शिक्षा

पठनपाठनको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन

सुभाष कर्ण |
मंसिर २७, २०७९ मंगलबार १९:२१ बजे

जनकपुरधाम- पठनपाठनको माग गर्दै धनुषाको नगराइन नगरपालिकास्थित विद्यार्थीहरू प्रदर्शनमा उत्रेका छन् ।

नगराइन नगरपालिकामा रहेको राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यार्थीहरूले अवरुद्ध पठनपाठन सुचारु हुनुपर्ने माग गर्दै जनकपुर जटही सडक खण्ड अवरोध गरेर प्रदर्शन गरेका हुन् ।


नगराइन नगरपालिकाको आन्तरिक विवादका कारणले शिक्षकहरूलाई चालू आर्थिक वर्ष २०७९/०८० श्रावण महिनादेखि नै तलब भत्ता नपाएपछि शिक्षकहरू पठनपाठन अवरुद्ध गरी १५ दिनदेखि धर्नामा बसेका छन् । शिक्षकहरू नै धर्नामा बसेपछि राजेश्वर निधि माध्यमिक विद्यालयसहित नगरभित्रका करिब आधा दर्जन विद्यालयको पठनपाठन अवरुद्ध छ ।

पठनपाठन अवरुद्ध भएपछि मंगलबार राजेश्वर निधि माविका विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन् । कक्षा १ देखि १२ सम्म सञ्चालन रहेको सो विद्यालयका विद्यार्थीहरूले यथाशिघ्र पठनपाठन सञ्चालन गर्नुपर्ने माग गर्दै नगर प्रमुख विनय यादव र उपप्रमुख राधादेवी यादवविरुद्ध नाराबाजी समेत गरे ।

ती विद्यार्थीहरूले नगरपालिकाको बजेट पास हुन नदिइरहेकाे भन्दै उपप्रमुख यादवको विरुद्धमा चर्को नाराबाजी गर्दै घरमा पुगेर केही कुर्सीहरू पनि तोडफोड गरेका छन् । आजदेखि हुने भनिएको अर्धवार्षिक परीक्षाको कार्यक्रम पनि अवरुद्ध भएपछि विद्यार्थीहरू झन् आक्रोशित भई उपप्रमुखविरुद्ध प्रदर्शनमा उत्रेर तोडफोड गर्न बाध्य हुनु परेको विद्यार्थी श्याम यादवले बताएका छन् । उनले भने, 'हामीहरूको माग पूरा नभए थप कडा संघर्षमा जानेछौँ ।'

नगराइन नगरपालिका कार्यपालिका बोर्डमा बहुमत नभएकाले असार महिनामै परिषदबाट बजेट पारित हुनुपर्नेमा ८ महिना बित्न लाग्दा पनि पारित हुन सकेको छैन । नगर प्रमुख र उपप्रमुखबीचको आन्तरिक विवादका कारण बहुमत नपुगेकाे हाे । कार्यपालिका बोर्डमा नगर प्रमुख यादवसँग आफूसहित एक वडाध्यक्ष गरी दुई मत मात्रै छ भने उपप्रमुखसँग ८ वटा मत र एउटा लोसपाको रहेको छ ।

बजेट पारित हुन नसक्दा नगरपालिका अन्तर्गत कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरूको तलब भत्ता ५ महिनादेखि बाँकी रहेको छ । तलब भत्ता बाँकी रहेसँगै नगरको विकास निर्माणका कार्यहरू समेत महिनौंदेखि अवरुद्ध छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x