शिक्षा

सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालयहरूको आपत्ति

इकागज |
साउन २३, २०८० मंगलबार १६:३१ बजे

काठमाडौँ - निजी विद्यालय संगठनहरुले निजी लगानीको शिक्षा क्षेत्रलाई निरूत्साहित गर्ने गरी सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार नेसनल प्याब्सन, हिसान र प्याब्सनले संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय क्षेत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै आन्दोलनको समेत घोषणा गरेका हुन् ।


उक्त विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने उनीहरूले जनाएका छन् ।

शैक्षिक संस्थाहरूलाई व्यवस्थित, मर्यादित र लगानीको सुरक्षाका बारेमा आवाज उठाउँदै आएता पनि सुझावहरूलाई वेवास्ता गरी विधेयक अघि बढाउनु अन्त्यन्तै दुखद भएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । उनले शिक्षा क्षेत्रका लागि ल्याइएको ऐनका विषयमा यस क्षेत्रसँग सम्बन्धित निकायहरुसंग पनि छलफल नगरेको आरोप लगाए । 

उनीहरूले बुधबार सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने, साउन २५ गते माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने, २६ गते अन्तरक्रिया गर्ने २७ गते समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने जनाएका छन् ।  


Author

थप समाचार
x