सम्पादकीय
चीनसँगको व्यापार– ल्हासामा सुन छ, कान मेरो बुच्चै !
यी व्यापारिक नाकामात्र होइनन्, नेपाल–चीन मित्रताका सम्बन्ध सेतु हुन्
नेपालको उत्तरी छिमेकी चीनसँग स्थलमार्गको व्यापारमा समस्या हुन थालेको लामो समय भैसकेको छ । तातोपानी नाकाबाट हुने व्यापारमा भूकम्पपछि ठूलो गिरावट आएको हो । रसुवागढी नाकामा भने कोभिड–१९ महामारी शुरु भएपछि केही समय पूर्ण रूपमा बन्द भयो भने २०७७ यता आंशिक रूपमा सञ्चालन भइरहेको छ अर्थात् चीनले यो नाका एकतर्फी मात्र सञ्चालन गरेको छ ।
चीन र नेपालको स्थलमार्गबाट हुने व्यापारमा समस्या आएपछि यसले ठूलो संख्यामा व्यवसायीहरू मारमा परेका छन् । दुई देशका सीमा अधिकारीबीच हालै भएको बैठकमा चीनबाट दैनिक २५ कन्टेनरसम्म सामग्री नेपाल ल्याउन दिने सहमति जुटेको भनिएको छ । चीनले दुवै स्थलमार्ग जोडिएका सीमा नाकामा सुख्खा बन्दरगाह निर्माणमा सहयोग गरेको छ । यसको उद्देश्य भन्सार जाँचपास, क्वारेन्टीन, बैंक आदि सबै सुविधा एकै बिन्दूमा राखेर व्यापारलाई सहजीकरण गर्ने भन्ने हो । तातोपानी नाकापट्टी लार्चामा निर्माण भएको छ र रसुवा नाकातर्फ रसुवागढीमा यो व्यापार पूर्वाधार निर्माण हुने क्रममा छ ।
दुई देशबीच स्थलमार्गबाट हुने व्यापारले ट्रक, कन्टेनरदेखि थोक एवं खुद्रा विक्रेता, उपभोक्ता लाभान्वित भएका थिए । नेपाली वस्तु सानो हिस्सामा भएपनि चीनतर्फ निकासी गर्न सहयोगी भएको थियो । व्यापारको आवृत्ति बढ्दा त्यसले भन्सार एजेन्टदेखि, चालक, थोक तथा खुद्रा बिक्रेतासम्म रोजगारी पनि बढेको थियो अर्थात् रोजीरोटी चलेको थियो । चीनबाट स्थलमार्ग भएर वस्तु आयात तथा व्यापार गर्ने व्यवसायमा लागेका कतिपय व्यवसायीहरूको बैंकको ऋण तिर्न नसकेर घर-खेत लिलाम भई बिल्लीबाठको स्थिति छ ।
नेपाल र चीनबीच व्यापार घाटाको खाडल बढ्दो छ । यसको न्यूनीकरणका लागि पनि चीनले नेपाली वस्तुलाई चिनियाँ बजारमा सहज पहुँच दिन आवश्यक छ । चालु आर्थिक वर्षको सात महिना (साउन–माघ)को व्यापारको तथ्यांक हेर्ने हो भने पनि चीनबाट सामुद्रिक मार्ग हुँदै भारतको बाटो भएर १ खर्ब ६५ अर्ब रुपैयाँको आयात भएको छ भने चीनतर्फ जम्माजम्मी ४८ करोड ७९ लाख रुपैयाँको निर्यात भएको छ । नेपालले चीनबाट गर्ने आयातको शून्य दशमलव २९ प्रतिशतमात्र नेपालले चिनियाँ बजारमा वस्तु निर्यात गरेको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वव्यापी उत्पादनको केन्द्र (ग्लोबल फ्याक्ट्री) मानिने चीन, जसले निर्यातलाई सधैं प्राथमिकतामा राख्छ, उसले नेपालसँग स्थलमार्गबाट हुने व्यापारमा गरेको अवरोध अस्वभाविक छ । कुनै समय चीनको सिगात्सेबाट केरुङ हुँदै उक्त रेल काठमाडौँ आउने चर्चा र बहस नेपालको सार्वजनिक वृत्तमा बाक्लै सुनिन्थ्यो । तर चीनले एकतर्फी मात्र नाका सञ्चालन गरेर नेपाली व्यापारीले आत्महत्या गर्ने स्थिति सिर्जना हुँदा पनि न यसमा सरकारले चिनियाँ पक्षको ध्यानाकर्षण गराउँछ; न यहाँका बुद्धिजीवि, विश्लेषक एवं नागरिक समाजले नै कुनै प्रतिक्रिया वा सरकारको ध्यानाकर्षण गराएकै सुनिन्छ ।
चीन र नेपालबीच राजनीतिक तहमा पनि यसबीचमा उच्चस्तरीय संवादहरू भएका छन् । तर कसैको प्राथमिकतामा यो विषय परेको छैन । निकट भविष्यमा पनि चीन र नेपाल दुवैतर्फबाट उच्चस्तरीय राजनीतिक भ्रमणको तयारी भैरहेका छन् । भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलमा यस विषयले प्राथमिकता पाउनुपर्छ ।
चीनसँगका यी नाका केवल व्यापारिक नाकामात्र होइनन्, नेपाल–चीन मित्रताका सम्बन्ध सेतु हुन् । अहिले मात्र होइन्, आदिमकालदेखि नै नेपाली व्यापारीहरूले भोटसँग व्यापार गरेको स्वर्णिम इतिहास छ ।
नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटीभ (बीआरआई) अन्तर्गत हिमालय सीमापार सम्पर्क सञ्जाल स्थापित गर्ने सघन संवाद भएका छन् । नेपाल बीआरआईको सदस्य पनि हो । कालान्तरमा दुई देशले उन्नत व्यापार पूर्वाधार निर्माण गर्ने महिमागाथा आफ्नो ठाउँमा छ । भोको पेटले लडाइँ लडिँदैन भनेजस्तो अहिलेका समस्या समाधान नगरी अगाडिको सुन्दर भविष्यको सपना सजाउन सकिंदैन ।
नेपालका लागि चीनसँगको व्यापार ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भनेजस्तो नहोस् । दुई देशको प्रगाढ मैत्रीपूर्ण सम्बन्धका लागि जनस्तरका सबैखाले सम्बन्धका आयामलाई बलियो बनाउन जरुरी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया