सम्पादकीय
देशैभर भ्यूटावर आतंक
तीनै तहको निर्वाचनपछि देशभर दुईवटा आतंक मच्चिए– एउटा डोजर, अर्काे भ्यूटावर । वडा अध्यक्षहरुले डोजर किनेर लगानी र नाफा दुबै उठाउँदै ‘डोजराध्यक्ष’मा परिणत भए । पहाडभरि पहिरोको प्रकोपमा धेरै ठूलो जनधनको क्षति भयो । त्यसपछि भ्यूटावरको आतंक पनि सबै प्रदेशमा उत्तिकै छायो । भ्यूटावरको भित्री कथा भने भूमाफियासँग जोडिएको छ । वरपरको जग्गा पहिले नै किन्यो, त्यसपछि शक्ति केन्द्रमार्फत भ्यूटावर खडा ग¥यो । अनि जग्गा बेचबिखन गर्यो । यसले खेतीको रुप धारण गर्न पुग्यो । त्यही भएर देशभर भ्यूटावर आतंक मच्चिएको छ । अनि सबैभन्दा विडम्बना त्यस्ता भ्यूटावरको उद्घाटन पार्टी अध्यक्ष, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरुले गर्ने । सोझासाझा जनताका अगाडि ‘मैले प्रधानमन्त्रीबाट शिलान्यास र उद्घाटन गराएँ’ भन्ने । त्यसको राजनीतिक जश पनि लिने र आर्थिक स्वार्थ त छँदैछ ।
आवश्यकता भ्यूटावरको हो कि गरिबी, पछौटेपन निवारण र आर्थिक–सामाजिक विकास । एउटै टावरलाई करोडौं रुपैयाँ खर्चिनुको साटो उत्पादकमूलक क्षेत्रमा लगानी गरेको भए त्यसको मूल्य अभिवृद्धि हुन्थ्यो । जनताले रोजगारी पाउँथे । उत्पादित सामानले बजार पाउँथ्यो आदि । यी सबै पक्षलाई कुनै पनि सरकारले वास्ता गरेन । त्यसै पनि नेपालको राजस्व अति कम संकलन हुन्छ । जनताले श्वास फेर्दासमेत राज्यले कर लिएको छ । अनि यसरी उठाइएको कर नेता, मन्त्री, सरकारी कर्मचारी, सांसदहरुका तलब भत्तामै सकिने मात्र होइन, पुग्दैन । आन्तरिक ऋण लिएर नेता सांसदले तलब भत्ता खाइरहेका छन् । विकास बजेट पूर्णतः विदेशी ऋण वा अनुदान र आन्तरिक ऋणमा आधारित छ । यस्तो अप्राप्य रकम भ्यूटावरजस्ता अनुत्पादक क्षेत्रमा खन्याउनु भनेको जनताले तिरेको तिरोको दुरुपयोग गर्नु हो ।
एमाले अध्यक्ष खड्गप्रसाद ओलीले आज उद्घाटन गरेको तिलोत्तमास्थित १० तले भ्यूटावारको लागत १४ करोड रुपैयाँ हो। यो रकमले कुनै उद्योग खुलेको भए धेरैजनाले रोजगारी पाउँथे । अर्काे त, ओलीकै निर्वाचन क्षेत्रमा झापाको दमकमा निर्माणाधीन १८ तले भ्यू टावर सधैभरि चर्चाकै केन्द्रमा छ । जसको लागत मात्रै १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी छ ।
भ्यूटावरमा हालिएको यो रकमले कतिवटा अस्पताल बनाउन पुग्थे । भएका अस्पतालहरुमा यन्त्र उपकरण नभएर जनताले उपचार पाएका छैनन्। पशुपतिमा ओलीले नै हाल्न लगाएको ९२ करोड रुपैयाँको जलहरिले सातवटै प्रदेशमा चिस्यान केन्द्र खोल्न पुग्थ्यो, जहाँ किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न सकिन्थ्यो । समयमै बजारमा पु¥याउन नसक्दा कृषिजन्य उत्पादन मिल्काउनु परेको छ । आवश्यकता धेरै ठाउँमा छन् । तर स्रोत र साधन भने सीमित छन् । यही सीमित स्रोत र साधनलाई लहड, सनक र माफियाहरुका आर्थिक स्वार्थ सिद्ध गर्नमा दुरुपयोग भए ।
ओलीको सिको अरुले पनि गरे । माओवादीले पनि रोल्पमा भ्यूवाटर बनायो । हिजो उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रोल्पामा ठूलो विकास गरेको भनेर नाक फुलाए । चार करोड ७७ लाख राज्यकोषबाट खर्चेर बनेको यो भ्यूटावरले खोला तर्न नसकेर विद्यालय जान बञ्चित रोल्पाका बालबालिकालाई गिज्याइरहेको छ ।
यो भ्यूटावर बनाएर मोटो रकम कमीसनस्वरुप कुम्ल्याउने योजना सुरुमा काठमाडौं महानगरपालिकाले बनायो । झन्डै पाँच अर्ब रुपैयाँ लागतको उक्त भ्यूटावर काठमाडौंको कंक्रिट सहर हेर्न र व्यापारिक कम्प्लेक्समा व्यापार गर्नबाहेक अरु उपादेयता छैन । काठमाडौंबाट सल्केको भ्यूटावर रुपी आगो देशभर फैलियो। अब कहीं कतै भ्यूटावर शिलान्यास गर्न कुनै नेता पुगे भने जनताले प्रतिरोध गर्नुपर्ने बेला आएको छ । तिनै जनताले तिरेको करलाई भ्यूटावर जस्तो अनुत्पादक ठाउँमा लगानी गरेर नेताहरुले जनताको करको अपमान गरेका छन्। तसर्थ, भ्यूटावर होइन आर्थिक समृद्धि ल्याउने योजनामा मात्र बजेट विनियोजन गर्नुपर्छ र बन्न लागेका र शिलान्यास हुन लागेका भ्यूटावरलाई जनताले प्रतिरोध गर्नुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया