सम्पादकीय
चुनावी अजेन्डा : यो देशको सफ्टवेयर के हो ?
कुनै पनि देशको पहिचान कला, साहित्य, संगीत, नाटक, सिनेमा, संस्कृति, भाषाजस्ता विषय हुन् । भन्न त हामी नेपाल विविध प्रकृति र संस्कृति भएको समृद्ध मुलुक हो भन्छौँ । तर, हामीले प्रकृतिले दिएको सुन्दरतालाई संस्कृतिमा, साहित्यमा, कलामा राम्ररी ल्याउन सकेका छैनौँ, जति सक्नुपर्थ्यो ।
नेपाल लोकसंस्कृतिले भरिपूर्ण मुलुक हो । यहाँ लोकगीत, लोककथा, लोकनाटक, लोकभाका प्रशस्त छन् । रचनाकार अज्ञात रहेका यी हाम्रा अमूल्य सम्पत्ति हुन् । लेख्य होइन, श्रुति परम्पराबाटै पुस्तान्तरित हुँदै आएका हाम्रा सांस्कृतिक सम्पदालाई हामीले जति विस्तारित गर्नुपथ्र्याे, त्यो गर्न सकेनौँ ।
बहुल संस्कृतिको संकलनकै काम राम्ररी हुन सकेन । कति लोप भएर गइसके । पाठ्य रुपमा कति संस्कृति किताबका पानामा जीवित रहे पनि ती श्रव्य–दृश्यमा जीवित छैनन् । उदाहरणका रुपमा, कुसुण्डा भाषाकी वक्ता अब दाङमा एक जना मात्र जीवित छन् । भक्तपुरको इँटाभट्टामा काम गर्ने उनलाई मासिक पारिश्रमिक दिएर भाषा आयोगले दाङमा लगेर कुसुण्डा भाषा प्रशिक्षणमा लगाएको छ । तर, यस्ता काम अपवादमा मात्र छन् ।
विभिन्न भाषिक समुदायका बोली हामीले आवाजमा सुरक्षित गर्ने, दृश्यमा सुरक्षित गर्ने, तिनका विभिन्न पाटाबारे अध्ययन, अनुसन्धान गर्ने काम गर्न सकेका छैनौँ ।
पहिला प्रविधिको प्रचुरता थिएन । र, हाम्रा लोकसंस्कृति पाठका रुपमा संकलित भएर आए । तर, अब प्रविधिको यस्तो विकसित र सर्वसुलभ उपलब्धतालाई खै हामीले सदुपयोग गर्न सकेको ? प्राज्ञिक कर्ममा प्रविधिको प्रयोग कहिले प्रचुर बनाउने ?
संस्कृति मन्त्रालय अन्तर्गतको एकेडेमीको डबलीलाई कंक्रिटीकरण गरेको छ । स्वागतद्वार पनि कंक्रिटको, रुख र चौतारी पनि कंक्रिटकै । यस्तो लाग्छ यो देशमा सिमेन्टको साम्राज्य छ ।
हराउँदै गएका पाका पुस्ताका बोलीवचन, क्रियाकलाप, नाचगान, नाटक, हाँसखेल, रीतिरिवाजलाई खै सरकारका विभिन्न संयन्त्रले श्रव्यदृश्यमा संरक्षण गरेको ? नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाले किताबै मात्र निकालिरहने कि प्रविधिको प्रयोग गर्दै फिल्डमा पुगेर खिचेर पनि ल्याउने ? आज हामीले ढिलो गर्दा कति संस्कृति कसरी गाइन्थे, कसरी बोलिन्थे, कसरी नाचिन्थे भावी पुस्ताले कसरी हेर्ने ? कसरी अनुसन्धान, विश्लेषण गर्ने ? युट्युबमा रहेको ‘हेर्ने कथा’ले मात्र हाम्रो संस्कृति र प्रकृतिको सुन्दरतालाई थेग्न सक्छ ?
गिरीश गिरीले लेखेको पुस्तक ‘सत्यमोहन’मा जोशीले संस्कृतिको चिन्ता र चिन्तन पेस गरेका छन् । यही वैशाखमा १०३ वर्ष पुग्न लागेका सत्यमोहन आउने साल राणाशासन जत्ति नै १०४ वर्ष पुग्नेछन् । उनलाई दीर्घायु, सुस्वास्थ्यको कामना छ ।
जुन देशमा शताब्दीपार सम्पदा सत्यमोहन जोशी छन्, उनको देशमा संस्कृतिको यो बेहाल हेरिनसक्नु छ । संस्कृति मन्त्रालय छ । तीनवटा त प्रज्ञा–प्रतिष्ठान नै छन् । राष्ट्रिय नाचघर छ । प्रदेश प्रदेशमा एकेडेमी खुलेका छन्, खुल्दै छन् । भाषा आयोग छ । पर्यटन बोर्ड छ । चलचित्र विकास बोर्ड छ । गैरसरकारी तहमा पनि धेरै संघसंस्था छन् । तर, कला–संस्कृति सन्तोषजनक अवस्थामा छैन ।
विश्वसम्पदा सूचीमा सूचीकृत हाम्रा सम्पदाले चेतावनी पाइरहेका छन् । जताततै कंक्रिटका पर्खाल, महल, टावर, मैदान बढेका छन् । संस्कृति मन्त्रालय अन्तर्गतको एकेडेमीको डबलीलाई कंक्रिटीकरण गरेको छ । स्वागतद्वार पनि कंक्रिटको, रुख र चौतारी पनि कंक्रिटकै । यस्तो लाग्छ यो देशमा सिमेन्टको साम्राज्य छ ।
यहाँ भ्युटावरको आतंक छ । हाम्रा अग्ला अग्ला प्राकृतिक पहाड र हिमालले झनै अग्लिन काँधमा कंक्रिटका भ्युटावर बोकेर उभिइरहनुपरेको छ । संस्कृति, कला जोगाउने संग्रहालय छैनन् । पुस्तककालय छैनन् । अनुसन्धान केन्द्र छैनन् । देशैभर जहाँ गए पनि त्यहाँको लोकपरिकार चाख्न पाइँदैन, लोकपहिरन हेर्न पाइँदैन, लोकसंस्कृतिमा रम्न पाइँदैन ।
हाम्रा नाटकहरुमा नेपालित्व कति छ, तिनले बहुल जाति, भाषा, धर्म, संस्कृतिलाई कसरी देखाइरहेका छन् वा देखाइरहेकै छैनन्, अध्ययनको विषय हो ।
संस्कृतिका सबै पाटो उस्तै रुपमा जोगिरहन्छन्, जोगिनैपर्छ भन्ने होइन तर तिनलाई संरक्षण, संवद्र्धन गर्नैपर्छ । पर्यटन क्षेत्रलाई पनि हामीले राष्ट्रिय आयको क्षेत्र बनाउने हो भने हामी अरु जस्तो बनेर हैन, आफू आफैँ जस्तो रहनुपर्छ ।
थियटरहरु बढेका छन् । कौसी थियटरमा ‘उलार’, मण्डला थियटरमा ‘पल्पसा क्याफे’ नाटक चलिरहेका छन् । थियटर मलले अर्काे उपन्यास ‘शिरीषको फूल’ देखायो । शिल्पी थियटरले आफ्ना नाटक, नाट्यप्रशिक्षणलाई उपत्यकाबाहिर पनि फिँजाइरहेको छ । पुरानो घरमा ‘खत’ नाटक चलिरहेको छ । कुञ्ज थियटरमा ‘स्कुल’ चलिरहेछ । सर्वनाम थियटर पनि सक्रिय छ । यसरी निजी क्षेत्रले नाटकमा केही गरिहरँदा राष्ट्रिय नाचघर, संगीत नाट्य एकेडेमीहरू दीर्घ निद्रामा छन् । हाम्रा नाटकहरुमा नेपालित्व कति छ, तिनले बहुल जाति, भाषा, धर्म, संस्कृतिलाई कसरी देखाइरहेका छन् वा देखाइरहेकै छैनन्, अध्ययनको विषय हो ।
राज्यले कलाका क्षेत्रमा संरचना बनाउन जति जरुरी छ, ती क्षेत्रमा योग्य र क्षमतावान् सर्जकलाई नेतत्वमा पुर्याउनु उति नै जरुरी छ । सरकारी संस्थाहरू भर्ती केन्द्र, भागबण्डा केन्द्र बनिरहने अनि निजी क्षेत्र आफ्नै संघर्षमा बामे सरिहनुपर्ने, निजी क्षेत्रका राम्रा नाट्यनिर्देशक अर्थाभावमै आफ्नो सीपलाई खिया लगाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।
अहिले देश चुनावको मुखमा छ । स्थानीय सरकार भनेको शक्तिशाली संरचना हो । ती सरकार राजनीतिक, आर्थिक, न्यायिक रुपमा कसरी चल्छन्, यो विषय जति महत्वपूर्ण छ तिनको कलाचेत, संस्कृतिचेत पनि उत्तिकै महत्वपूर्ण छ । महोत्सवका नाममा बजारिया, सस्तोमस्तो बिकाउ कलालाई प्रवद्र्धन गर्नु, तिनमा सरकारी बजेट दुरुपयोग गर्नु भ्रष्टाचार हो ।
राज्यले कला, साहित्य, संगीत, संस्कृति, नाटक, सिनेमालाई कसरी लिन्छ भन्ने विषयले त्यो राज्यको सफ्टवेयर कति सुरक्षित, कति मौलिक, कति बहुल र कति सार्थक छ भन्ने संकेत गर्छ । चिल्ला सडक, अग्ला महल विकासका जस्ता विम्ब हुन् र ती चिल्ला सडकमा देखाइने नाटक, ती अग्ला महलभित्रका मौलिक संस्कृतियुक्त कला झनै महत्वपूर्ण हुन् । चुनावको मुखमा हार्डवेयर संवृद्धिसँगै सफ्टवेयर समृद्धि पनि जोडियोस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया