सम्पादकीय

प्रकृति-संस्कृति मास्‍ने समृद्धि बहिष्कार गरौँ

इकागज |
चैत ९, २०७७ सोमबार ११:३८ बजे

हामीले उहिल्यैदेखि रट्दै आएका पंक्ति हुन्- नेपाल प्रकृति र संस्कृतिमा धनी देश हो । हामीकहाँ जस्तो विविध संस्कृति र प्रकृति दुनियाँमा कमै देशमा छ । यस्तै यस्तै ।

माथिका पंक्ति ठीक पनि हुन्- हामी धनी देश नै हौँ । विविध प्रकृति हुनुमा हाम्रो मेहनत र पसिना बग्नु परेन । हामीलाई उसै प्राप्त अनुपम प्रकृति र पुर्खाले बसाल्दै आएको बहुरंगी संस्कृति प्राण भन्दा प्यारो छ । 


जसरी हामी आज आफ्ना पुर्खाप्रति धन्य छौँ, के उसरी नै नयाँ पुस्ता हामीप्रति धन्य होला ? पुर्खाले जसरी प्रकृतिको प्राकृतिकता जोगाए, संस्कृतिको मौलिकता जोगाए, हामीलाई सुन्दर नेपाल दिए, के हामीले नयाँ पुस्तालाई सुन्दर देश दिँदै छौँ ? हामीले हाम्रो प्रकृति र संस्कृतिलाई कति जोगाएका छौँ ? जोगाउँदै छौँ ? हामीले आफैँलाई सोध्न धेरै नै ढिलो भइसकेको छ । 

नेपालको भूगोल विविध प्रकारको छ । विविध खाले भूगोलमा पर्ने पानी, वहने हावाको मात्रा र आवृत्ति पनि बेग्लै छ । हावापानी बेग्लै भएपछि त्यहाँको जल, जंगल, जनावर, वानस्पतिक सम्पदा पनि बेग्लै हुने नै भयो । जसलाई हामी जैविक विविधता भन्छौँ, त्यो हाम्रै कुकृत्यका कारण सकिँदै छ । 

विविध खाले प्रकृतिअनुसार मानव समाजको संस्कृति पनि बेग्लै छ । यहाँ थुम्का-थुक्काबीच, डाँडा-डाँडाबीच, खोल्सा-खोल्साबीच, खोला-खोलाबीच संस्कृति फरक छ, हिमाल-पहाड-तराईबीचको भिन्नताको के कुरा ! 

क्षेत्रफलका हिसाबले दुनियाँमध्ये मझौला र छिमेकीका हिसाबले सानो देश नेपालमा यति धेरै बोली, जात, धर्म, पहिरन, खानकी, नाचगान, रीतिथिति, चाडपर्व, संस्कार, लौकिक आस्था र विश्वास छन्, ती हामीले जोगाउनुपर्ने अमूल्य सम्पदा हुन् । 

तर आज यस्ता अमूर्त सम्पदाहरू मूर्त सम्पदाको  बलमिच्याइँमा छन् । हामी मूर्त सम्पदा पनि यसरी बनाउँदै छौँ- तिनमा न कुनै मौलिकता छ, न कुनै नेपालित्व, न कुनै कला छ, न कुनै दीगोपना, न कुनै सौन्दर्य छ, न कुनै योजना । हामी ज्यानको नाममा डमी बनाउँदै समृद्धिको रटान लगाइरहेका छौँ । 

प्रकृति र संस्कृति एक पटक मासिएपछि फर्केर आउन सम्भव छैन । फेरि ल्याउँछौँ र आउँछ भन्नु मूर्खता हो । त्यो सक्कलबमोजिम नक्कल ठीक छ भनेको जस्तो प्रतिलिपि-विकास हो । 

जैविक विविधताका हाम्रा अमूल्य स्रोत सिमसार, ताल, पोखरी, नदी, चहुरहरूलाई हामी सिमेन्टको जलप लगाइँदिँदै छौँ । यो कस्तो शिलान्यास हो समृद्धिको ? समृद्ध भएँ भन्दैमा अनुहारमा सिमेन्ट नपोत्नू, दरिद्र भएँ भन्दैमा शालिग्राम-छुवालङ फोडी-बेची गिट्टी निकासी गरेर धनी बन्ने नसोच्नू । 

हाम्रा नदीभित्र बालुवा निकाल्न डुबेका तस्करहरूको लस्कर नदीभित्रका माछाको संख्याभन्दा बढी हुन थालेको छ । सहर वरपरका नदी, नदी हैन नहर-ढलमा परिणत भएका छन् । कुनैमा पनि सफा पानी बग्दैन ।

नदीनाला वरपर दिसा पिसाब गर्ने चलनलाई ‘खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा’ अभियानले प्रतिस्थापन त गर्यो होला, तर चर्पीका पाइप नदीमै बगाइन्छ भने हाम्रो विकास र सभ्यताको मोडल कस्तो होला त ? नदीछेउ दिसा नगर, बरु घरमै दिसा गरेर त्यसलाई नदीमा बगाऊ, के यही हो हाम्रो समृद्धि र सभ्यताको सूचक ? 

गाउँगाउँका कुवा, पँधेरा, धारा मासेर डोजर चलाइएको छ । के तपाईं विना कुनै यन्त्र यसरी पानी बाहिर निस्किने, बग्ने जलमुहान फेरि बनाउन सक्नुहुन्छ ? ढुंगेधारा, सुनधारा, घाँसीकुवा इत्यादि के अब ठाउँ विशेषका नाम मात्र हुन् ? 

केन्द्र भनिने संघदेखि स्थानीय क्षेत्रसम्म विनायोजना, विनासर्भे, विनाछलफल, विना जनसमर्थन जथाभावी डोजर चलाउँदा हाम्रो प्रकृति मात्र छियाछिया भएको छैन, जोगाएका पाका पुस्ताको मन पनि छियाछिया भएको छ । आखिर जसले जोगायो, माया त उसैलाई बढी हुन्छ । 

सामुदायिक वनको अवधारणामार्फत आफ्नो वन आफैँ जोगाए जसरी अब हरेक नागरिक सचेत र एकजुट नहुने हो भने हाम्रो ‘विकास’ले ल्याउने विनाशको साइड इफेक्ट सहिनसक्नु हुनेछ । अग्ला अग्ला सुन्दर डाँडामा भ्यु टावर किन चाहियो ? दुबोको चहुरमा किन सिमेन्ट पोत्नुपर्यो ?

बाघचालको निसानी रहेका चौतारीका ठूला छपनी फुटाएर किन सिमेन्ट लिप्नुपर्यो ? यहाँ पिच गर्नुपर्ने बाटाहरु पिच छैनन्, चौतारी, चहुर, चरिचरन पो पिच हुँदै छन् । चौतारी पिच गरेपछि पानी कहाँबाट छिर्छ र त्यो रुखले पोषण पाउँछ ? 

हर स्थानीय सरकारको अबको अजेन्डा प्राकृतिक र सांस्कृतिक समृद्धि हुनुपर्छ । आर्थिक समृद्धिको मात्र कुरा गर्दा जिम्मावाल शासक-प्रशासकहरुको घर-नातागोताको आर्थिक समृद्धि त होला, गाउँ-रस्तीबस्ती भने चपाइएका अनुहार हुनेछन् । सबैलाई त भन्न मिल्दैन तर खबरहरूले के देखाउँछन् भने रक्षक नै भक्षकमा परिणत हुँदै छन् । 

समृद्धि चाहिन्छ तर संस्कृति नमासी । विकास चाहिन्छ तर विनाश नल्याई । बाटो चाहिन्छ तर पैदल र साइकलयात्रीलाई पहिलो प्राथमिकता दिई । मोटर कुद्ने बाटो पनि चाहिन्छ तर बर-पीपल चौतारी जोगाई । पार्क चाहिन्छ, तर भूसिमेन्ट होइन, भूमाटो । सहर चाहिन्छ तर, नदीलाई नहर जस्तो नबनाई । तर, यो देशमा भ्यु टावर भने चाहिँदैन, किनकि सगरमाथा छँदै छ । 
 


Author

थप समाचार
x