सम्पादकीय
विवेकपूर्ण मतदान, विवेकपूर्ण खबरदारी
स्थानीय सरकारका लागि भएको निर्वाचन अब परिणाममा देखिँदै छ । मतगणनाको अन्तिम परिणाम आउने क्रम जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै वडाबाट आफ्नो पार्टी जिताउन सकेनन् । काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले तथा कांग्रेस-माओवादी गठबन्धन उम्मेदवारलाई आच्छुआच्छु पारेका छन् । अनि सबैभन्दा सुखद त के छ भने जुम्लाको कनकासुन्दरी-८ मा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । यी सबै जात व्यवस्थाको जाँतोमा पिसिएका दलित समुदायका हुन् ।
यसपालि स्वतन्त्र/बागीहरू पनि देशैभर फाट्टफुट्ट जितमा आइरहेका छन् । डडेल्धुरामा नरेश भण्डारी, रुपन्देहीमा नरेन्द्र बस्नेत, रुकुममा सुन्दर ओली, उदयपुरमा इन्द्रबहादुर राई र गुरुमणि कुमाई, काभ्रेपलाञ्चोकमा प्रेमबहादुर तामाङ, ललितपुरमा निर्मल तण्डुकार, महोत्तरीमा सोगारथ यादव, काठमाडौँमा आकाश धिताल, जुम्लामा धनबहादुर कामी, रोल्पामा नेत्रबहादुर गिरीले जितिसकेका छन् ।
काठमाडौँमा बालेन शाहले अग्रता लिएका छन् । यस्तै धनगढीमा गोपाल हमाल, धनुषामा मनोज साह, बर्दिबासमा प्रह्लाद क्षेत्रीको प्रारम्भिक अग्रता देखिएको छ ।
देश दलीय भागबन्डाले आक्रान्त छ । माथिदेखि तलसम्म नागरिक दल-दलमा छन् । यस्तोमा स्वतन्त्र/बागी उम्मेदवार प्रतिस्पर्धामा आउनु पनि अनौठो बनेको छ । तर, यसपालि पहिलेभन्दा धेरै स्वतन्त्रले जित्ने देखिएको छ ।
मत परिणामको यो लहरले पार्टी नेताहरूका रवैयाप्रति आम मतदाताको तीव्र आक्रोश झल्काउँछ । पार्टीहरूले स्थानीय सिफारिस लत्याउने, जता पायो त्यतै गठबन्धन गर्ने, गठबन्धनको नैतिक र तार्किक आवश्यकता स्पष्ट पार्न नसक्न यस्तोमा बागीहरू उठे । स्वतन्त्रहरू उठे ।
अघिल्लो चुनावमा विवेकशील र साझा पार्टीले काठमाडौँमा राम्रै मत ल्याएका थिए । तर, विचारभन्दा माथि देश भन्ने अवधारणा पनि जनमतबाट पराजित भयो । स्थानीय चुनावमा स्थानीय निर्णय अस्वीकार गर्ने, लत्याउनेहरूले यसपालि पाठ सिकेको हुनुपर्छ । परम्परागत दलहरू नसुध्रिए स्वतन्त्र उम्मेदवार अर्को चुनावमा पनि बढ्न सक्छन् ।
संसदीय चुनावमा पनि सांसदहरू बहुमत त राम्रै आएका हुन्छन्, तर सांसदले राम्रा पात्र जिताउँदैनन् अनि प्रधानमन्त्री उही आउँछन् । पार्टी महाधिवेशनमा पनि नयाँभन्दा उही पात्र नेतृत्वमा जित्छन् । आम मतदानमा नयाँपन देखिन्छ तर सांसदको मतदान, कार्यकताको मतदानमा नयाँपन खासै देखिएको छैन ।
स्वतन्त्र/बागीहरूले जिते भनेर धेरै खुसी हुने अवस्था पनि छैन । नेपालको अहिलेसम्मको अनुभवले भन्छ, यहाँ हिरोहरू जन्मिन्छन् तर टिक्दैनन् । हरेक क्षेत्रमा केहीबेर हल्लाखल्ला मच्चाउने अनि थकित हुने देखिएको छ ।
राजनीतिमा दलको, संगठनको विकल्प छैन । तर, दल धेरै बिग्रिएमा, ती नातावाद र कृपावादमा चुर्लुम्म डुब्दा आम नागरिकले चेतावनी स्वरुप विकल्प खोज्नु स्वाभाविक र आवश्यक हुन्छ । तर, अब जहाँ जहाँ स्वतन्त्र/बागीले जित्छन् । तिनलाई काम गरेर देखाउन भने ठूलै चुनौती छ । कर्मचारीतन्त्र नयाँलाई स्वीकार्न नसक्ने गरी पुरानै तालमा रहन्छ । ती विभिन्न दलका फेर समातेर बसेका हुन्छन् । कोही पनि मानिस सर्वगुणसम्पन्न हुँदैन । कहाँनेर खराबी छ भनेर तिललाई पहाड बनाउन पनि ती लागिपरेका हुन्छन् । नयाँ नेतालाई पनि शासकीय अनुभव नभएको र ती जितेपछि आसेपासेले घेरिने हुँदा गुमराहमा, उत्तेजनामा पुग्छन् ।
शक्ति अनौठो चिज हो जसले सत्यलाई बिस्तारै छोप्दै जान्छ । सत्तासीनको स्वाभिमानलाई पनि मतदाता बिस्तारै अभिमान पनि देख्न थाल्छन् । यस्तोमा विवेकपूर्ण मतदान जति जरुरी हुन्छ, विवेकपूर्ण खबरदारी उत्तिकै जरुरी ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया