सम्पादकीय
मत दिनुअघि सोचौँ, सोचौँ र सोचौँ
राजनीतिमा न इमान हुँदो रहेछ, न जमान नै । स्थानीय तहको चुनावका मुखमा दल–बदलका भीड हेर्दा यही निष्कर्षमा पुर्याउँछ । स्थानीय तहका आकांक्षीहरूले पार्टीको आधिकारिक उम्मेदवारको सम्भावना नदेखेपछि दल–बदलका नाटक बाक्लैसँगै मञ्चन भयो । को कति खेर कुन पार्टीमा पुग्छ भनी ठम्याउनै नसकिने स्थिति पैदा भएको छ ।
अर्थात्, हिजोसम्म नेपाली कांग्रेसबाट स्थानीय तहमा रजगज गरेका पात्रहरू रातारात एमाले–माओवादी–मधेसवादी दलका उम्मेदवार बन्दैछन् । अनि एमाले–माओवादीहरू पनि कांग्रेसको रुखमुनि ओत लाग्दैछन् । झन् माओवादीका त ‘गोठै’ रित्तो पार्ने गरी एमालेतिर लहसिएको देखिन्छ नै । त्यसकारण यो स्थानीय चुनावको उम्मेदवारीमा देखिएको एउटा अनौठो र रमाइलो दृश्य भनेको ‘दल–बदल’ पनि एक हो ।
दलीय नेतृत्व वृत्त पार्टीका निम्ति त्याग गरेका, बलिदानीको भावनाले संघर्षमा मैदानमा होमिएकाहरूलाई पन्छाउँदै नवप्रवेशीहरूलाई फूलमाला लगाउँदै छन् । स्थानीय तहमा मेयर÷उपमेयरकै टिकटबाट लाभान्वित तुल्याउँदै छन् । अनि निष्ठाको इतिहास बोकेका नेता÷कार्यकर्तालाई कुण्ठित तुल्याउँदै पाखा लगाउँदैछन् । अनि तिनीहरू भित्रिँदै लाभ लिएको र सुविधा भोगको दृश्यले पार्टीभित्र लामो खटेका नेता÷कार्यकर्ताहरू चाहिँ कुण्ठित हुन पुग्छन् । हाम्रो राजनीतिमा ‘कुण्ठा’ बढ्नुको कारण नै दल–बदलु र अनुचित पात्रले प्रश्रय पाउनु हो । सँगै जसरी पनि संख्या बढाउनैपर्ने एक मात्र अर्जुनदृष्टि बोकेका नेताहरू स्वयंले दल–बदललाई प्रश्रय दिएका छन् । दल बदलेर भए पनि चुनावमा होमिने आकांक्षीका त के कुरा भयो र ?
स्थानीय तहमा स्वच्छ र स्वस्थ सरकारको चाहना राख्ने हो भने खराब पात्रहरूलाई मतबाटै किनारा लगाउनुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै खराब पात्रहरू मतकै माध्यमद्वारा किनारा लगाउनु हो ।
अझ स्थानीय तहमै रहेर पाँच वर्ष काम गरेका पात्रहरूका निम्ति झन् दल–बदलले गर्दा झन् सजिलो भएको छ । पहिलो त, तिनले अर्काे दलमा प्रवेश गरेरै भए पनि दलीय उम्मेदवार बन्न पाउने भए । दोस्रो त, चुनावमा जसले तीविरुद्ध प्रश्न उठाउनुपर्ने हो, तिनैका उम्मेदवार भएपछि प्रश्न उठ्ने नै भएन । यसरी दल बदलले चुनावका बेला बदला लिने धूनमा रहेका धेरै ठाउँका प्रतिपक्षी मतदाताले पनि ‘बदला लिन’ नपाउने भएका छन् । झन् तिनको खराब कामकै प्रतिरक्षा गर्दै तिनैलाई मतदान गर्नुपर्दा तिनलाई कम्ती सकस हुँदो हो ? नेतृत्व वृत्तलाई जसरी पनि चुनाव जित्दै संख्या बढी देखाउनुछ । तिनले अनि जित्नकै खातिर भए पनि अरु दलका विद्रोहीलाई टपक्कै टिपेका हुन् ।
दल बदलु ‘आयाराम’हरूलाई सुनको किस्तीमा ‘पद’ ट्क्रयाइँदै छ । अनि पार्टीकै निम्ति खट्नेहरूको आकांक्षालाई बलिदानी दिँदै । जसरी पनि जित्नैपर्ने दाउमा रहेका दलीय नेताहरूले के बुझेका छैनन् भने तिनीहरू ‘अवसर’का निम्ति भित्रिएका हुन् । ती ‘आयाराम’हरू अवसर नपाउनासाथ ‘गयाराम’ बन्नेछन् । यस्ता दृश्य बाक्लिँदै गर्दा शासकीय राजनीतिमा शुद्धीकरण होइन, भ्रष्टीकरण गर्नेछ । जो अवसरका लागि रातारात आस्था–सिद्धान्त, दल परिवर्तन गर्छन्, तिनीहरूले पदलाई पनि त्यसरी विकृत तुल्याउने निश्चित छ । जे उद्देश्यका निम्ति दलबदल गरेका हुन्, त्यो नपाएपछि तिनीहरू त्यसरी नै अर्काे दलमा पुग्नेछन्, छेपाराले रंग फेरेझैँ गरी ।
भन्न त, चुनाव निष्ठा, विचार र सिद्धान्तप्रेरित हुनुपर्छ भनिन्छ । तर स्थानीय चुनावकै उम्मेदवारीका दृश्य हेर्दा सिद्धान्त, आदर्श, मूल्य–मान्यता जस्ता शब्द राजनीतिबाट लोप भएको आभास हुँदै छ । को सक्षम, को योग्य होइन कि नेताहरूले आफ्नै मानिस र आफ्नै गुटका मानिसलाई प्रोत्साहित गर्न कुनै कसर छाडेका छैनन् । एकपछि अर्काे चुनाव ‘जसरी पनि जित्ने’ प्रवृत्तिबाट निर्देशित हुँदै छ । त्यस निम्ति ‘पैसा’ भएका र ‘शक्ति’ खेलाउन सक्ने पात्रहरू खोजिँदै छ । कुनै पनि दलले सिद्धान्त र निष्ठासहितका सुपात्र या सत्पात्र खोजिएको आभास हुँदैन । हरेक राजनीतिक दल निष्ठा, सिद्धान्त र आदर्शबाट निकै टाढा पुगेका छन् ।
जो, जसरी, जहाँबाट भए पनि खराब उम्मेदवार हुन् भने तिनलाई किनारा लगाउने दायित्व मतदाताको पनि हो । दलीय कार्यकर्ताहरू त्यो हदमा उत्रन नसक्लान्, तर मतदातालाई चाहिँ विवेक पु¥याउन सक्छन् । के बुझ्नुपर्छ भने नैतिकहीन, आदर्शहीन, सिद्धान्तहीन, भ्रष्ट र खराब–बेइमान पात्रहरू कहिल्यै ‘असल’ हुँदैनन्, अपवादबाहेक । स्थानीय तहका मतदाताहरू, जसले त्यस्ता पात्रहरू नजिकैबाट नियालेकै हुन्छन् । यदि स्थानीय तहमा स्वच्छ र स्वस्थ सरकारको चाहना राख्ने हो भने खराब पात्रहरूलाई मतबाटै किनारा लगाउनुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै खराब पात्रहरू मतकै माध्यमद्वारा किनारा लगाउनु हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया