सम्पादकीय

सम्पादकीय

लोकतन्त्रमाथि हाबी भएका गठबन्धनका ‘श्री ५’

इकागज |
बैशाख १४, २०७९ बुधबार १५:१५ बजे

नेपाली जनताले साढे दुइ सय वर्ष लामो श्री ५ महाराजधिराजको सत्ता उखेलेर फाले, २०६२–६३ को जनआन्दोलनबाट । २०७९ को आसन्न निर्वाचनमा पहिलोपटक मत खसाल्न लागेका वालिगहरूलाई श्री ५ को शासनबारे थाहा नभएपनि दलरूपी ‘श्री ५’ को शासन देख्ने मौका पाएका छन् । जनताको शासन व्यवस्था मानिने लोकतान्त्रिक गणतन्त्र स्थापनाको डेढ दशकपछि अहिले पुनः गठबन्धनका नाममा राजनीतिक दलहरूले ‘श्री ५’को शैली अपनाएका छन् ।

यो गठबन्धनले कुनै पनि तवरबाट यसका शुभेच्छुक र कार्यकर्तामा दबाब दिन मिल्दैन तर यिनीहरू त्यही गरिरहेका छन् । अझै पार्टीको निर्देशन नमाने कारबाहीको डिंग हाँकिरहेका छन् । लोकतन्त्रमा सार्वभौमसत्ता जनता हुन्छ र त्यसमाथि निर्वाचन जनताले आफूमा प्राप्त सार्वभौम अधिकार प्रयोग गर्ने महत्वपूर्ण अभ्यास हो । लोकतन्त्रमा दलहरू जनताको मनोभावना र आकांक्षा अनुसार चल्नुपर्छ, निर्देशन दिने होइन । यो मूलतः जनताको शासन व्यवस्था हो । दलहरूले आफ्नो धरातल बिर्सेर सार्वभौम जनतालाई निर्देशन दिने र कारबाही गर्ने धृष्टता गरेका छन्, जुन गलत छ । 


दोस्रो, स्थानीय निर्वाचन मतदाताले  प्रत्यक्ष मतदानबाट जसलाई विजयी बनाउँछन्, उसले सरकार चलाउँछ । चुनिएका जनप्रतिनिधिले पूरा कार्यकाल सरकार चलाउन पाउँछन् । यहाँ बहुमत आवश्यक पर्दैन । त्यसकारण यहाँ गठबन्धन लाद्ने भन्ने हुँदैन । बहुमतले सरकार बनाउनुपर्ने भएकाले संघीय संसद र प्रदेशसभा निर्वाचनमा दलहरूबीच तालमेत हुनसक्छ, यद्यपि यसमा पनि जबर्दस्ती गर्न पाइँदैन । वास्तवमा जनताको बीचमा गएर प्राप्त मत परिणामका आधारमा संसदीय ‘फ्लोर’मा गर्नुपर्ने गठबन्धनका नाममा ‘म्याचफिक्सिङ’ शैली आफैंमा अलोकतान्त्रिक छ ।

बहुदलीय लोकतन्त्रमा दलहरूले आफ्ना दर्शन नीति सिद्धान्त र कार्यक्रमका आधारमा जनताबीच मत माग्दा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । 

तेश्रो, गठबन्धन गर्दा सुविधाजनक ढंगले जितिने आशामा पाँच दलीय गठबन्धनका नेताले आफ्ना श्रीमति, भाइ, छोराछोरी, भतिजा, आफन्तलाई उम्मेदवार बनाएका छन् । यसले स्थानीय नेता र कार्यकर्तामा निराशा र विद्रोह उत्पन्न हुनु स्वभाविक हो । दलको नेतृत्वमा बस्नेको परिवारवादी, अलोकतान्त्रिक र तानाशाही रवैयालाई लोकतन्त्रमा विरोध गर्न पाइन्छ । नेतृत्वले तलका नेता कार्यकर्तालाई दमन गर्ने, निष्काशन गर्ने होइन; आफू जिम्मेवार, जवाफदेही बन्ने हो र आफ्नो निर्णयको औचित्य स्थापित गर्ने प्रयास गर्नुपर्छ । नेतृत्वले निर्णय लिदाँ पार्टीका सबै संरचनालाई सोधेर अनुमोदनका आधारमा गर्ने र कुनै निर्णय अपर्झट लिनुपर्दा यसरी लिइएको निर्णयबारे पार्टी संयन्त्रमा बुझाउने र औचित्य स्थापित गर्ने जिम्मा उसैको हो । 

