सम्पादकीय
देउवाको कूटनीतिक परीक्षण
प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि मित्रराष्ट्र भारतको तीन दिने भ्रमणमा जुटेका छन् । देउवाको भारत भ्रमण भारतको चाहनामा भन्दा पनि उनको चाहनामा भएको अर्थात् देउवाका तर्फबाट नै इच्छा जाहेर भएपछि तारतम्य मिलाइएको भ्रमण हो । एक त कोभिड–१९ को अनिश्चितताका कारण पनि नेपालबाट उच्चस्तरीय भ्रमण गराउने भारतको सोच थिएन भन्ने देखिन्छ । त्यसकारण यसबीचमा भारतले महाकालीमा पुल निर्माणको निर्णयदेखि रसायनिक मल खरिदसम्मका महत्वपूर्ण सम्झौता हुने थिएनन् । प्रायः यस्ता ठूला घोषणा राष्ट्रप्रमुख वा सरकार प्रमुखको भ्रमणको मेसो मिलाएर प्रसन्न गराउने चलन हुन्छ कूटनीतिमा ।
लगभग गोप्य राखिएको देउवाको भारत भ्रमणको एजेन्डामा त्यस्तो ठोस विषय केही देखिदैंन । फेरि नेपालमा चुनावको मुखमा भइरहेको देउवाको भ्रमणमा ठूलो घोषणा गरेर भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले नेपालको प्रमुख प्रतिपक्षीसँग सम्बन्ध दाउमा राख्न चाहँदैन ।
अहिले देउवाले भारत भ्रमणका जान रहर गर्नुका पछाडि दुई मुख्य कारण छन् । पहिलो, भारतले नरुचाएको गठबन्धनलाई नै आगामी निर्वाचनपछि पनि तन्काउने उनको दृढता । शायद देउवा किन आगामी निर्वाचनमा पनि गठबन्धन गर्नुपर्यो, त्यसमा उनको के बाध्यता आइलाग्यो भन्ने बुझाउने प्रयास गर्नेमा हुनेछ । सबै दलहरू आ–आफ्नो बुतामा निर्वाचन लड्दा त्यो ‘फेयर’ (स्वच्छ) हुन्छ भन्ने भारतको बुझाइ हुनसक्छ ।
अर्कोतर्फ, नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता स्वीकार गर्यो । लगत्तै चिनियाँ विदेशमन्त्रीको पनि नेपालमा भ्रमण भयो । यस लगत्तै नेपालको प्रधानमन्त्री भारत भ्रमणमा जाँदा यसबाट नेपालले भारतसँगको सम्बन्धलाई त्यत्तिकै प्राथमिकता दिएको सन्देश जान्छ । अमेरिका, चीन र भारतलाई सन्तुलन गर्ने कूटनीतिक कदमका रूपमा पनि देउवाको भ्रमणलाई लिनुपर्छ ।
सरकारमा उक्लिदाँ उक्लिदैं देउवा यी तिनै मुलुकसँगको कूटनीतिक असमञ्जसमा परे । अमेरिकासँगको एमसीसी सम्झौता अनुमोदन गर्न नदिने भन्दै केही दलहरू आन्दोलनमा थिए । दार्चुलाका जय सिंह धामी भारतीय सीमा सुरक्षाा बलले धार्चुलातर्फकाे भागमा तुइन काटिदिएपछि महाकली नदीमा खसेर बेपत्ता भएपछि भारतसँग यसबारे कुरा गर्नुपर्ने बाध्यात्मक स्थिति मात्र उत्पन्न भएन जनस्तरमा उक्त घटनाले उग्र विराेधकाे आवाज बुलन्द भएकाे थियाे । हुम्लामा चीनसँगको सीमामा समस्या रहेको भन्दै देउवा सरकारले अध्ययन कार्यदल बनाएको थियो । एमसीसीले नेपालमा अमेरिकी प्रभुत्व हुनसक्ने भन्दै चीनले घुमाउरो ढंगले नेपालमा विरोध गराइरहेको बुझ्न देउवाजत्तिको परिपक्व राजनीतिज्ञलाई गाह्रो थिएन । लामो समयको मथापच्चीसीमा भने भारतले एमसीसी सम्झौताका विषयमा कुनै प्रतिक्रिया दिएन । अमेरिकासँगको उसको आफ्नो छुट्टै सम्बन्धका कारण चीनको चर्को विरोधपछि अन्तिममा भारतले एमसीसी सम्झौता अनुमोदन होस् भन्ने सदिच्छा राखेको देखियो ।
के अमेरिका, के चीन, के भारत उनीहरू नेपाल स्वाधीन र निष्पक्ष निर्णय लेओस्, तर त्यो आफ्नो पक्षमा होस् भन्ने चाहान्छन् । नेपालमा एमसीसीको सहयोगलाई लिएर अमेरिका र चीनको भनावैरी हुन थालेपछि त्यसले भूराजनीतिक संवेदनशीलता झनै बढाएको थियो । चीन, अमेरिका र भारतबीचको कूटनीतिक सम्बन्धमा सन्तुलन अत्यन्तै महत्वपूर्ण छ । भारतले प्रधानमन्त्री देउवालाई दिने ‘रेस्पोन्स’ले देउवाको कूटनीतिक क्षमताको परीक्षण गर्नेछ । दिल्ली भ्रमणले प्रधानमन्त्रीलाई केही समययता उनले झेल्दै आएको चीन र अमेरिकाको नेपालमा प्रतिस्पर्धाले सिर्जना गरेको तापलाई केही मत्थर गराउन मद्दत मिल्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया