सम्पादकीय
ओली–राणाको असंवैधानिक नियुक्तिलाई ‘अग्राधिकार’को चाबुक
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो निहित स्वार्थपूर्ति गर्न ‘स्वेच्छाचारी शैली’मा दबाएका संवैधानिक अंगका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी प्रकरणले ‘अग्राधिकार’ प्राप्त गरेपछि छिट्टै अन्यौल अन्त्य हुने विश्वास जगाएको छ । संवैधानिक इजलासले बुधबार अध्यादेश र ती नियुक्तिको छिटो–छरितो सुनुवाइ आवश्यक ठहर्याउँदै अग्राधिकार प्रदान गर्नुलाई सकारात्मक ठानिएको छ ।
पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीकालमा अध्यादेश जारी गर्दै, अनि संसदीय सुनुवाइ छल्दै संवैधानिक अंगमा ५२ पदाधिकारी नियुक्त गरिएको थियोे । त्यसरी नियुक्ति पाउने व्यक्तिहरूको योग्यता, क्षमता र कार्यदक्षतासमेत परीक्षण भएको थिएन । संविधान छल्दै ‘भूमिगत शैली’मा २०७७ माघ २१ र २०७८ असार १० मा शपथ खाएका ती संवैधानिक पात्रहरूका निम्ति राज्यको ठूलो धनराशि खर्च भइसकेको छ । अनि नियुक्ति वैधतामा प्रश्न उब्जेपछि तिनको काम–कारबाही समेत शंकाको घेरामा परेका छन् । तिनीहरू स्वयं पनि अदालती निर्णय पर्खिबसेका छन् ।
हुन पनि ओलीकालमा संवैधानिक नियुक्ति रातारात र अनौठो शैलीमा भएको थियो । यहाँसम्म कि त्यसरी नियुक्त चार पदाधिकारीको त शैक्षिक र संविधानतः उल्लेखित योग्यता नपुगेको भेटिएपछि अन्तिम समयमा शपथ खुवाइएको थिएन । यसले के देखाउँछ भने संवैधानिक परिषद्ले कुनै पनि किसिमको योग्यता परीक्षण नगरीकन ‘भागबण्डा’का आधारमा ‘आफ्ना मानिस’लाई पदाधिकारी बनाएको थियो ।
अझ संवैधानिक परिषद्का सदस्य रहेका प्रधानन्यायाधीश राणा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भाइ–भतिजालाई नियुक्ति दिएको विषय त छताछुल्लै भएको थियो । सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठक नै बहिष्कार गरेका थिए । तिनले बैठक बहिष्कार गर्ने बुझेरै रातारात अध्यादेश जारी गर्दै नियुक्तिको सिफारिस गरिएको थियो र जसमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्धक्क सही धस्काएकी थिइन् ।
यस्ता नियुक्तिमा संलग्न एक पात्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा यतिखेर निलम्बित छन् । राणाबेगरको कामु प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले अध्यादेश र नियुक्तिको ‘संवैधानिक वैधता’ परीक्षण गर्दैछ । संवैधानिक इजलासका पाँचमध्ये तीन न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा अध्यादेशविरुद्ध दरिलो न्यायिक टिप्पणी गर्नेमा पर्छन् ।
तिनले २०७८ जेठ २७ मा नागरिकता अध्यादेशविरुद्ध आदेश दिँदै संसद छल्ने उद्देश्यबाट जारी अध्यादेशलाई ‘छद्म विधायन’ भनेका थिए । उनीहरूले त्यसरी संसद् छलेर अध्यादेश जारी गर्नुलाई कार्यकारिणीको ‘अनुचित हस्तक्षेप’को संज्ञा समेत दिएका थिए । त्यसरी जारी अध्यादेशले संवैधानिक वैधता प्राप्त गर्न सक्दैन भन्ने व्याख्या भएको थियो । यस्ता अनेक नजिर अदालतसामु छन् ।
दुर्भाग्य नै भन्नुपर्छ, लोकतान्त्रिक कालखण्डमा संवैधानिक अंगलाई आफ्नो स्वार्थ पूर्तिको औजार बनाउने खेलअनुरूप जथाभावी नियुक्ति गर्ने रोग मुलुकमा भित्रिएको छ । २०७० वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई त्यसरी नै नियुक्ति गरियो । सर्वाेच्च अदालतले संविधानतः ‘अयोग्य’ घोषित ग¥यो । उता भ्रष्टाचार जस्तो संगीन अपराधको अनुसन्धान गर्ने र मुद्दा चलाउने निकाय अख्तियारमा कार्कीको पौने चार वर्ष रजगज चल्यो । अदालती फैसलासँगै अन्ततः उनी अख्तियारको संस्थागत ‘मेमोरी’मा नरहने गरी बिदा भए ।
मुलुकको महत्वपूर्ण संवैधानिक र अन्य संस्थालाई सिध्याउने कार्यमा हाल क्रियाशील यिनै नेता दोषी हुन् । दुर्भाग्यतः त्यसरी अनुचित नियुक्तिमा संलग्न कसैमाथि कुनै कारबाही हुनु त कहाँ हो कहाँ तिनकै रजाइँ मुलुकमा चलिरहेको हो । त्यसरी अनुचित नियुक्ति गरी राज्यको ढुकुटीलाई मार पार्नेहरूबाट रकम असुल उपर नगर्ने हो भने यस्ता दृश्य नियमित देख्नुपर्नेछ ।
राज्यको अथाह धन खर्चने र राज्य संयन्त्रलाई ‘लिक’मा हिँडाउने दायित्व बोकेका संस्थाहरूलाई खेलाँचीमा हिँडाइरहनु भनेको मुलुकलाई अराजकताको भासमा धकेल्नु हो । त्यसकारण, सर्वाेच्च अदालतले ‘अग्राधिकार’ दिएको हुँदा यसलाई सकेसम्म टुंगो लगाउनु मुलुककै हितमा हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया