सम्पादकीय
यो चैत अनि पार्टी प्रवेशको मौसम
दल–बदल र पार्टी प्रवेश लहर पनि बाक्लिँदो छ, स्थानीय तहको चुनावी रन्कोसँगै । कमाऊ र सरकारी स्रोतको दोहोन गर भन्ने हिसाबले स्थानीय सरकार आकर्षक बनेको दृश्यसँगै लोभिनेको संख्या अधिक छ । बलियो र दर्बिलो पार्टीमा प्रवेश गरी फाइदा लिने गणितीय हिसाब–किताबसहित कोही दल–बदल गर्दैछन् भने कोही प्रवेश गर्दैछन्, आयाराम–गयाराम प्रवृत्तिलाई निरन्तरता दिँदै ।
अझ चुनावमा टिकट वितरण हुँदा अवसर नपाएपछि दल बदल र प्रवेशका दृश्य ह्वात्तै बढ्ने निश्चित छ । कुुनै बेला भारतीय राजनीतिमा हरियाणाका विधायक गयाराम चौधरी, जो मन्त्री बन्न वर्षमा तीन पटकसम्म पार्टी परिवर्तन गर्थे । गयाराम कतिखेर आयाराम हुन्थे, कसैले भेउ पाउँदैनथ्यो । उनैको क्रियाकलापमा आधारित हुँदै राजनीतिक शब्दावली बन्यो, ‘आयाराम गयारामहरू ।’
पेशेवर राजनीतिक कार्यकर्ता मात्र होइन कि फिल्मी दुनियाँमा रंगिएकाहरू पनि रातारात ‘जयनेपाल दाइ’ र ‘लालसलामको अभिवादन कमरेड’ भन्दैछन् । अनि नेताहरूको चोटा–कोठामा देखिँदैछन्, भेटिँदैछन् । तिनले आफ्नो पेसाभन्दा राजनीतिबाट अधिक ‘लाभ’ प्राप्त हुने देखेपछि चोला बदलेका हुन् । अझ कोही यो चुनावमा कुनै पार्टीमा देखिन्छन्, अर्काे चुनाव आउँदा अर्कै पार्टी पुग्छन्, फिल्मी दुनियाँमा छिटो–छिटो रिल बदलिए झैँ । राजनीतिकरण नभएको पेशा थिएन, हुँदा हुँदा ‘राष्ट्रिय कलाकार’ पनि ‘दलीय–कलाकार’ भएको दृश्यलाई सहज मान्नुपर्ने स्थिति पैदा भएको छ ।
अनि नेताहरू प्रवेशीहरूलाई खादा–माला र अविरले रंग्याउँदैछन् । अनि तिनीहरूको प्रवेशसँगै पार्टीले काँचुली फेर्छ भन्ने आभास दिलाउन खोज्दैछन् । तिनले के बिर्सेका छन् भने तिनीहरू इमान्दार–त्यागी र पार्टीका निम्ति खटेका नेता÷कार्यकर्ताका ‘भाग खोस्न’ भित्रिएका हुन् । तिनीहरू पार्टी बलियो पार्न होइन कि चुनावी अवसर चुम्न र चुनावपछि पार्टी सत्तारूढ भएमा नियुक्तिको भाग खोज्न आएका हुन् । अनि तिनीहरू विगतमा कतै थिए । त्यहाँ तिनले भाग नपाएपछि वा त्यो दलको हैसियत नदेखेपछि ‘अवसर’कै लागि दल बदलेका हुन् । अर्थात्, तिनीहरू ‘अवसरवादी चरित्र’का खोजका पात्र हुन् ।
तिनीहरू कुनै पार्टी वा नेतालाई धोका दिँदै फरक पार्टीका आएका हुन् । तिनले भोलि यसरी नै पार्टीको भविष्य आकर्षक देखेनन् भने अर्काे चुनावमा अर्कै पार्टीमा पुग्छन् । अझ पार्टी फेर्नेे लत बसेकाहरूका निम्ति चुनावी माहौल अचूक मौका बन्छ ।
