सम्पादकीय
मुद्रा अवमूल्यनको लाभ यसरी उठाऔं
अमेरिकी डलरसँग भारतीय मुद्राको तीव्र अवमूल्यन भइरहँदा भारुसँगको स्थिर विनिमय दरका कारण नेपाल प्रत्यक्ष प्रभावित भएको छ । चीनमा लकडाउनले विश्व अर्थतन्त्रमा अपेक्षित वृद्धिदर हासिल हुनेमा आशंका, कच्चा तेलको मूल्यमा वृद्धि र भारतको रिजर्व बैंक अफ इन्डियाले कसिलो मौद्रिक उपाय अबलम्बन गरेपछि त्यसको प्रभाव भारतीय सेयर बजारमा परेको छ । भारतीय सेयर बजारका बाह्य संस्थागत लगानीकर्ताले सेयर बेचेर पैसा बाहिर लैजान थालेपछि भारुको तुलनामा डलर बलियो बनेको हो । सोमबार डलरसँग भारुको विनिमयदर ७७.४६ भारु पुगेको छ, जुन भारतीय मुद्राको इतिहासकै उच्च अवमूल्यन हो ।
उच्च शोधनान्तर घाटा व्यहोरिरहेको नेपालका लागि डलर बलियो हुँदा अझै बढी घाटा व्यहोर्नुपर्ने हुन्छ भने मुल्यवृद्धि अझै उच्च हुनेछ । यद्यपि नेपाली अर्थतन्त्रका लागि मुद्रा अवमूल्यन हुँदाका केही फाइदा भने अवश्य हुनेछन् । निर्यात बढाउन यो अत्यन्त महत्वपूर्ण समय हो । निर्यातबाट प्राप्त हुने डलरको सटहीमा धेरै नेपाली रुपैयाँ प्राप्त हुन्छ, तर स्थानीय कच्चा वस्तु र श्रमको ज्याला त्यो तुलनामा बढीसकेको हुँदैन । यसले गर्दा निर्यातबाट प्राप्त हुने विदेशी मुद्राको लाभ उच्च हुन्छ । उदाहरणका लागि हिजो एक डलरको निर्यात गर्दा नेपालमा ११० रुपैयाँ मात्र हुन्थ्यो भने अब नेपाली १२४ रुपैयाँ हुन्छ । यसले निर्यातकर्तालाई अतिरिक्त लाभ पनि उत्पादनमा लगाएर निर्यात बढाउन प्रोत्साहन प्राप्त हुन्छ ।
मुद्रा अवमूल्यन भएको बेला पर्यटकले थोरै डलरमा पनि नेपालमा धेरै वस्तु उपभोग गर्न, पर्यटकीय सेवा लिन सक्छन् । यस्तो समयमा धेरै पर्यटक आकर्षण गर्नुपर्छ । साथै विदेशी मुद्रामा प्राप्त रेमिट्यान्स पनि नेपाली रुपैयाँमा धेरै देखिन्छ । यसले नेपाली रुपैयाँमा रेमिट्यान्स बढेको देखाउन मद्दत गर्नेछ ।
नेपाली रुपैयाँ अवमूल्यन हुँदा सरकारको राजस्व पनि धेरै देखिन्छ । खासगरी भन्सारमा आयातीत वस्तुको बिलमा प्रतिशतमा भन्सार महशुल निर्धारण हुने हुँदा त्यसलाई नेपाली रुपैयाँमा रुपान्तर गर्दा धेरै देखिन्छ । यसले सरकारको भन्सार राजस्व बढी देखाउँछ ।
त्यस्तै, विदेशी लगानीका कम्पनीले नाफा फिर्ता लैजाँदा कम विदेशी मुद्रा बाहिरिन्छ । विदेशी लगानीकता कम्पनीले दिने वस्तु र सेवाको मूल्य आन्तरिक बजारमा वृद्धि भएको हुँदैन । उदाहरणका लागि कुनै विदेशी लगानीको कम्पनीले २ अर्ब रुपैयाँ नाफा फिर्ता लैजाने भयो भने नेपाली रुपैयाँ डलरसँग मजबुत रहेको अवस्थामा धेरै विदेशी मुद्रा सटही दिनुपर्छ तर स्थानीय मुद्रा अवमूल्यन हुँदा कुनै कम्पनीले नाफालाई विदेशी मुद्रामा रुपान्तरण गर्दा विदेशी मुद्रामा कम हुन्छ ।
यद्यपि आयातमुखी नेपालजस्तो अर्थतन्त्रमा मुद्रा अवमूल्यन हुँदा प्रत्युत्पादक असर पनि हुन्छ । देशले तिर्नुपर्ने विदेशी ऋणको साँवा र ब्याजमा धेरै रकम तिर्नुपर्छ । नेपाल विद्युत् प्राधिकरणले विदेशी मुद्रामा गरेको पीपीएबापत् रकम तिर्नका लागि उसको आम्दानीबाट बढी खर्च गर्नुपर्छ । अन्तर्राष्ट्रिय हवाई उडानका टिकटका लागि नेपाली रुपैयाँ धेरै खर्च गर्नुपर्छ । अहिले नै पनि विदेशी मुद्राको कारोबजारी भइरहेको अवस्थामा विदेशी मुद्रा महँगिदा यसको कालोबजारी अझै बढ्न सक्छ ।
नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्र स्थायित्वको दबाब परिरहेका बेला नेपाल राष्ट्र बैंकले आयात लगायत अनुत्पादक क्षेत्रमा जाने बैंकको ऋणमा ब्याजदर महँगो हुनेगरी कर्जाको जोखिम भार बढाएको छ । यसको उद्देश्य उपभोग महँगो होस् र आयात निरुत्साहीत भएर विदेशी मुद्रा सञ्चितिमाथिको दबाब तथा शोधनान्तर घाटा कम होस् भन्ने उद्देश्य रहेको देखिन्छ । कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाउने संकेत देखिएको छ, यस्तो अवस्थामा मुद्रा अवमूल्यन पनि नेपाली अर्थतन्त्रका जोखिम कम गर्न सहयोगी हुने देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया