सम्पादकीय

सम्पादकीय

उम्मेदवारलाई सोधिनैपर्ने यी पन्ध्र प्रश्न

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १७:११ बजे

देश स्थानीय निर्वाचनमा होमिएको छ । संघीयताअन्तर्गतको यो दोस्रो स्थानीय चुनाव हो । पहिलो चुनावमा जति कौतूहल र रोमाञ्चकता थियो, त्यो यो चुनावमा देखिएको छैन । स्वाभाविक हो, कुनै पनि विषय पुरानो हुँदै जाँदा त्यसप्रतिको चासो कम हुन्छ । चासो कम हुनुको अर्थ प्रश्नहरू कम हुनु होइन । पहिलो कार्यकालको निर्मम समीक्षा नगरी मतदाता अघि बढ्नु हुँदैन । 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको लेखको विषय छ, न मतदाता सुध्रिनेछन्, न प्रतिनिधि । उनको विचार एउटा तीतो सत्य बनेर हामीमाझ उभिएको छ । यो आफैंमा निराशाजनक यथार्थ हो ।


प्रश्न नभएका नागरिक हुनु भनेको शासकलाई धेरै सजिलो समय हो । नागरिक दल–दलमा बाँडिएका छन् । यो स्वाभाविक नै छ । तर, आफ्ना सबै उम्मेदवारलाई सँगै उभ्याएर प्रश्न सोध्ने, आत्मसमीक्षा गर्न लगाउन गरिएको खासै देखिएन । किन गाउँगाउँमा दलीय तटस्थ, स्वतन्त्र क्लब, अनौपचारिक समूह कमजोर भए ? 
किन कोही मतदाता नेताहरूलाई हाकाहाकी प्रश्न सोध्न डराइरहेको छ ? के त्रासको अवस्था लोकतान्त्रिक मुलुकमा सह्य छ ? छैन । वातावरण यस्तो छ हामीलाई थाहा छ । तर, किन यस्तो भइरहेछ भनेर घोत्लिनु झनै जरुरी छ । 

प्रश्नको वाहक हुनुपर्ने सञ्चार जगत् दलीय दलदलमा फस्दा पनि प्रश्न हराएका हुन सक्छन् । नागरिक समाज दलदलमा फस्दा पनि प्रश्न हराएका हुन सक्छन् । आम नागरिकका लागि प्रश्नको सूची दिनु त आवश्यक छैन तर प्रश्नका लागि उत्प्रेरित गर्नु सबैको कर्तव्य हो । 

उम्मेदवारहरूलाई के–के प्रश्न सोध्ने त ? 

राजधानी सहर अहिले फोहोरमय भएको छ । चोकचोकमा फोहोरको डंगुर छ । उम्मेदवारहरूको नारा छ— स्वच्छ, सफा, सुन्दर सहर । मतदाताले सोध्नुपर्यो— फोहोर किन व्यवस्थापन नगरेको ? फोहोर उठाउन पनि चुनाव नै चाहिने, यो कस्तो संयन्त्र हो तपाईंहरूको ?

देश समाजवादउन्मुख हो । सार्वजनिक शिक्षा र स्वास्थ्य किन यति भद्रगोल, कमजोर ? किन आफ्नो पालिका–वडाका सार्वजनिक विद्यालयलाई प्रभावकारी नबनाउनुभएको ? तपाईं शिक्षाको व्यापारी बनेर, यसमै नाफा खोज्ने तपाईं कसरी समाजवादउन्मुख राज्यको प्रतिनिधि बन्नुहुन्छ ?

गाउँमा स्वास्थ्य सेवा सुलभ छैन । सानोभन्दा सानो उपचारका लागि जिल्ला सदरमुकाम, काठमाडौँ, विदेश जानुपर्ने अवस्था छ । सानो बिरामी, रोगमा पनि ज्यान गुमाउनु परेको छ । निःशुल्क स्वास्थ्य सेवा लेखेर स्वास्थ्यमा किन धन बगाउन बाध्य पारेको ? 

सार्वजनिक यातायातलाई किन व्यवस्थित, सुरक्षित नगरेको ? सडक दुर्घटनामा अनाहकमा कतिको ज्यान जान्छ, थाह छ ?

हरियाली, वातावरण, पर्यावरण किन मासेको ? 

खुला ठाउँ किन मासेको ? बालबच्चा, वृद्धवृद्धा, बिरामी, युवा सबैलाई चाहिने उद्यान, मैदान, बगैंचा, चौतारी खै ? खुला क्षेत्र कति बढाउनुभयो ? 

आफ्नो पालिकालाई अपांगतामैत्री किन बनाउनुभएन ?

जातीय, लैंगिक हिंसाका घटना बढिरहँदा तपाईं किन पीडकको पक्षमा उभिनुभयो ? 

गाउँ–ठाउँको मौलिक संस्कृति, कला संवद्र्धन गर्न किन कदम चाल्नुभएन ? सस्तोमस्तो, अश्लील, उरन्ठेउला कलाकार ल्याएर बजेट खर्च गरेर किन महोत्सव गर्नुभयो ? 

आफ्नो पालिकामा पुस्तकालय र वाचनालय कति वटा थप्नुभयो ? भएकालाई कति बलियो बनाउनुभयो ? बौद्धिक आलोचनात्मक, सृजनशील अभ्यासका लागि कतिवटा इँटा थप्नुभयो ?

पोषण, सरसफाइमा कति काम भयो ? बाल–मातृ मृत्युदर कति कम गर्नुभयो ? 

खोलानाला, तालपोखरीमा ढल नमिसाउने, फोहोर नमिसाउने प्रबन्ध गर्नुभयो ? 

आर्थिक, सामाजिक संरचनामा पिँधमा पारिएकाका लागि के प्याकेज ल्याउनुभयो ? 

जग्गा बाँझो नराख्ने नीति के ल्याउनुभयो ? 

कृषकका लागि मल, सिँचाइ, बिउ, भण्डारणका लागि के व्यवस्था गर्नुभयो ?

प्रश्न यी र यस्तै हुनुपर्छ भन्ने छैन । तर, प्रश्नै नसोधी मतदान गर्नु हुँदैन । 
 


Author

थप समाचार
x