चौथो, राजनीति भनेको आस्थाका आधारमा गरिन्छ । राजनीतिक आस्था भनेको संवेदनशील सवाल पनि हो । यो लेनदेनमा आधारित र विनिमयको साधन होइन । यसलाई सम्मान गर्न पाँच दलीय गठबन्धन चुकेको छ । कुन दलमा मत हाल्ने वा नहाल्ने त्यो दलप्रति आस्था राख्ने नागरिकको स्वविवेकको विषय हो । फेरि गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस भनेको क्याडरमा आधारित पार्टी होइन । यसका कार्यकर्ता जम्माजम्मी साढे ८ लाख छन्, बाँकी शुभेच्छुकको मत हो । शुभेच्छुकको मतलाई पार्टीले कसरी निर्देशित गर्न मिल्छ र ! 

पाँचौ, पाँच दलीय गठबन्धनको निर्देशन आफैंमा अलोकतान्त्रिक छ र यसले जनताको मतलाई सम्मान गर्न सक्दैन । अर्कोतर्फ, उम्मेदवार उठाउने सवालमा पनि गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुनबाट गठबन्धनले बन्देज लगाएको छ । तालमेलका नाममा गठबन्धनले उम्मेदवार उठाउँदा पनि कानुनको उल्लंघन गरेको छ । 

छैटौं, लोकतन्त्र र संविधानको रक्षाका नाममा खडा भएको गठबन्धनको दुहाई दिदैं अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्ने छुट गठबन्धनलाई छैन । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो । तर गठबन्धनले लोकतन्त्रको नाममा आम नागरिकको लोकतान्त्रिक अधिकार खुम्च्याउने प्रयास गरेको छ । लोकतन्त्रान्त्रिक व्यवस्थामा नेतृत्वमा बस्नेले जनताको आवाज सुन्नुपर्छ । पाँचदलीय गठबन्धले आफ्नै नेता, कार्यकर्ताको आवाज सुन्न सकेका छैनन्; जसको क्षति उनीहरूले व्यहोर्नुपर्नेछ । 

राजनीतिमा आस्था, मूल्य, मान्यता र नैतिकता भएन भने त्यो पंगू र लज्जाशरणम् बन्न पुग्छ अर्थात्, त्यस्तो राजनीति अर्थहीन हुन्छ । त्यो अर्थहीन राजनीतिको जगमा लोकतान्त्रिक व्यवस्था सुदृढ हुन सक्दैन, उल्टै लोकतन्त्रमाथि खतरा पैदा हुन्छ । अघिल्लो पटक दुई ठूला कम्युनिष्ट पार्टी मिलेर निर्वाचनपछि एकता गर्दै शक्तिशाली सरकार निर्माण गरेका थिए । ‘एब्सोल्युट पावर, करप्टस् एब्सोल्युट्ली’ भनेजस्तो ‘पूर्ण शक्तिले सरकार सम्पूर्ण रूपमा भ्रष्ट भयो’ । अहिले गठबन्धनका नाममा पाँच राजनीतिक दलहरूले प्रदर्शन गरिरहेको अनैतिक, अलोकतान्त्रिक र भ्रष्ट आचरण रोक्न आवश्यक छ । अन्यथा, तल्लो तहका नेता र कार्यकर्तालाई पेल्ने तिनको रवैयाले दलहरूभित्रै विद्रोह निम्त्याउने खतरा बढ्दै गएको छ; जुन उनीहरूकै लागि प्रत्युत्पादक सिद्ध हुनेछ ।  


Author

थप समाचार
x