हाम्रो राजनीतिक धरातल हेर्ने हो भने पार्टीको स्कुलिङमा हुर्किएकाभन्दा अरु पार्टीबाट प्रवेश गरेकाहरूले शीर्ष नेतृत्वलाई चाँडै प्रभावित गर्न सफल भएको देखिन्छ । किनभने नवप्रवेशीहरू शीर्ष नेतृत्वको चाकडी गर्न कुनै कसर बाँकी राख्दैनन् । तिनीहरूको एक मात्र ध्याउन्न चाकडीमा लठ्ठ पार्दै छिट्टै ‘अवसर’ चुम्नुहुन्छ । अवसरका लागि अधिक चाकडी गर्ने र अन्त्यमा तिनै नेता सिध्याउन कुनै कसर बाँकी नराख्नेहरू कम्युनिस्ट शब्दमा भन्ने हो भने ‘लिन पियओ दर्शनवादी’ हुन् ।
उता, कुनै बेला कांग्रेसमा यसरी प्रवेश गर्नेहरूलाई ‘चैते कांग्रेस’ भन्थे । चैतमासकै खडेरीका मौसममा पनि कांग्रेस सत्तारूढ भएका कारण ‘चैते’हरूको हुल बालिक्नु अनौठो होइन । अर्काे पार्टीमा ‘भदौरे भेल’ देख्नासाथ परिवर्तन भइहाल्छन्, अझ पार्टी र तिनका नेतालाई छाड्दा तथानाम गाली गर्न पनि बेर लगाउँदैनन् ।
अनौठो चाहिँ हाम्रो भूमिमा सीमित ‘अभागी’बाहेक धेरैजसो अवसरवादीहरूकै ‘भाग्य’ चम्किएको दृश्य बाक्लो छ । त्यस्ता दृश्यले पनि अवसरवादीहरूलाई दल बदल्न मोहित तुल्याउँछ । राजनीतिक वृत्तले के बुझ्दैन भने तिनीहरू थातथलो छाड्दै रन–वन चर्न आएका हुन् । हरियो घाँस सकेपछि अर्काे हरियाली फाँट खोज्ने निश्चित छ ।
नयाँ प्रवेशीहरूको पहिलो काम हुन्छ, पार्टीका इमानदार र त्यागीहरूलाई पन्छाउनु । किनभने तिनलाई पन्छाउन सकेमा तिनले छिट्टै लाभ लिन सकिन्छ भन्ने रणनीति बनाएका हुन्छन् । तिनीहरूको अर्काे काम हुन्छ, नेतृत्वबीच झगडा चर्काउनू । त्यसरी झगडा चर्किरहँदा नेतृत्वलाई पूरै आड–भरोसा दिएको भान पार्छन्, सँगै तिनले पार्टीलाई छिया–छिया तुल्याउँछन् ।
त्यहीकारण जुन पार्टीमा जति बढी नवप्रवेशी हुन्छन्, त्यही पार्टी विभाजन वा चोइटिन पुग्छ । दल बदल र नवप्रवेशीको भेलले पहिलो चुनावमा केही फाइदा दिएको अनुभूति हुन्छ, त्यसपछि तिनले पार्टीमा झगडा चर्काउँदै पार्टी र नेतालाई टुक्रा–टुक्रा पारिदिन्छन् । एमाले–माओवादी मिलनपछि के भयो ? ती राजनीतिक दृश्यलाई घोत्लिएर केलाउने हो भने अनेक वृत्तिका राजनीतिक प्रवृत्ति देखिनेछन् । नवप्रवेशीहरू दल दर्बिलो हुन्, छिया–छिया पार्छन्, नेतृत्व प्रकृति–प्रवृत्ति केलाऊन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया