सम्पादकीय

सम्पादकीय

प्रधानमन्त्री ओलीका सम्‍झन लायक  दुई काम

इकागज |
फागुन २१, २०७७ शुक्रवार १०:१ बजे

अन्ततः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएको छ । सशस्त्र संघर्षमा मोहित चन्द नेतृत्वको नेकपा मूलधारको राजनीतिमा फर्कनु उसको पार्टीको आन्तरिक जीवन मात्र होइन, समग्र मुलुक र जनताका लागि पनि सकारात्मक पक्ष हो । किनभने हिंसा र अराजकताले कहीँ पुगिादैन, मुलुकलाई अराजकतातिर होम्नु मात्र हो ।

मुलुकमा अनेकन राजनीतिक क्रान्ति र व्यवस्थाको प्रयोग हुँदै आयो । जहानियाँ राणा, सक्रिय राजतन्त्र, पञ्चायत, बहुदलीय प्रजातन्त्र, गणतन्त्रीय लोकतन्त्रसम्म आइपुग्दा सर्वथा हिंसा धेरै बेर टिक्दैन भन्‍ने पाठ इतिहासले सिकाएको छ । यस्तो राजनीतिक हिंसाले सत्तामा बस्नेभन्दा आमसर्वसाधारण, कर्मचारी, प्रहरी र प्रशासनका व्यक्ति अनाहकमा मारिंदै आएका छन् ।


विप्लव नेृतत्वको नेकपाको ‘संघर्ष’ का क्रममा धेरै नेपालीका छोराछोरीले आफ्नो ज्यान गुमाए । धेरैको सिन्दुर पुछियो । बाटोमा हिंडिरहेका सर्वसाधारण मारिए । प्रशासनले इनकाउन्टरका नाममा उनी समूहका कार्यकर्ता र नेतालाई पक्राउ गरी हत्यासम्म गर्‍यो । मारिएका र हत्या गरिएका विप्लवका कार्यकर्ता पनि नेपाली हुन्, विप्लवको आक्रमणमा मारिएका सुरक्षाकर्मी र सर्वसाधारण पनि नेपाली नै हुन् । नेपालीले नेपालीलाई नै हराउने यो ‘राजनीतिक संघर्ष’ ले अन्ततः केवल देश मात्र हार्छ । हिजो माओवादीको १० वर्षे ‘जनयुद्ध’ ले पनि यही पाठ सिकाएको थियो ।

विश्वमा जनगणतन्त्र अपनाएका मुलुकहरु लोकतान्त्रिक पद्धतिमा आउन आतुर छन् । तिनका जनता उकुसमुकुस भएर बसेका छन् । तानाशाह र सर्वसत्तावादको चपेटमा परेर तिनीहरु बोल्न समेत पाएका छैनन् । बोल्न खोज्‍नेहरुलाई समेत कि हत्या गरिएको छ, कि बेपत्ता वा बन्दी बनाइएको छ । मानव जीवनका लागि सबैभन्दा प्यारो कुनै चीज छ भने त्यो हो, ‘स्वतन्त्रता ।’

चारैतिरबाट घेराबन्दीमा परेपछि वार्ता सम्पन्‍न गरेको सर्वत्र बुझिएकै हो । हिजो केपी ओली सरकारले विप्लव नेतृत्वलाई प्रतिबन्ध लगाएको थियो । उसको सयौं कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको थियो । हिजो अन्य दलले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु हुँदैन भनेर सरकारलाई सल्लाह दिँदा सुनेन ।

यही स्वतन्त्रताका लागि नेपालका कयौं वीर सपूतहरुले आफूलाई आहुति दिएका छन् । तिनको शहादतकै कारण आज पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपालहरुले सत्तामा विराजमान हुन पाए । जब आन्दोलन य क्रान्तिका नेतृत्वकर्ताहरु शासक बन्‍छन्, तब तिनीहरुको सोच पनि नागरिक दबाउने, भ्रष्टाचार बढाउने, दम्भ र घमण्ड प्रदर्शन गर्न पुग्छन् । तिनकै विकृतिको जडमा आन्दोलन र क्रान्ति घोषित हुन पुग्छन् । राष्ट्रपति विद्या भण्डारी र केपी ओलीका जालसाझी, छलकपट र सर्वसत्तावादी-स्वेच्छाचारी चरित्रले मुलुकले राजनीतिक अस्थिरता खेप्‍नुपर्‍यो ।

ओलीले संविधानमै नभएको धारा प्रयोग गरी प्रतिनिधि सभा विघटन गराएको स्मृति ताजा छन् । हरेक शासक केपी ओलीकै रुप हुन् । तिनीहरुको चाहना क्रान्ति या आन्दोलनलाई भर्‍याङ बनाउने र सत्तामा पुगेपछि तिनै नागरिकलाई पीडा दिनेमै सीमित छ । देशबाट संसद् र लोकतन्त्र खोसिएको गएको फागुन ११ गते अदालतले फिर्ता गरिदिनु परेको थियो । व्यक्तिको स्वतन्त्रता हरण गर्ने प्रयास भएको थियो । त्यतिबेला पनि नेपाली नागरिक नजुर्मुराएका होइनन् । निरन्तर आवाज उठाइरहे । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै यही हो । नेपालीहरुले स्वतन्त्रतालाई आफ्नो प्राणको परवाह नगरी आन्दोलन गर्दै आएका छन्  ।

यतिखेर केपी ओली सरकार अप्ठेरोमा परेको छ । सत्तामा आज हो कि भोलि हो । चारैतिरबाट घेराबन्दीमा परेपछि उसले वार्ता सम्पन्‍न गरेको सर्वत्र बुझिएकै हो । हिजो केपी ओली सरकारले विप्लव नेतृत्वलाई प्रतिबन्ध लगाएको थियो । उसको सयौं कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको थियो । कतिपय जेलमा छन् । हिजो अन्य दलले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु हुँदैन भनेर सरकारलाई सल्लाह दिँदा सुनेन ।

यी यावत् पृष्ठभूमिमा भएको वार्ता र सफल रुपान्तरण जुनसुकै परिवेश र अवस्थामा भए पनि स्वागतयोग्य नै छ । विप्लव नेकपा मूलधारमा आउनु भनेको प्रतिस्पर्धाको राजनीतिमा समाहित हुनु र हिंसा-हत्यालाई तिलाञ्जलि दिनु हो । जसले अन्ततः मुलुककै हित गर्छ र जनताले चाहेको पनि यही हो । कोही नेपाली पनि हत्याको शिकार नहोउन्, शान्तिपूर्ण र प्रतिस्पर्धी राजनीति लोकतन्त्र हो । जनताको सेवा गरेर, जनताको मन जितेर जो पनि जनदायित्व पूरा गर्न सक्छन् ।

केपी ओली सरकारले यसअघि पृथक्तावादी आन्दोलनमा रहेका सीके राउतलाई पनि मूलधारमा ल्याएका थिए । ओलीका यी दुई कार्य मुलुकको राजनीतिमा सम्‍झन लायक छन् । अब वार्तामा भएका सहमतिलाई दुवै पक्षले इमानदारितापूर्वक कार्यान्वयन गर्ने, विप्लवले हतियार बुझाउने र शान्तिपूर्ण राजनीतिमा आउने वातावरणलाई दीगो बनाउनु नै मुलुक र जनताको हितमा हुनेछ ।


Author

थप समाचार
x