बाइडन–ह्यारिस विजयको सन्देश
विश्वकै शक्तिशाली मुलुक अमेरिकाको नेतृत्वमा उदारवादी छवि बनाएका डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जो बाइडन विजयी भएका छन् । उनको विजयसँगै विश्वव्यापीकरण र अमेरिकी लोकतन्त्रमा छाएको ‘कालो छायाँ’ हटेको छ । ऐतिहासिक जनउभार र मतदानसहित अमेरिकी जनताले राष्ट्रपतिमा बाइडन र उपराष्ट्रपतिमा दक्षिण एसियाली मूलकी दोस्रो पुस्ताकी आप्रवासी कमला ह्यारिसलाई विजय गराएका छन् । अमेरिकी जनताले पुनः ‘अमेरिकी सपना’ (द अमेरिकन ड्रिम) लाई ब्युँताएका छन् ।
यो विजयलाई लोकप्रियतावाद र अतिवादको अन्त्यका रूपमा पनि हेरिएको छ । अमेरिकी नागरिकले नोभेम्बर ३ मा नै आगामी चार वर्ष कसलाई नेतृत्व दिने भन्ने विषय टुंगो लगाइसकेका थिए । सर्वेक्षणदेखि नै बाइडनको पल्ला भारी हुने अपेक्षा गरिएको थियो । सन् २०१६ मा निर्वाचित भएदेखि नै अमेरिकी मूल्यमान्यता, लोकतन्त्र र लोकतान्त्रिक संस्कारको अपमान गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिमसम्म पनि आफ्नो पराजय स्वीकार गर्न सकेनन् र सत्ता नछाड्ने अडान दोहो-याइरहे ।
यो लोकतन्त्रको उपहास हो । ट्रम्पले लोकतन्त्रको हिमायती र पक्षपोषक अमेरिकी मूल्यमान्यतामा गरेको प्रहारले अमेरिकाको छविमा आँच आएको छ । जसलाई उकास्न बाइडनलाई सहज भने छैन । यद्यपि विजयपश्चात् उनले आफू सिंगो अमेरिकाको राष्ट्रपति भएको र सबै अमेरिकीलाई एकताबद्ध गर्ने बताएका छन् । ‘वासिङ्गटन कन्सेन्सस’ अर्थात् उदार लोकतन्त्रको अमेरिकी जगमा विश्व अर्थतन्त्र चलिरहेको छ । तर, अन्य उदाउँदा शक्तिहरूले त्यसलाई टक्कर दिइरहेको अवस्था मात्र छैन ।
पश्चिमा लोकतान्त्रिक धारलाई मात्र लोकतन्त्र मान्न सकिन्न भनिरहेको अवस्थामा पुनः अमेरिकामा उदार लोकतन्त्र पक्षधरको विजयीले केही आशा जगाएको छ । अमेरिकी राष्ट्रपतिले लिने निर्णयले नै विश्वको अर्थतन्त्रमा बदलाव देखिने हुनाले पनि यो निर्वाचनबारे चासो बढेको हो ।
बाइडनले लोकतान्त्रिक व्यक्तिहरू लोकतन्त्रमा विश्वास मात्र गर्दैनन्, धैर्य पनि गर्न सक्छन् भन्दै शालीनता देखाएका छन् ।
संसारमा नै अलोकतान्त्रिक र तानाशाहहरू हाबी भइरहेको अवस्थामा लोकतान्त्रिक धाराको विजयीले अमेरिकालाई मात्र होइन, विश्वलाई एउटा आधार दिएको छ । डेमोक्र्याटिक उम्मेदवार बाइडन विजेता हुँदासमेत स्वीकार गर्न नसक्नुले अतिवादको भूमरीमा रहेकाहरूको चरित्र उदांगो भएको छ । शक्तिमा अडिरहनुपर्ने, सत्ता छोड्न नहुने शैलीबारे विश्वमा पुनः एक पटक बहस भइरहेको छ । रुसमा जसरी पनि पुटिन, चीनमा अन्य नेता नै नभएझैँ फेरि पनि सि चिनफिङ नै तय हुनुपर्ने जस्ता नियम–कानुनको बहस सतहमा आएको छ । टर्कीमा होस् या भेनेजुयला, या त उत्तर कोरिया, यसरी शक्तिमा अडिग रहनुपर्ने सोच अमेरिकामा पनि नपलाएको होइन ।
त्यही सोचले त्यहाँको समाज के भयो भन्नेतर्फ पनि जानुपर्छ । उदार अर्थतन्त्र अँगालेर नै चीन अघि बढ्यो तर अहिले खुम्च्याउन खोजिँदै छ । अमेरिका पनि उदार अर्थतन्त्रका कारण माथि उठेको थियो तर अहिले पनि समस्या छँदै नै छ । विश्व कोभिड–१९ को महामारीमा छ । तर, अमेरिकी जनताले निकै उत्साहपूर्वक आफ्नो राष्ट्रपति चुने । जनमतलाई बेवास्ता गर्दै हार अस्वीकार नगरेका ट्रम्प अदालतको ढोका घचघच्याउने सुुरमा छन् । यसले लोकतन्त्रको मुखिया मुलुकलाई नै धक्का पु-याउनेछ । उसो त उनको कार्यकालमा अमेरिका निकै खस्केको छ ।
हुन पनि अमेरिकामा सन् १९९० पछि एक कार्यकालमा खुम्चिने राष्ट्रपतिमा ट्रम्प दर्ज हुनुले पनि अमेरिकी जनताको विवेकलाई सलाम गर्नैपर्छ । उनकै कारण पनि विश्वमा अलोतान्त्रिक छवि बनाएका नेताहरू हाबी हुँदै गएका छन् । साना तर लोकतन्त्रको पक्षधर मुलुक झन् संकटमा पर्दै गएका छन् । उदाउँदो शक्ति रहेको एसियामा समेत अमेरिकी पछिल्लो नीतिले असहजता ल्याएको थियो । त्यसमा परिवर्तन आएको हेर्न सबै आतुर छन् ।
अमेरिकाको निर्वाचनले विश्वको गति कता जाने तय हुन्छ । कतिपय निर्णय त अमेरिकीको स्थायी संयन्त्रमार्फत नै हुने भए पनि नेतृत्वले लिने नीति, बोली र व्यवहारले तय गर्ने हुनाले बाइडन आउँदा धेरै परिवर्तन हुने अपेक्षा छ । बाइडनको काँधमा नेतृत्व पुग्दा उदाउँदो शक्ति चीनसँगको सहकार्य बढ्ने धारणा छ । तर, चीनसँग ट्रम्पले किन सहकार्य गरेनन् भन्ने विषय बुझ्न जरुरी छ । ‘रसिया फ्याक्टर’को एकोहोरो ढंगले हेरिएको र उनको बोलीको कारण पनि यस्तो अवस्था आएको धारणा छ ।
हुनत यही कारण अमेरिकामा अतिवादी र लोकतन्त्रवादीबीच भिडन्त नभएका होइनन् । तर बाइडनले लोकतान्त्रिक व्यक्तिहरू लोकतन्त्रमा विश्वास मात्र गर्दैनन्, धैर्य पनि गर्न सक्छन् भन्दै शालीनता देखाएका छन् । उनी तीन दशकपछि पुनः राष्ट्रपति अभियानमा होमिएर निर्वाचिन भएका हुन् । बाइडनले आफू सबै अमेरिकीको राष्ट्रपति हुने बताएका छन् । उनले आफ्नो विजयीपछि सबैलाई धन्यवाद दिँदै ट्विटेका छन् र भने, ‘म सबै अमेरिकीप्रति धन्य छु । मलाई भोट दिनुहोस् या नदिनुहोस् म सबैको साझा राष्ट्रपति हुने प्रतिज्ञा गर्नेछु ।’ अनुभवी राजनीतिज्ञ र कूटनीतिमा समेत निकै दख्खल राख्ने नेताको छवि बनाएका बाइडन अनि पहिलो अश्वेत महिला उपराष्ट्रपति कमलालगायत सम्पूर्ण अमेरिकालाई नै शुभकामना !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया