । उसले समयमै महाधिवेशन गर्न नसकेपछि पार्टीकै वैधानिकता गुमाउने हो कि भन्‍ने शंकाबीच आउँदो भदौ ७ देखि १० भित्र महाधिवेश गर्ने मिति घोषणा गरेको छ । कांग्रेस संविधानको आपत्कालीन धारा उपयोग गर्न बाध्य भएको छ ।

त्यो अवधिभित्र महाविधेशन गर्न सकेन भने कांग्रेसको वैधानिकता समाप्त हुनेछ । संविधानतः पार्टीको वैधानिकता गुमाउने परिस्थितिमा कांग्रेस नपुग्ला ? मुलुकको तरल राजनीतिक संक्रमणबीच महाधिवेशन गराउनु कांग्रेस नेतृत्वका निम्ति त्यति सहज छैन ।


कांग्रेस विधानमा महाधिवेशन चार चार वर्षमा गर्ने र प्रतिकूल अवस्था भएमा केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष थप्न सक्ने प्रावधान छ । विधानतः १३ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नियमित कार्यकाल २०७६ फागुन १९ मा सकिएको थियो । कोभिड-१९ का कारण सार्दै विधानतः प्राप्त अधिकारअनुरुप एक वर्ष थप्दै १४ औं महाधिवेशनको मिति २०७७ फागुन ७ देखि १० निम्ति कार्यतालिका सार्वजनिक भएको थियो । त्यो कार्यतालिकामा अडिग भए आजका दिन कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयनको मतदान गर्दै हुन्थ्यो ।

कोभिड-१९ महामारीका कारण कार्यतालिका अनुरुप प्रदेश, जिल्ला र स्थानीय तहमा काम हुन नसक्दा निर्धारित मितिमा महाधिवेशन हुन सक्ने स्थिति थिएन । त्यसो त, अघिल्लो १३ औं महाधिवेशनको बेलामा पनि कांग्रेसले संविधान उपयोग गरेको थियो ।

अझ स्पष्ट रुपमा भन्‍नुपर्दा कांग्रेसकै लागि संविधानसभामार्फत नेपालको संविधान २०७२ निर्माणका क्रममा संविधानमा दलको महाधिवेशन गर्दा आपत्कालीन अवस्था राखिएको हो । दलहरुबीच दलको महाधिवेशन गर्ने अवधि पाँच वर्ष राखिएको थियो । पछि कांग्रेसको प्रस्तावमा आपत्कालीन अवस्था आएमा पाँच वर्ष ६ महिनासम्म गर्न सक्ने व्यवस्था संविधानमा गरियो । र, यो आपत्कालीन अवस्था उपयोग गर्ने पार्टी पनि कांग्रेस मात्रै बनेको छ ।

अब प्रश्न आउँछ, किन कांग्रेसले विधानमा व्यवस्था भएको समयमा महाधिवेशन गर्न सक्दैन ? सधैँ बाध्यात्मक संवैधानिक अवस्थामा मात्रै किन कांग्रेस महाधिवेशन हुन्छ ? लोकतान्त्रिक पार्टीमा किन आन्तरिक लोकतन्त्र सुदृढ हुँदैन ? तिनको कारण हो, नेताहरु कुर्सीमा पुगेपछि राम्रो काम गर्न र पार्टी संगठन चुस्तदुरुस्त बनाउनतर्फ लाग्‍नुभन्दा आफ्नो कुर्सी कसरी बचाउने र लामो समय कुर्सीमा कसरी बस्‍ने भन्‍नेमा ध्यान केन्द्रित गर्नु । 

नेतृत्वमा पुगेपछि राम्रो काम गरेर उदाहरण बन्छु भन्‍नेतर्फ भन्दा कसरी आफ्नो कार्यकाल लम्ब्याउने भन्‍नेमै ध्यान दिँदा कांग्रेस पटक-पटक समस्यामा पर्ने गरेको छ ।

अर्को त, पार्टीमा आफ्नो छवि बिग्रिएको र गुट दरिलो नभएको अवस्थामा महाधिवेशनमा गए पराजित भइन्छ भन्‍ने डरले पनि महाधिवेशन पर सार्ने रणनीति उपयोग गरिन्छ । यो  रणनीति शेरबहादुर देउवाले मात्र होइन, सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाले पनि उपयोगमा ल्याएका थिए ।

नेतृत्वमा पुगेपछि राम्रो काम गरेर उदाहरण बन्छु भन्‍नेतर्फ भन्दा कसरी आफ्नो कार्यकाल लम्ब्याउने भन्‍नेमै ध्यान दिँदा कांग्रेस पटक-पटक समस्यामा पर्ने गरेको छ । २०७४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदा सरकार र पार्टी दुवैको नेतृत्वमा देउवा थिए । तत्कालीन एमाले र माओवादी गठबन्धनसँग कांग्रेसले अप्रत्यासित हार बेहोर्‍यो ।

नेतृत्वमा पुगेपछि आफ्नो जीवनकालभर नेतृत्वमै रहने आकांक्षा नेताहरुले पाल्न थालेको देखिन्छ । गिरिजा २०४६ सालको जनआन्दोलन सफल भएपछि जीवनभर पार्टी र सत्ताको नेतृत्व वरिपरि घुमिरहे । त्यसपछि नेतृत्वमा आएका सुशील भने पार्टी र सत्ताको नेतृत्व एक कार्यकाल मात्रै पूरा गर्ने मौका पाए । देउवा पार्टी नेतृत्वमा पुगेको एउटा कार्यकाल हो । अर्को कार्यकाल दोहोर्‍याउन खोज्दैछन् । त्यही भएर आफू अनुकूल परिस्थिति कसरी निर्माण हुन्छ भनी बाटो हेरिरहेका छन् ।

नेतृत्वमा पुगेपछि मैले राम्रो काम गर्नुपर्छ, ता कि मलाई आउँदा पुस्ताले सधैँ सम्झियोस् भन्‍ने नेताहरुमा देखिन्‍न । जोडबल लगाएर नेतृत्वमा पुग्‍ने, पुगेपछि कसरी टिकिरहने भन्‍नेमा उनीहरु लागिरहन्छन् । टिक्न राम्रो काम गरेर हुँदैन । जसले जे भन्छ, त्यो गरिदिएर बस्‍नुपर्छ । त्यसले पार्टीमा नेतृत्व विकास पनि हुन सकिरहेको छैन । नयाँले अवसर पाउन सकेका छैनन् । नेतृत्वको वरिपरि जो पहिला थिए, पनि तिनै घुमिरहेका छन् ।

पहिलेको जस्तो अवस्था अब छैन । रुख चिह्न देखेपछि नागरिकले मत खसालिहाल्छन् । एक पटक नभए पनि अर्को पटक हामी सत्तामा पुगिहाल्छौँ भन्‍ने मानसिकता छ । त्यो समयमा आमूल परिवर्तन भइसकेको छ । अब कुन दलको घोषणापत्रमा के छ ? यसअघि दलले घोषणापत्रमा उल्लेख गरेका योजना सरकारमा पुगेपछि कति कार्यान्वयन गरे भनी विश्लेषण गर्ने जमात बढिसकेको छ । पछिल्लो पुस्ता प्रविधिमा पोख्त छ । झुटा आश्वासनभन्दा यसअघि गरेका वाचा कति पूरा गर्यो भन्‍ने हेर्छन् । तसर्थ, युवा अनुकूलको योजना ल्याउन र नयाँ क्रियाशील जनताले पत्याउने खालका नेतालाई नेतृत्वमा पुर्याउन र आगामी १५ वर्षका लागि गर्न सक्ने योजना ल्याउने तयारी महाधिवेशनबाट गर्नुपर्छ ।


Author

थप समाचार
x