सम्पादकीय

सरकार झगडामै मग्‍न छ, नागरिक आफै सचेत रहौं

इकागज |
चैत १२, २०७७ बिहीबार ९:५८ बजे

कोभिड-१९ को दोस्रो लहर नेपालमा पनि चल्ने संकेत देखिएको छ । हिजोको २४ घण्टामा एक सय ४५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भयो । सीमा नाकाबाट आएका नेपालीहरुको परीक्षण गर्दा त्यहाँ पनि संक्रमित भेटिए । दक्षिणी छिमेकी भारतमा पहिलेको जस्तै कोभिड-१९ को कहर सुरु भएको छ । खुला सीमाका कारण आऊजाऊ बाक्लो हुने भएकाले संक्रमण दर वृद्धि हुन सक्ने आँकलन गरिएको छ ।

हुने/खानेहरुलाई लकडाउन राम्रै विकल्प हुन सक्ला, तर दिनभर काम गरेर साँझ-बिहान हातमुख जोड्नेका लागि यो भयंकर हुनेछ । गत वर्ष चैत ११ गतेदेखि सुरु भएको देशव्यापी लकडाउनले यही देखायो । सरकारले सेवा प्रवाह (डेलिभर) गर्न सकेन । बरु उल्टो सत्तारुढ दल आन्तरिक झगडाभित्र प्रवेश गर्‍यो । केपी ओली सरकार आन्तरिक झगडाबाट बाहिर निस्कन नसक्दाको परिणाम मुलुकले राम्रैसँग चुकाइरहेको छ र अझ कति चुकाउनुपर्ने अनिश्चित छ ।


राजनीतिक संकट आओस् या महामारी, घानमा पर्नेमा सामान्य नागरिक नै पर्छन् । नागरिक आन्दोलन वा जनआन्दोलन होस्, फेरि पनि मर्ने पनि नागरिक नै हुन् । जे जति खराब काम हुन्छन्, मार झेल्ने वर्गमा निमुखा नै पर्छन् । तर सरकार यस्तो महामारीमा भ्रष्टाचार गरेर बस्छ । पार्टी विभाजनको कालो षड्यन्त्र गरी पर्दाभित्र लुक्छ ।

चुस्त शाासनको नारामा सत्तारुढ भएका प्रधानमन्त्री केपी ओली सिंहदरबारको कुर्सीमा आसिन नभएको एक वर्ष पुगिसकेको छ । उनले निश्चित स्वार्थी कर्मचारीबाहेक अरुसँग भेटघाट हुँदैन । उनको दिनचर्या पार्टीकै झगडामा बित्छ । त्यसो हुृँदा महामारीसँग नीति या योजना बन्ने कल्पना गर्नु आफ्नै मूर्खता हुनेछ ।

प्रधानमन्त्रीका विगत तीन वर्ष त्यसैगरी बिते । कि उनी षड्यन्त्र मात्र गर्छन्, कि त बिचौलिया-भ्रष्टाचारीलाई पालन, पोषण र संरक्षण मात्र गर्छन् । यस्तो प्रवृत्तिकै कारण उनको ऐतिहासिक अवसर अवसादमा रुपान्तरण हुन पुग्यो । यस्तो अवस्थामा कोरानाको दोस्रो लहर नेपालमा आउन लागेको छ ।

हिजो पनि स्वास्थ्य उपचार नपाएर कोरोनाकै कारण धेरै नेपालीले ज्यान गुमाउनु पर्‍यो । उपचारका लागि नागरिक अस्पतालका दैलादैला चाहार्दा चाहर्दै स्ट्रेचरमै जीवनलीला समाप्त पार्न विवश भए । निजी अस्पतालले एउटा कोरोना संक्रमितबाट लाखौं रुपैयाँ असुल गर्‍यो । सरकारले झिकाएका स्वास्थ्य उपकरण, औषधिमा व्यापक भ्रष्टाचार भए । १० रुपैयाँ पर्ने मास्कलाई सरकारले ५५ रुपैयाँ तिरेको देखाएर भ्रष्टाचार गर्‍यो ।

यस्तो महामारीकाबीच झिकाइएका स्वास्थ्य सामग्रीमा लुट मच्चाउने मन्त्रीलाई ओलीले पुरष्कृत गरेर अझ बढी कमाउन सकिने मन्त्रालयको मन्त्री बनाइदिए । जनताको बाँच्न पाउने हक खोसेर भोक र अभावमा पिल्सिएका बेला उचित नीति र आर्थिक कार्यक्रम ल्याउन असफल तर चकलेट व्यापारीलाई भन्सार छूट दिने अर्थमन्त्री युवराज खतिवडा पनि पुरष्कृत भए । समग्रमा भ्रष्टाचारजन्य कृत्यमा संलग्न पात्रहरु ओलीबाट पुरष्कृत भए । खतिवडा त अमेरिकाको राजदूत नै बनाइए ।

सरकार बेथितिमा रमाइरहेको छ । प्रतिनिधि सभालाई ओलीले पंगु बनाएका छन् । जनताका पीर मर्का सुन्ने, सुनाउने ठाउँलाई हठात् बन्दी बनाइएको छ । यस्तो अवस्थामा कोरोनाको दोस्रो लहर आएमा त्यसको प्रतिकार गर्ने राज्य संयन्त्र छैन । मन्त्रीका नियत ठीक छैनन् र पार्टीको केन्द्रीय समितिको समेत अधिकार आफूमा खिंचेका ओलीले पुनः कोरोना पीडित जनतालाई राहत दिने र उद्धार गर्ने अपेक्षा गर्न सकिंदैन ।

यो वैश्विक महामारीमा नेपाली जनता आफै सचेत हुनुपरेको छ । भीडभाड नगर्ने, चाडपर्व नमनाउने, सामाजिक दूरी कायम राख्ने, मास्क लगाउन नछाड्ने आदि स्वास्थ्य मापदण्ड पालना अहिलेको महामारीबाट जोगिने सबैभन्दा उत्तम विकल्प हो ।

कदाचित् संक्रमित भइहालेमा सरकारी रवैया र स्थिति जगजाहेरै छ । निजीमा आमनेपालीले उपचार गराउन सक्दैनन् । निजी अस्पतालहरुलाई यही मौका लुट्ने मौका सरकारले दिलाइदिएको छ । तसर्थ, सचेत हुने, स्वस्थ रहने, शारीरिक व्यायाम गर्ने र रोगलाई भगाउने नेपाली जनताले गर्नैपर्ने कार्य हुन् । यसैमा सबैको छ भलो, सरकारको भर नपर्दा नै हुने भइसकेको छ । 
 


Author

थप समाचार
x