सम्पादकीय
केपी ओली ‘कोर्ट अफ जस्टिस’मा स्थापित
काठमाडौँ महानगरको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवार बनेका केशव स्थापितमाथि लागेको ‘यौन दुर्व्यवहार’को आरोपबारे उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीले खण्डन गर्दै घुमाउरो ढंगले उनको बचाउ गरेका छन् । कुनै व्यक्तिमा लागेको आरोप प्रमाणित नभएसम्म उसलाई लाञ्छित गर्न पाइँदैन । तर स्थापित सार्वजनिक व्यक्ति र त्यसमाथि महानगरको नेतृत्व लिन तम्तयार भएर चुनावी मैदानमा होमिएका व्यक्ति हुन् । सार्वजनिक मञ्चमा उनीमाथि अनेकन् प्रश्नहरू उठ्न सक्छन् । लोकतन्त्रमा एउटा राजनीतिज्ञबाट शान्त र सौम्य ढंगले त्यसको जवाफको अपेक्षा गरिन्छ ।
बिहीबारको एउटा अन्तर्क्रियामा स्थापित हिन्दी सिनेमा ‘सिंघम्’मा ‘जयकान्त सिक्रे’ जस्ता भएर प्रस्तुत भए । सार्वजनिक मञ्चबाट उनले जेजस्ता अभिव्यक्ति दिए, त्यो एउटा सभ्य समाजका लागि अपाच्य छ । सार्वजनिक मञ्चमै एउटी किशोरीमाथि हिंसात्मक अभिव्यक्ति दिने उनले कार्यकारी अधिकार प्रयोग गर्ने संस्थामा उनी आफूलाई चित्त नबुझेका कुरामा कुन रूपमा प्रस्तुत होलान्, सहज अनुमान गर्न सकिन्छ ।
हो, स्थापितमाथि लागेको ‘मि टू’को आरोप अदालतबाट प्रमाणित नभएसम्म उनलाई दोषी मान्न सकिँदैन । तर, एउटा राजनीतिक दलले नै उनीमाथि लागको आरोप वारपार नभई उनलाई सत्तामा चढाउन हतारो गरेको छ । कुनै व्यक्तिमाथि आरोप लागिसकेपछि त्यसलाई निचोडमा पुग्न दिनुपर्छ, दलको हस्तक्षेप भएको अवस्थामा वा दलीय संरक्षण प्राप्त व्यक्तिमाथि पीडितको न्याय पाउने आशालाई कमजोर बनाउँछ । दलका कार्यकर्ता र साइबर सेनाले आक्रमण गर्ने, हुर्मत लिने जोखिमका कारण पीडकमाथि मुद्दा मामिलामा खुलेर आउन अप्ठेरो पर्ने स्थिति निर्माण हुन्छ ।
महिलाको सुरक्षा र न्यायका लागि समाजका हरेक पक्ष जस्तै राजनीतिक दल सहयोगी हुनुपर्ने हो । तर एउटा जिम्मेवार दलको अध्यक्षले नै आरोपितलाई ढाकछोप गर्दै अभिव्यक्ति दिने यो जंगलराज शैली कदापि स्वीकार्य हुन सक्दैन । तसर्थ, एमालेले स्थापितको सम्बन्धमा निष्पक्ष छानबिन हुन दिनुपर्छ ।
आफ्ना नेता र कार्यकर्तालाई संरक्षण गर्ने एमालेको जंगलराज शैली अनौठो छ । संसद्को लेखा समितिले चाइना साउथ वेस्ट विमान भाडा प्रकरणमा तत्कालीन संस्कृति, पर्यटन र नागरिक उड्ययन मन्त्री भीम रावलमाथि छानबिन गरेकोमा चित्त नबुझेर एमालेले पार्टीगत छानबिन समिति गठन गरेको थियो । जबकी एमालेकै नेता सुवास नेम्वाङ लेखा समितिका सभापति थिए । रावल २०५५ ताका पर्यटनमन्त्री हुँदा विदेशी जहाज भाडामा लिँदाको अनियमितताबारे सार्वभौम संसद्को लेखा समितिले छानबिन गरेको थियो ।
त्यस्तै प्रकरण केपी शर्मा ओलीको दोस्रो कार्यकालमा प्रशस्त दोहोरिए । संसदीय समितिले छानबिन गर्न सुरु गरेका कतिपय मुद्दामा सरकार आफैंले पनि समानान्तर छानबिन समिति बनाएर संसदीय छानबिनलाई प्रभावित पार्न खोजेको देखिएकै हो । हुँदाहुँदा वाइड बडी विमान खरिद प्रकरणमा संलग्नहरूलाई पनि ‘निर्दोष हुनुहुन्छ...’ भनेर ‘फैसला’ गरेका थिए ।
के सत्तापक्ष, के प्रतिपक्ष एमालेले मुलुकमा विधि, नियम, कानुनका स्थापित मान्यतालाई पालना गर्नुपर्छ । राज्यका लोकतान्त्रिक संस्थालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यता अंगीकार गर्न सकेको छैन । जुन ओलीको सत्ताबाट बहिर्गमन हुने क्रममा पनि देखियो । सर्वोच्च अदालतको परमादेशबाट सत्ता गुमाएका ओली र उनका कार्यकर्ता त्यसपछि अदालतमाथि नै खनिएका थिए ।
एउटा सभ्य समाज र उन्नत लोकतन्त्रको अभ्यासमा राजनीतिक दलले दिने न्याय निसाफका कुनै अर्थ छैन । केपी शर्मा ओलीजस्ता पाका राजनीतिज्ञबाट महिला हक, हित र अधिकारलाई समेत निस्तेज गर्न खोज्ने र आफ्नो मुढे बल लाद्ने प्रयासको कल्पना पनि गर्न सकिँदैन ।
आफ्नो हात हल्लाउने अधिकार छ भन्दैमा अरुको नाकमा हिर्काउन भएन । एमालेले नेता र कार्यकर्ताको संरक्षण गर्ने नाममा लोकतन्त्र र विधिको शासनमाथि आम जनताको आशा भरोसा समाप्त हुने गरी अराजक हर्कत नदेखाओस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया