सम्पादकीय

सम्पादकीय

कूटनीतिक सम्बन्धको सुदृढीकरण

इकागज |
फागुन २५, २०७८ बुधबार १७:३२ बजे

कूटनीतिक सम्बन्धमा नेपालले विरलै व्यहोरेको मित्रराष्ट्रहरूका असन्तुष्टी व्यक्त–अव्यक्त रूपमा प्रकट भइरहेका छन् । दुई छिमेकी राष्ट्रहरू र महाशक्ति राष्ट्र अमेरिकासँग नेपालले सघन र प्रगाढ कूटनीतिक सम्बन्धको सन्तुलन मिलाउन हम्मे–हम्मे पर्ने स्थिति देखापर्यो । 

देशभित्रको आन्तरिक राजनीतिक प्रतिस्पर्धामा समेत शक्ति राष्ट्रहरूसँगको सम्बन्धलाई घुसाउने प्रयासले मुलुक शक्ति राष्ट्रहरूको क्रीडास्थल बन्ने हो कि भन्ने सन्त्रासपूर्ण अवस्था सिर्जना भयो । 


कोभिड–१९ महामारीपछिको यात्रा प्रतिबन्धले भारत र चीनसँगका द्विपक्षीय संयन्त्रहरूको बैठक रोकिनु वा भर्चुअल माध्यममा सीमित हुनु र मित्र राष्ट्रहरूमा तथा त्यहाँबाट नेपालमा हुने राजनीतिक भ्रमणहरू पनि रोकिन पुगेकाले पनि औपचारिक र अनौपचारिक रूपमा सघन संवाद हुन सकेन । 

परराष्ट्र मन्त्रालयले ढिलै भएपनि द्विपक्षीय भ्रमणहरू गराउन देखाएको तत्परता सह्रानीय छ । खासगरी चीनसँगको सीमा विवाद तथा नेपालले अमेरिकी अनुदान सहायता स्वीकार गर्ने विषयमा चिनियाँ पक्षबाट प्रकट भएका असन्तुष्टीलाई दुई देशले निराकरण गर्नुपर्नेछ । 

महाकाली नदीमा तुइन काटीएको घटना, लिपुलेकस्थित नेपाली भूभागबाट चीन जोड्ने सडक निर्माण गर्ने भारतको एकतर्फी बलमिच्याइँ तथा दीर्घकालीन सीमा समस्या समाधानका मुद्दाहरू यथाशक्य निराकरण गर्नुपर्नेछन् । नेपाली भूभाग समेटेर नेपालले जारी गरेको चुच्चे नक्साका सम्बन्धमा पनि भारतसँग वार्ता गरी भूमि फिर्ता ल्याउने प्रक्रिया थाल्नुपर्नेछ ।

निकट भविष्यमा नेपालबाट भारत र चीनमा उच्चस्तरीय राजनीतिक भ्रमणको गृहकार्य भइरहेको छ भने ती मुलुकहरू र अन्य मित्रराष्ट्रहरूबाट पनि उच्च राजनीतिक भ्रमणको तयारी छ । यसका अतिरिक्त कतिपय बहुपक्षीय सम्बन्धलाई पनि सुदृढीकरण गर्नुपर्नेछ । गत नोभेम्बरमा स्कटल्यान्डको ग्लास्गोमा आयोजित विश्व जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालले राम्रो उपस्थिति जनाएको थियो । 

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विश्वव्यापी तापमान घटाउने कार्ययोजनामा नेपालले वन क्षेत्रको विस्तार गर्ने, औद्योगिक प्रदुषण कम गर्ने तथा स्वच्छ उर्जाको प्रयोगलाई बढावा दिने प्रतिवद्धता जनाएको छ । हिन्दू कुश क्षेत्रले यस क्षेत्रको अर्बौं जनसंख्याका लागि पानीको उपलब्धता गराएको छ । तर विश्वव्यापी तापमान वृद्धिका कारण हिमालहरू पग्लने क्रममा छन् । यसको संरक्षणका लागि नेपालले पहल गर्नसक्छ र यो विश्वव्यापी रूपमा नै नेपालको अग्लो प्रयास मानिनेछ ।

कूटनीतिको नयाँ आयामका रूपमा अब नेपालले जलवायु कूटनीतिलाई पनि अघि सारेको छ । यसलाई मध्यनजर गरेर नै यसअघि कोभिड–१९ महामारीका कारण रोकिएको ‘सगरमाथा संवाद’ आयोजना गर्ने र विश्वभरबाट विशिष्ट व्यक्तिहरू, राष्ट्र र सरकारका प्रतिनिधि आमन्त्रण गर्ने कार्यले नेपाल विश्वमञ्चमा देखिने र सुनिने राष्ट्र बन्नेछ ।

पछिल्ला घटनाक्रमले कूटनीतिक सम्बन्ध र संवेदनशीलताको अभावका कारण कतिपय उल्झन सिर्जना भएको पाठ हाम्रा राजनीतिक दललाई सिकाएको छ । विश्वका दुई ठूला र उदयमान शक्तिहरूको बीचमा रहेर पनि सन्तुलित सम्बन्ध कायम गर्ने नेपालको प्रशंशनीय कूटनीतिक कौशल, भूराजनीतिक संवेदनशीलताप्रतिको गहन बुझाई र असंलग्नता एवं पञ्चशीलको परराष्ट्र नीति विश्व राजनीतिमा हरेक परिवर्तित परिस्थितिमा त्यत्तिकै सान्दर्भिक छन् । 


Author

थप समाचार
x