सरोकारवालाहरूको माग
हामीलाई नीति होइन नियत स्पष्ट चाहियो
प्रश्नैप्रश्नको ओइरोमा उत्तरको जवाफदेहिता कसले बहन गर्ने ?
काठमाडौँ– सरोकारवालाहरूको प्रश्नैप्रश्नमा अल्झिएको शिक्षा ऐन कहिले जवाफ लिएर आउँछ भनेर सम्भवतः सबै अनुत्तरीत देखिन्छन् । शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९लाई नै पटकपटक संशोधन गर्दै शिक्षाका लागि हरेक तह तप्काका सरोकारवालाहरू क्रमशः उही ऐन र नियमावलीका दफा र नियमहरू हेर्न बाध्य देखिन्छन् ।
सरोकारवालाहरूसँग प्रश्नैप्रश्न छ, यद्यपी उत्तर को सँग छ ? कसले दिन्छ ? सबै मौन देखिन्छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आइतबार बानेश्वरस्थित अल्फा हाउसमा आयोजना गरेको संघीय शिक्षा ऐन कस्तो ? विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले संघीय शिक्षा ऐन सकेसम्म छिटो सार्वजनिक गरियोस् भनेर सबै एकजुट भएर लागिपरेको बताएका छन् ।
उक्त कार्यक्रममा संघीय शिक्षा ऐन सार्वजनिक गर्नका लागि विद्यार्थी संगठनहरू एउटै बाटोमा रहेको कुरा सबै संघसंगठनले स्वीकार गरे ।
अखिल क्रान्तिकारीकी पञ्चा सिंह, अनेरास्ववियुका सुदेश पराजुली, विप्लवका प्रकाश शाही, समाजवादी विद्यार्थी संगठनकी रोश्ना यादव, नेपाल विद्यार्थी संघका दुजाङ शेर्पा, र अनेरास्ववियु शिक्षा विभागका स्थायी कमिटि सदस्य गोविन्द थपलीया यिनीहरू सबैको संघीय शिक्षा ऐन तत्काल ल्याउनुपर्छ भन्नेमा एकमत थियो ।
संघीय शिक्षा ऐन कति आवश्यक र कति झमेला विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेका शिक्षाविद् डा. विष्णु कार्कीले जीवनको ३५ वर्ष शिक्षामा लगानी गरेता पनि चाहिएको परिवर्तन हुन नसकेको गुनासो गरे । आफूले पढाउँदा १० वर्ष अगाडिको पढाई पढाएको र उक्त पढाई आगामी दश वर्षमा कत्तिको उपयोगी हुन्छ भनेर आफैँमा असन्तुष्ट भएकाे उनी बताउँछन् ।
काठमाडौँ महानगरले छात्रवृत्तिका विषयमा हालसालै गरेका कामकाे प्रशंसा गर्दै डा. कार्कीले भने, 'आँट र असल नियत भएमा सबै काम गर्न सकिन्छ ।'
उनले अगाडी भने, ‘संघीय शिक्षा ऐन हाम्रा लागि बन्ने ऐन हामीलाई नै थाहा नहुने ? ऐनले सहजता दिलाउनुका साथै बाँध्ने काम पनि गर्न सक्छ । हामी खुला हुन चाहान्छौँ । हामीलाई नीति होइन नियत स्पष्ट चाहिन्छ ।’ अबको बाटो शिक्षालाई समयसापेक्ष बनाउन डा. कार्कीले सरोकारवालाहरूको ध्यानाकर्षण गराए ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएमात्रै सडकमा देखिने विद्यार्थी संगठनहरू शिक्षा ऐनलाई गुमनाम राख्दासमेत मुद्दाकाे विषय नबनाउने भन्दै सरोकारवालाहरूले गुनासो गरे ।
जवाफमा उपस्थित सम्पूर्ण विद्यार्थी संगठनले आफ्नो बचाउ गर्दै आफूहरू सधैं संघीय शिक्षा ऐन ल्याउन एकैपक्षमा उभिएको तर्क गरे । कार्यक्रममा बुलन्द रूपमा आफ्ना भनाइ राख्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संघीय शिक्षा ऐन नआउनुमा शिक्षालाई व्यापार बनाउन खोजेका केही समूह र शीर्ष तहकै नेताहरूको स्वार्थ रहेको आरोप लगाएका छन् । वितृष्णा पोख्दै उनले भने, ‘संविधान कार्यान्वयनकर्ता कस्ता छन् भनेर हामीले मूल्यांकन गर्दा शिक्षा ऐनको टुङ्गो लाग्छ ।’
पराजुलीले थपे, ‘दोषारोपण गरेजस्तो हुन्छ । तत्कालीन प्रधानमन्त्री केपी ओली, शिक्षामा गिरिराजमणी पोखरेल, कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे, कहाँ अड्कियो कानुन ? गुठीमा, सहकारीमा सञ्चालन गर्ने कि नगर्ने कुराले ऐन रोकिएको छ ।’
पराजुलीले खड्गप्रसाद ओली( केपी आली) , शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र उपेन्द्र यादवको खल्तीमा शिक्षा ऐन भएको आरोप लगाएका छन् । ‘खबरदार यो ऐन लागू गरेर गयो भने चुनावमा सहयोग नगर्ने डर देखाउँदै शिक्षा ऐन लुकाइएको छ,’ पराजुलीले भने ।
नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुङ्गेलले ऐनकै विषयमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डको कुनै काम नभएको र वडाध्यक्षहरूलाई नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था देशभरि हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रकाश शाही, पञ्चा सिंह, दुजाङ शेर्पाले समेत सम्पूर्ण विद्यार्थीको प्रतिनिधित्व गर्दै संघीय शिक्षा ऐन ल्याउन आफू सिंहदरबार र बालुवाटार समेत जाने प्रतिबद्धता जनाएका छन् ।
अब आउने संघीय शिक्षा ऐनले विश्वविद्यालयमा अनुसन्धानात्मक शिक्षा प्रणालीको विकास गर्ने प्रावधानहरू ल्याउनुपन र सामाजिक स्वयंसेवक भएर केही व्यवहारीक काममा समेत पोख्त हुनुपर्नेमा अधिकांश विद्यार्थी नेताहरूको एकमत देखिएको थियो ।
साथै एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा ऐन ल्याउनलाई आफूहरू सधैं लागिपरेको र विद्यार्थी संगठनलाई आवश्यक पर्दासमेत आफू र आफ्नो संस्थासँगै उभिने र सहयोग गर्ने कुराको प्रतिबद्धता व्यक्त गरे ।
यस्तै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, पद्मकन्या क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, शंकरदेव क्याम्पस, महेन्द्ररत्न क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारीहरूले सरकारलाई जिम्मेवार भएर शिक्षा ऐन सकेसम्म छिटो सार्वजनिक गर्नुपर्ने कुरामा एकमत जनाए ।
अन्तर्क्रिया कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका पदाधिकारीहरू र देशैभरका विभिन्न विद्यार्थी संगठनका अध्यक्षहरू, शिक्षाविद् डा. विष्णु कार्कीको समेत उपस्थिति रहेकाे थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया