शिक्षा

किंङ्स कलेज र इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसचले इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

एआईसम्बन्धी दिर्घकालीन अध्यापन संचालन गर्नको लागि हातेमालोको घोषणा

इकागज |
साउन १९, २०८० शुक्रबार १२:९ बजे

काठमाडौँ – उद्यमशिलता शिक्षामा अग्रणी काठमाडाैँस्थित किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च(नामी) ले नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।  

पछिल्लो समय सूचना प्रविधिको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको किंङ्स कलेज र बैज्ञानिक अनुसन्धान केन्द्र, नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै ६ महिने परिक्षणात्मक तालिम कक्षा सञ्चालन गर्ने जनाएका हुन् ।


उक्त संस्थाहरूको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

व्यक्ति तथा संस्थाहरूको विशिष्टकृत आवश्यकता परिपूर्ति गर्नुको लागि आवश्यक उच्च गुणस्तरीय कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि किंङ्स कलेज र नामीले हातेमालो गरेका हुन् ।

सुरुवाती चरणमा सूचना प्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेकाहरूलाई लक्षित गरे तापनि पछि विधार्थी तथा आर्टिफिसियल इन्टिलीजेन्स् क्षेत्रमा रुची राख्ने जोकसैले पनि यस शिक्षण कार्यक्रममा सहभागी हुन पाउने कलेजले जानकारी दिएको छ । तथापि यस कार्यक्रममा सहभागी हुन चाहनेहरूले पाइथन प्रोग्रामिङ्ग चलाउन जानेको हुनुपर्ने छ । 

‘ शिक्षाले मानिसलाई बर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथसाथै समयसान्दर्भिक शिप तथा सामथ्र्यको विकासमा सघाउनुपर्दछ भन्ने हाम्रोे सोच रहेको छ,’ कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल बताउँछन्, ‘ पछिल्लो समय विश्वमै मुलधार प्रबृत्तीको रुपमा विकास भैरहेको आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उदेश्यको साथ नामीसँग साझेदारी गरिएको हो ।’

कलेजले शिक्षालाई परम्परागत चारकोठे शिकाइ प्रणालीको रुपमा मात्र सिमित नराखी आधुनिक समाजमा देखापरिरहेको चुनौतीको सम्बोधन गर्न, नयाँ अवसरहरूबाट लाभ लिन र आधुनिक चालचलन तथा प्रबृत्तीहरूलाई अंगीकार गरी समाज तथा राष्ट्रको विकासमा टेवा पुर्याउन सक्षम नागरिकको श्रृजना गर्न विभिन्न पहल तथा परियोजनाहरू सञ्चालन गरिरहेको अर्यालले जानकारी दिए । 

अर्यालले अगाडि भने, ‘आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी हामीले सञ्चालन गर्न लागेको शिक्षण कार्यक्रम सोही परियोजनाहरूमध्येको एक हो जसबाट हासिल ज्ञानले नेपालमा पनि विभिन्न जटिल क्रियाकलापहरू सहजताका साथ सम्पन्न गराउन सकिने एवं आर्थिक क्षेत्रमा चलायमानता ल्याउन सकिने मैले विश्वास लिएको छु ।’

विश्वव्यापी क्षेत्रमा आर्टिफिसियल इन्टिलीजेन्स्को तीब्र विकास भइरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आम मानिसको चासो र रुची बढिरहेको यथार्थलाई ध्यानमा राखी यस विषयबारे प्राज्ञिक शिक्षा प्रदान गरी आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको नामीका सहसंस्थापक तथा निर्देशक डा. विशेष खनालले जानकारी दिए । 


 


Author

थप समाचार
x