सम्पादकीय
कलालाई आक्रमण हैन, आलोचना गरौँ
प्रकाश सपुतको गीत ‘पिर’ले अहिले फेरि सृजनात्मक कर्मलाई कसरी हेर्ने भन्ने बहस चुलिएको छ । बहसका विभिन्न पाटा छन्, सबैतिर छलफल चलाउन सकिँदैन । कलाका दृष्टिले हेर्दा यसका आफ्नै सीमा होलान् । क्रिया भएपछि प्रतिक्रिया स्वाभाविकै हो । सबैले राम्रै राम्रै भन्नुपर्छ भन्ने छैन । कुनै पनि सृजनामा समीक्षा नहुनु भनेको प्रतिपक्षविनाको सरकार हुनु जस्तै हो । प्रतिपक्ष विनाको मिलिजुली सरकार कति गएगुज्रेको हुन्छ, त्यो हामीले भोगिआएकै कुरा हो । त्यसैले सिनेमा, साहित्य, संगीत, कला, पुस्तकहरुबारे यहाँ खासै गम्भीर समालोचना हुँदैन । पत्रपत्रिकामा मात्र आउने पत्रकारका छिपछिपे समीक्षाले समालोचनाको ओज थाम्दैन । समीक्षा–समालोचना मर्दै जाँदा समाजमा कलाको स्तर पनि खिइँदै गएको छ । कठोर समीक्षा हुनुपर्ने ठाउँमा अभद्र गालीगलौज र अचालाक्ली प्रशंसा बढेको छ जसले आम पाठक/दर्शक/श्रोतालाई अलमल्याएको छ । तर, बहसको विषय यो होइन ।
प्रकाश सपुतको गीतलाई लिएर माओवादी केन्द्रका चार भ्रातृसंगठनले जसरी विज्ञप्ति निकालेका छन्, त्यो शोभनीय छैन । उसो त उसरी विज्ञप्तिबाजी गर्ने प्रचलन भने यो पहिलो होइन, र यो अन्तिम पनि होइन ।
कला–कृति मन नपराउन पाइन्छ । जति नै आलोचना गरे पनि हुन्छ । तर, त्यो बदल्नुपर्छ, यो भन्नै पाइँदैन, कानुनी कठघरामा उभ्याउनुपर्छ, तिमीलाई छोड्दैनौ, हामी तिमीभन्दा माथि हौँ, छुनै पाउँदैनौँ प्रकारका संस्थागत प्रतिक्रिया दिनु भनेको छाडापनको संकेत हो ।
कला समाजको वा यथार्थको नक्कल मात्र होइन । कलाकार फोटोग्राफर मात्र होइन । उसलाई कल्पनाशक्तिको प्रयोग गरेर यथार्थको अतिक्रमण गर्ने पनि छुट छ । हुँदै नभएको कुरा देखाउने अधिकार पनि छ । जब हामी कलालाई पनि बाँध्न थाल्छौँ, समाजको काल्पनिकी सिकिस्त हुन्छ । तर, यति भन्दै गर्दा कलाको आलोचना गर्नै हुन्न भन्न खोजिएको कदापि होइन ।
नेपालीले पल्टैपल्टै लडेर मरेर ल्याएको लोकतन्त्र यति साँघुरो हुनुहुँदैन । लोकतन्त्र एउटा बगैँचा हो भने त्यहाँ सबैथरी फूलले फुल्न पाउनुपर्छ । पोर्नाेग्राफीदेखि प्रगतिशीलता, क्रान्तिकारी विचारदेखि कामुक विचार, कलाप्रधानदेखि विचारप्रधान, यथार्थवादीदखि अतियथार्थवादी सबै फुल्न पाउनुपर्छ । समाजका जल्दाबल्दा समस्यालाई अनदेखा गर्दै इतिहासका वा बाहिरी दुनियाँका वा मायाप्रेमका गीत मात्र गाउनुपर्छ भन्ने छैन । वर्तमानका जटिल समस्यामा जेलिएर कुनै सर्जकले गीत बनाउँछ भने यो उसको स्वतन्त्रताको कुरा हो । कुनै सर्जक बिक्री भयो, बढी चल्यो भने त्यसलाई कलाविहीन वा बजारिया भन्न पनि मिल्दैन । सधैँ कमसल मात्र बिक्छ भन्ने होइन । के मुनामदन कमसल भएर अहिले पनि बढी बिक्री हुने कोटिमा परेको किताब हो ?
आलोचना गर्न पाइन्छ तर बोल्नै पाउँदैनस् भन्न पाइँदैन । व्यक्तिगत रुपमा बोल्न पाउँदैनस् भन्न पनि कसैले आक्रोशमा पाउला । तर, नेपाल एकेडेमीको प्राज्ञ भइसकेका व्यक्तिले समेत कलाको मुख थुन्ने प्रयास गर्नु आपत्तिजनक छ ।
राजनीति रकमी बनेको छ । राज्यका कुर्सीवालहरू ‘पिर’ भुलाउन पिउँदै हिँडेको दृश्य पटाक्षेप भएको हो । यस्तै विषयमा थुप्रै फिक्सन–ननफिक्सन लेखिएका छन् । मिडिया र सिनेमामा आएका छन् । तर, गीतलाई लिएर जसरी आक्रमण गरिएको छ, त्यो लोकतन्त्रको आत्मा विपरीत छ । यो वाक् तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत छ । यथार्थवादी चश्माले मात्र हेरेर आक्रमण गर्नुअघि आख्यान भनेको के हो ? कल्पना भनेको के हो ? काव्यिक स्वतन्त्रता भनेको के हो ? लेखक कलाकारलाई आफ्नो कर्ममा अराजकताको अधिकार हुन्छ भनेर किन भनिएको होला ? विज्ञप्ति निकाल्नेहरूले अझ त्यो पनि प्राज्ञिककर्म गरेर समाज बदल्छु भनेर दाबी गर्नेहरूले पहिला बुझ्न जरुरी छ ।
कुनै जात, धर्म, लिंग, क्षेत्र, भाषामा प्रत्यक्ष चोट नपारी आफ्ना कर्म गर्न ती स्वतन्त्र छन् । र, ती आलोचनाकोे कठोर प्रहार पाउन पनि धेरै हदसम्म योग्य छन् । तर आलोचनाको ठाउँमा आक्रमणको शैली बढ्दै जाँदा झुर कलालाई पनि सहानभूति बटुल्ने सौभाग्य मिलिरहेको छ ।
यो लोकतान्त्रिक गणतन्त्र हो एकमनावादी जनगणतन्त्र होइन, जहाँ आफ्ना नांगा भ्रष्ट नेतालाई पनि पूजा गर्नुपरोस् । यो लोकतन्त्र हो, तपाईंको आलोचनाको अधिकार पनि सुरक्षित छ र लेखक कलाकारको स्वतन्त्रता पनि सुरक्षित छ । आक्रमणको भाषा बोल्नुअघि कलाप्रतिको बुझाइ फराकिलो र गहिरो बनाउन जरुरी छ । आफूलाई कुनै फूलको गन्ध मन परेन भन्दैमा बोटै उखेल्न पाइँदैन । बगैँचा तपाईंको निजी सम्पत्ति हैन, साझा सम्पदा हो । र, निजी सम्पत्तिको अन्त्य कम्युनिस्टहरू आदर्श चिन्तक एंगेल्सको किताबमा भइसक्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया