शिक्षा

'प्रविधिका कारण विद्यार्थीहरू रेडिमेड उत्तर खाेज्ने भएका छन्'

सदिक्षा आचार्य |
साउन १२, २०८० शुक्रबार १९:५९ बजे

काठमाडौँ- ​प्रविधिकाे विकासले वर्तमान अवस्थामा विश्वलाई एउटै काेठाबाट नियाल्न सकिने भएकाे छ । काेशौँ टाढा रहेका आफन्तसँग यहीं प्रविधिकाे सहयाेगले छेउमै भए जसरी बातचित गर्न मिल्ने बनाएकाे छ ।

जसरी प्रविधिले विश्वलाई आधुनिकतातर्फ डाेर्याएकाे छ त्यसरी नै शिक्षण सिकाइलाई  पनि यसले छाेएकाे छ । अहिले हरेक स्कुल तथा कलेजहरूमा इन्टरनेट र विभिन्न ग्याजेट्सहरूको प्रयोग गरी अध्ययन गराइन्छ । फलस्वरूप प्रविधि र शिक्षा एकै सिक्काका दुई पाटाजस्तै भएका छन् ।


तर, यहीं इन्टरनेट र ग्याजेट्सहरूको प्रयोगले भने बालबालिकाहरूमा सकारात्मक भन्दा पनि नकारात्मक असर पर्ने पाे हाे कि भन्दै चिन्ता व्यक्त गर्छन् नासा नेशनल सेकेन्डरी स्कुल/कलेजका डाइरेक्टर दशरथ श्रेष्ठ ।

शिक्षा क्षेत्रमा तीन दशकभन्दा लामो समय बिताएका उनी प्रविधिको बढ्दो प्रयोगले विद्यार्थीहरूमा सिर्जनशीलताकाे कमी हुने भन्दै चिन्तित देखिन्छन् ।

श्रेष्ठको अनुभवले विगतभन्दा वर्तमानमा शिक्षाको गुणस्तरमा ह्रास आएको देखाएको छ । सरकारले शिक्षासँग सम्बन्धित स्पष्ट नीति सार्वजनिक नगरेकै कारण यस्तो भएको हो कि भन्ने उनको आंकलन छ । विश्वव्यापी रूपमै परिकल्पना गरिएको जस्तो शिक्षा प्रणाली नेपालको परिप्रेक्षमा नभएको डाइरेक्टर श्रेष्ठको गुनासो छ । 

त्यस्तै शिक्षामा आफ्नो एक दशकभन्दा बढी अर्थात् १३औँ वर्ष पूरा गरिसकेको नासाले शिक्षाका विभिन्न सिकाइबुझाइका तरिकाको दर्शन गरिसकेको छ । कोभिडले सुरुवात गरेको प्रविधिमैत्री सिकाइ पनि यसमा समेटिएकाे छ । 

स्थानीय सरकारदेखि केन्द्रसम्म शिक्षासम्बन्धी स्पष्ट नीति बनाउन जरुरी रहेकाे श्रेष्ठ बताउँछन्  । उनका अनुसार शिक्षा क्षेत्रका सरोकारवालाहरूले पनि यसमा चिन्तन गर्न जरुरी छ ।

स्थानीय निकाय र केन्द्रीय तहको भिन्नतालाई पाठ्यक्रमले एउटा सेतुका रूपमा लिएर सोही अनुरूपको पाठ्यक्रम निर्माण गर्नुपर्ने उनको तर्क थियो । उनले भने, ‘ विद्यार्थीहरूलाई सीप सिकाउन जरुरी देखिन्छ । माथिकै संरचनामा मात्रै लागिरहेका छौँ । स–साना काम सिकाइका विषयमा समावेश गरिनुपर्छ । जीवन उपयोगी शिक्षा हामीले सिकाउन सकेका छैनौँ ।'

 

उनकाे भनाइ अनुसार एउटा प्लस टू अथवा स्नातक गरेको व्यक्तिलाई दैनिक जीविकोपार्जनका लागि आवश्यक सामान्यभन्दा सामान्य काम गर्न पनि नजानेको जस्तै देखिन्छ । सामान्य चिया पकाउनेदेखि लिएर सामान्य कामसमेत नजानेको देखिएको छ । एउटा सिलेबस त्यसमा पनि जिपिएको सिस्टमले सिर्जनशिलतामा प्रश्न उठाउन सकिने देखिएको छ । समग्रमा केही लेख्न जानोस् अथवा नजानोस् त्यो सबै पास नै भएको छ । यसले के कुरालाई निम्ता दिइरहेको छ र कस्तो शिक्षाको परिकल्पना गरिएको हो ?  

शिक्षाको गुणस्तर र राेजगारी

​वर्तमान स्थितिलाई नियाल्दा शिक्षाको गुणस्तर खस्केको र यसलाई उकास्न अनिवार्य देखिन्छ । काठमाडौँ महानगरपालिकाको ‘बुक फ्रि फ्राइडे’को उदाहरण दिँदै उनले त्यो एउटा सकारात्मक पहल भएको जिकिर गरेका छन् । उनले भने, ‘बुक फ्रि सँगसँगै प्राविधिक, व्यावसायिक र जीवन उपयोगी ज्ञान दिनु जरुरी छ । सिधा एउटा सर्टिफिकेट बोकेको भरमा हामी कहीँ पनि पुग्दैनौँ ।’

'अहिले अधिकांश विद्यार्थी प्लस टू सक्नेबित्तिकै विदेश जाने कुरा गर्छन् । र, जान्छन् पनि । न रोजगारीका लागि हामीले जनशक्ति नै तयार गरेका छौँ । न रोजगारको अवसर नै दिएका छौँ,' शिक्षाको लामो समयको अनुभव केलाउँदै उनले भने, 'शिक्षाकाे गुणस्तरमा ह्रास आएको अनुभव भएकाे छ ।

आफ्नो अनुभव सुनाउँदै उनी अगाडी भन्छन्, ‘भर्खर एसईई दिएर बसेको विद्यार्थीलाई गणितको एउटा सूत्र सोध्दा पनि अन्कनाउने अवस्था छ । हामीले कस्तो शिक्षा दिइरहेका छौँ ?’ कसरी आएको कुरा सिकाउने परिपाटी नै छैन । हामी सिकाउँदैनौँ, घोकाउँछौँ ।’

होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापन, कम्प्युटर धेरै विषयहरू छन् । ति विषयहरू पढिसक्दा सम्बन्धित ठाउँमा सक्षम भएर काम गर्न जान सक्ने बनाउन जरुरी रहेको श्रेष्ठको ठम्याई छ । उनका अनुसार विद्यार्थीहरूलाई होटल म्यानेजमेन्ट वा कुनै पनि विषयमा ग्र्याजुऐट भएर बजारमा जाँदा सिधै काम गर्न सक्ने गरी तयार बनाउनुपर्ने कुनै पनि शैक्षिक संस्थाको दायित्व हुन्छ । 

एसईई थ्रेशहोल्डमा १.६ जिपिए र विद्यार्थीको गुणस्तर

विद्यार्थीका लागि १.६ जिपिए ल्याएर सबै विषय पढ्न पाउनु एक सुवर्ण अवसर हो । तर, उक्त अवसर सँगसँगै विद्यार्थीको गुणस्तरको पनि प्रश्न उठ्छ । १.६ ल्याउँदैमा त्यो विद्यार्थी कमजोर नै हो भन्न मिल्दैन यद्यपि ३.७ ल्याउने मात्रै सर्वोत्कृष्ट भन्ने हुँदैन उसले मात्रै डाक्टर र इन्जिनियरिङ गर्न सक्ने भन्ने होइन तर त्यसले कुनै न कुनै प्रभाव त पारिरहेकै हुन्छ । 

प्रवेश परीक्षा लिनु खासै जायज नदेखिए पनि छात्रवृत्तिकै लागि प्रवेश परीक्षा लिनुपर्ने उनको तर्क थियो । प्रवेश परीक्षाको मनासिव आधार छात्रवृत्ति हो । सरकारले कत्तिको योग्य छ भनेर पास गरेर पठाइसकेको छ । फेरि प्रवेश परीक्षा लिनु आवश्यक देखिँदैन । 

१.६ जिपिएलाई सरकारले बढाएर अलि बढी बनाएको भए विद्यार्थीले कक्षा १० मा मेहेनत गर्न सक्छन् । उनले भने, ‘विद्यार्थीलाई १.६ ल्याए पश्चात् जुन कुनै विषय पढ्न पाउने भन्ने सोच छ । सरकारले त्यो भन्दा बढी जिपिएको ‘मिनिमम थ्रेशहोल्ड ’ अलि बढी भएको भए विद्यार्थीले मेहेनत गर्छन् ।’

श्रेष्ठका अनुसार विद्यार्थीमा आजकाल सिर्जनशीलताको कमी देखिएको छ । केही लेख्नका लागि एआई प्रयोग गरेको देखिन्छ । आफ्नो सोचले भन्दा प्रविधिको सहयोगले लेख/रचना आउँछन् । उनले भने, ‘आजकल विद्यार्थीले एउटा निबन्ध राम्ररी लेख्न जानेको देखिँदैन । सामान्य भन्दा सामान्य निवेदन पनि लेख्न नजानेको देखिन्छ । ’

समग्रमा अहिलेको शिक्षा 

प्रविधिका कारण विद्यार्थीहरूमा विश्वव्यापी शिक्षा ग्रहण गर्न अति नै सहज भएकाे छ । यद्यपि प्रविधिसँग मात्रै घुलमिल भएर किताबी ज्ञानलाई अहिलेको पुस्ताले उपेक्षा गरिरहेको श्रेष्ठ बताउँछन् । उनले भने, ‘कोभिडले निम्त्याएको लकडाउनले गर्दा पठनपाठनमा अनेक रोकावट देखिन थाल्यो । नेपालका लागि अनलाइन शिक्षा प्रणाली चुनौतीपूर्ण थियो । प्रविधिले सिक्न/सिकाउन थालेपछि विद्यार्थीको अधिकांश समय अनलाइनमा बित्न थाल्यो । विभिन्न एपहरूको अत्यधिक प्रयोगले विद्यार्थीलाई वास्तविक सिकाइभन्दा पर लगेको श्रेष्ठको अनुभवले बताएको छ ।’ 

२१औँ शताब्दीमा प्रविधिलाई दोषारोपण गर्न नमिले पनि दोष दिनुपर्ने अवस्था आइपरेको उनको तर्क थियो । उनले भने, ‘प्रविधिको सदुपयोगभन्दा पनि बढी दुरुपयोग भएको देखिन्छ । विद्यार्थीहरू रेडिमेड उत्तर खोज्ने भएका छन् । अनावश्यक कुरामा आफ्नो समय व्यतीत गर्ने गरेको देखिन्छ ।’ 

‘विद्यार्थीलाई व्यावसायिक शिक्षा दिनलाई मेरो संस्थाले पनि जिम्मेवारी वहन गर्नुपर्छ । नासा कलेजको व्यवस्थापन विभागको डाइरेक्टर भएका नाताले मैले पनि मेरा विद्यार्थीलाई व्यावसायिक ज्ञान दिन अग्रसर गराउनुपर्छ । सिकाइबुझाइको पाटो त भयो नै,’ श्रेष्ठले भने ।


Author

थप समाचार
x