सम्पादकीय

सम्पादकीय

क्रस–गठबन्धन र दलबदलको जालोमा जेलिँदै शीर्ष नेता

राजनीतिक दलहरूको बेपर्वाह नाङ्गो नाच हेर्न नसकेर जनताले मुख छोप्नुपर्ने बाध्यता छ

इकागज |
बैशाख ४, २०७९ आइतबार १६:५० बजे

राजनीतिक आदर्श, निष्ठा र मूल्य मान्यता अब इतिहासका पानामा खोज्नुपर्छ । विचारको धरातलबाट ओर्लेर राजनीतिलाई सत्ता प्राप्तिको साधन ठान्ने र सत्तालाई असीम भोगविलासको माध्यम मान्नेहरूले राजनीतिको बागडोर सम्हालेको बेला हो यो । हरेक विकृतिको पनि सीमा हुन्छ, नेपालको राजनीतिक विकृतिले पनि सीमा नाघिसकेको छ । त्यसकारण यहाँ जेसुकै गर्नुपनि जायज हुन्छ, लोकलाज भन्ने पनि लगभग हराएर गैसकेको छ । पद, पैसा र पावर (शक्ति)का आसक्तहरूले राजनीतिमा विकृति थप्ने हुन्, सुधारको कल्पना पनि गर्न सकिदैंन । 

देशका पुराना, स्थापित र राजनीतिक जनाधार भएका नेपाली कांग्रेस र नेकपा एमालेले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो भने मात्रै पनि आगामी दिनमा राजनीति धेरै सङ्लिने थियो । तर त्यो सम्भव छैन, कांग्रेसलाई माओवादी र एमालेबाट फुटेको एकीकृत समाजवादीसँग सहकार्य गर्नुपरेको छ । एमालेलाई महाधिवेशनमा पराजित भएपछि नयाँ पार्टी गठन गरेका कमल थापा र माओवादीबाट फुटेका चोइटाहरू (स्प्लीन्टर फोर्सेज्)सँग सहकार्य गर्नुपरेको छ । यो भयो देखाउने कुरा । 


तर भित्रभित्रै नयाँ कुरा पाकिरहेका छन् । पार्टी नेतृत्वको निर्देशन विपरित स्थानीय तह निर्वाचनमा स्थानीय राजनीतिकर्मीहरूले आफ्नै अनुकुल हुनेगरी गठबन्धन गरेका छन् । कतै कांग्रेस–माओवादी, कांग्रेस–एमाले, त कहीं एमाले–माओवादी, नेकपा एकीकृत समाजवादी– माओवादी, कांग्रेस–नेकपा एकीकृत समाजवादी यस्ता अनेकन् प्रकृतिका गठबन्धन बनेका छन् । स्थानीय तहमा रहेको भोटका आधारमा कुन–कुन ठूला दुई पार्टी मिल्ने भन्ने यकिन उनीहरूले नै गरेका छन् । पार्टीले टिकट नदिए विद्रोही भएर पनि उठ्ने र स्थानीय मौलिक गठबन्धनलाई नै जिताउने उनीहरूको तयारी छ । 

अब पार्टी नेतृत्वको निर्देशन भंग गरेको भनेर कतिलाई कारबाही गर्ने, त्यो सम्भव हुनेछैन । माथि–माथिमात्र होइन, अब सत्ताको व्यापार तलसम्म नै चल्नेवाला छ । दलहरूले आफ्नो नीति, विचार, कार्यक्रमका आधारमा जनमत बटुल्ने, एक्लाएक्लै निर्वाचन लड्ने, निर्वाचनमा हुने जित–हारलाई सामान्य रूपमा लिन नसक्ने र जसरी पनि जित्नैपर्ने सोच पालेका कारण राजनीति यो हदसम्म छरपष्ट हुन पुगेको हो । राजनीतिक दलहरूले नाच्ने बेपर्वाह नाङ्गो नाच हेर्न नसकेर जनताले मुख छोप्नुपर्ने बाध्यता छ । 

विकृति हुर्काउनेले एकदिन त्यो विकृतिको शिकार आफूपनि हुनुपर्छ भन्ने हेक्का बैलैमा राख्दा राम्रो हुन्छ । 

दुईओटा ठूला पार्टीले अवसरवादलाई संरक्षण गरेका कारण नेपाली राजनीति अवसरवादी विकृतिको चरणमा पुगेको हो । यो अवसरवादले नै नेपाली राजनीतिलाई पंगु र देशलाई भ्रष्टाचारले खोक्रो बनाइरहेको छ । 

सत्तामा पुग्नका लागि मात्र राजनीति गरिनुहुँदैन भन्दा आदर्श लाग्न सक्छ । तर त्यही आदर्श गुमाउँदा आज मुलुकको राजनीतिमा दुर्गन्ध फैलिएको छ । टिकट प्राप्त गर्नकै लागि निर्वाचनको मुखमा दल बदल्ने, आफू सत्तामा पुग्नकै लागि विचार, सिद्धान्त, नीति र दर्शन नै नमिल्ने दलहरूसँग लगन गाँठो कस्ने, आफ्नो संगठन सुदृढ गर्न कुनै मेहनत नगर्ने अनि गठबन्धनका नाममा मात्र सत्ताको तर मार्ने रवैयाले मुलुकलाई अस्थिर राजनीतिको दुष्चक्रमा फसाएको छ ।

राजनीतिमा विचार, सिद्धान्त, नीति र कार्यक्रमले जनतालाई आकृष्ट गरिन्छ । सोही आधारमा जनताले आवधिक निर्वाचनमा आफ्ना प्रतिनिधि छान्छन् । अब त सत्ताका व्यापारमा अपराध, भ्रष्टाचार र राजनीतिक संरक्षणमा दोहनबाट पैसा आर्जन गर्नेहरूको बोलवाला भएको छ । 

यो बोलवालाकै परिणति हो– क्रस गठबन्धन र दलबदल । यसले चुनावी परिणामलाई प्रभावित पार्ने नै छ । सत्ताको व्यापारमा असहजता र क्लिष्टता उत्पन्न हुँदै छ । अबको चुनावले माथिको निर्देशन होइन, स्थानीय चाहनाका मौलिक गठबन्धन विजयी हुनेछन् र तिनले माथिकै निर्वाचन प्रभावित गरिदिनेछन् । विकृति हुर्काउनेले एकदिन त्यो विकृतिको शिकार आफूपनि हुनुपर्छ भन्ने हेक्का बैलैमा राख्दा राम्रो हुन्छ । 
 


Author

थप समाचार
x