सम्पादकीय
गुरुराज घिमिरेहरू ओर्लिरहेको राजनीतिक बस
नेपाली कांग्रेसमा साढे तीन दशक सक्रिय नेता गुरुराज घिमिरेले एकाबिहानै राजनीतिबाट निष्क्रिय हुने निर्णयमा पुगे । इकागजसँगको संवादमा उनले पार्टीमा योग्य र इमानदारहरूलाई पूर्णतः पाखा पारिएको बताए । उनले पार्टीमा पकड–पैसा–पहुँचवाल मात्र हाबी हुुँदै गएको दृश्य पनि प्रस्तुत गरे ।
रकमी राजनीतिबाट वाक्क, दिक्क, प्याक्क भएका गुरुराज घिमिरे एक्लो पात्र होइनन् । पैसाले पद पाउने र पदमा पैसा मात्र छाप्नेबाहेक अरु पात्र यो राजनीतिबाट अग्घोरै असन्तुुष्ट छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, मधेसकेन्द्रित, राजावादी सबैजसो दलले यो देशलाई दलदलमा डुबाएका छन् । अब यतिले पुगेन भनेर वैकल्पिक ब्यानरमा खुलेका दलले झनै गएगुज्रेका विचार उचालेर निर्दाेष नागरिकलाई तरंगित बनाइरहेका छन् । हामी यस्तो विवशतामा बाँचिरहेका छौँ– राम्रो, अलिकति राम्रो र अति राम्रो पात्र होइन नराम्रो, अलिकति नराम्रो र अति नराम्रो पात्रमध्येबाट अलिकति नराम्रो पात्र छान्नुपर्नेछ ।
राजनीति देशको मूल नीति हो । यो जस्तो मान्छेको हातमा हुन्छ, अरु सबै त्यसमै निर्भर हुन्छ । अरु पेसामा भन्दा बढी सेवा र करुणा, सत्य र न्याय, इमान र पारदर्शिता जीवित हुनुपर्ने राजनीतिमा हो । राजनीति मुहान हो, अरु नीति त्यही मुहानको पानी बग्ने-थुप्रिने कुला, खोला, खोल्साखाल्सी हुन् । तर, राजनीति अर्थात् मुहान नै दुर्गन्धित, प्रदूषित खोला बनेको छ । राजनीति सबैभन्दा रकमी बनेको छ । ढाँट र छलको पर्याय बनेको छ ।
निर्वाचनमा उही बासी अनुहार, जसले पहिला पदमा रहँदा भ्रष्टाचारबाहेक केही गरेनन्, तिनै उठिरहेका छन् । स्खलित अनुहारको उत्तेजना हेर्नलायक छ । भ्रष्टाचारी भनेर प्रमाणपत्र दिने संस्था स्वयं भ्रष्ट भएका कारण तिनले भ्रष्टाचार प्रतियोगितामा सफलता हासिल गरेको प्रमाणपत्र हात नपारेका होलान्, तर ती अनुहारबाट आशा गर्नु ढुंगोबाट स्वर आशा गर्नुजस्तै हो ।
बासी तथा सडेगलेका पात्रबाट जसरी आशा छैन, नयाँ भनिने पात्रबाट पनि भरोसा छैन । ती राज्यको संरचना नै नबुझेका जस्ता देखिन्छन् । अघिल्लो चुनावमा अलिकति समर्थन पाएपछि ती निराश भएर राजनीतिबाट किनारा लागेका छन् । फेरि नयाँ पात्र आएका छन् । तिनमा धैर्य छैन । अहिले चुनाव हारे पनि निरन्तर खबरदारी गरिरहेर अर्काे चुनावसम्म मेहनत गरेर विश्वास जित्नुपर्नेमा ती फेरि ओइलाउँछन् वा आफूले विरोध गरेका बासी दलमा छिरेर सड्छन् ।
हामीलाई आफ्नो आठ रुपैयाँको पनि चिन्ता लाग्छ । तर, आफ्नो अर्बाैं रुपैयाँको बाकसको चाबी चाहिँ हामी ढुक्कैले ‘चोर’लाई दिन्छौँ, किन ? चुनाव ‘चोर’बाट चाबी खोस्ने चाड हुनुपर्नेमा उल्टै ‘चोर’लाई चाबी बुझाउने चाड किन बनिरहेछ ?
पदमा बसेकाहरू टाढाटाढासम्म गनाएका छन् । यस्तो लाग्छ, पद भनेको झुसिलो पाद मात्र ओकल्ने खन्चुवा मनुवा मात्र हुन् । राजनीति किन गर्ने ? कमाउन गर्ने । नातागोता, परिवारलाई सम्पन्न बनाउन गर्ने । यस्तो जवाफ ‘ओपन सिक्रेट’ नै छ ।
स्थानीय सरकारमा प्रदेश र संघमा जस्तो बहुमत चाहिने पनि होइन । सरकार ढाल्ने र उठाउने पनि हैन । तर, यस्तोमा पनि दलहरूले चिटिङ गर्दै पास हुने रणनीति बनाए । गठबन्धन गरेका सबै दलको साझा संकल्प भनेको— मिलेर खाऊँ नै हो । यो घामजस्तै छर्लंग छ ।
देशमा उद्योगधन्दा चौपट । आयातको ग्राफ आकाश छुँदै । रोजगारी छैन । महँगी धेरै नागरिकलाई महँगो परेको छ । वातावरण विनाशको महामारी छ । शिक्षा र स्वास्थ्यकै चिन्ताले मान्छे चितामा पुगिरहेका छन् । जातीय, लैंगिक हिंसाका घटनामा कमी आएको छैन । न्यून आय भएका नागरिकलाई सास टिकाउनै महाभारत भएको छ । गर्नैपर्ने काममा राजनीति छैन । गर्नै नहुने काममा प्रतिनिधिको चासो छ ।
आफ्नो कमाइ जति विदेशमा सुरक्षित राख्ने । आफ्ना सन्तान आफन्तलाई विदेशमा पढाउने, बसाउने । यता हुँदा दोहनमै सक्रिय बनाउने । गरिबबाट कर असुल्ने अनि कर जति आफू र आफ्नो डफ्फाको विलासितामा खर्चिने । वंश परम्परालाई अक्षुण्ण राख्ने यो कस्तो राजावादी गणतान्त्रिक शासन हो, बुझिनसक्नु भएको छ ।
अब नागरिकले, मतदाताले गर्न सक्ने एउटै काम छ । दुष्ट र भ्रष्ट दल तथा उम्मेदवारहरूलाई चुनावबाट चेताउने । स्थानीय चुनावमा उम्मेदवारको आस्था वा दलभन्दा उसको व्यवहार हेरेर, विगत हेरेर पत्याउनुपर्छ । पदमा नपुग्दै ठालु पल्टिने, धनीमानी र आसेपासेको मात्र हित हेर्नेले पछि राम्रो काम त गर्दै गर्दैन । भड्किलो व्यवहार देखाउने उम्मेदवारलाई खर्च गर्ने पैसा कसरी कमाउनुभयो भनेर सोध्नैपर्छ ।
संघीयतामा स्थानीय सरकार भनेको शक्तिशाली सरकार हो । आफ्नो गाउँ÷नगर आफैँ बनाउने अवसर हो । जुन गाउँ÷नगरले राम्रो उम्मेदवार जिताउँछ, ऊ अघि बढ्छ । अनि आफ्नो पालिका पछि पर्यो, फोहोर भयो, भ्रष्ट भयो भनेर गुनासो गर्नलाई माथिको सरकारसँग सुहाउँदैन र त्यो गुनासोको औचित्य पनि छैन ।
हामी आफ्नो घरको, दराजको चाबी के मीठो मीठो खुवायो भन्दैमा जसलाई पायो उसलाई सुम्पिन्छौँ ? अनि आफ्नो गाउँ-नगरको चाबी जसलाई पायो उसलाई दिने ? आफूसँग भएको आठ रूपैयाँको हामीलाई त्यति माया लाग्ने अनि आफ्नै अर्बाैं रूपैयाँ ‘चोर’लाई बुझाउने ? स्मरण रहोस्, आफ्नो पालिकाको पैसा तपाईंको आफ्नै पैसा हो । यो चक्र सबै मतदाताले बुझ्न जरुरी छ ।
बासी तथा सडेगलेको फोहोरलाई मतपेटिकामा हैन, फोहोरपेटिकामा खसाल्नुपर्छ । फोहोरलाई मतपेटिकामा खसाल्नु भनेको आत्महन्ता हुनु हो । आफू मात्र हैन, भावी सन्ततिलाई समेत पिराउनु हो । हामीले सबैभन्दा धेरै छलफल गर्नुपर्ने, आफैँले आफैलाई सोध्नुपर्ने–सोच्नुपर्ने विषय नै यही हो– मतदान ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया