शिक्षा

जहाँ क्याम्पस जाँदा लाग्ने बस भाडा वडाले नै तिरिदिन्छ

इकागज |
साउन २५, २०८० बिहीबार ११:१० बजे

मकवानपुर- शिक्षालाई उच्च प्राथमिकता दिँदै मकवानपुरको एउटा वडा कार्यालयले विद्यार्थीलाई क्याम्पस जान लाग्ने यातायात खर्च प्रदान गर्ने भएको छ । यसको लागि सम्बन्धित वडाको स्थायीवासी हुनुपर्ने कार्यालयले जनाएको  छ ।

यसको लागि वडा कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट वडा नम्बर १८ ले क्याम्पस पढ्ने विद्यार्थीहरुलाई बस भाडाको समस्या भएमा वडा कार्यालयले सहयोग गर्ने भएको हो ।


हेटौंडा बजार पुग्न दैनिक १८ किलोमिटरको यात्रा गर्नुपर्दा वडावाट उच्च शिक्षा लिन हेटौडा बजार ‍ओहोर दोहोर गर्ने विद्यार्थीले दैनिक चर्को बसभाडा खर्च गर्नुपर्ने अवस्थालाई वडाले सम्बोधन गर्न लागेको हो ।

भाडाकै कारण क्याम्पस पढ‍्न समस्या नहोस भनेर वडा कार्यालयले यो योजना अघि सारेको वडाध्यक्ष अनिल बानियाँले बताए । वडाध्यक्ष बानियाँका अनुसार वडाले निर्णय नै गरेर कक्षा ११ देखि स्नातकोत्तरसम्म पढ्ने वडाभित्रका विद्यार्थीको हेटौंडा आउजाउको भाडा तिर्ने निर्णय भएको छ ।

यसै वडामा कक्षा १२ सम्म अध्यापन हुने ज्योती मावि छ ।

वडाबाट हेटौंडा नआइपुग्दै जनप्रिय मावि प्राविधिक विद्यालय पनि हेटौंडा १६ मा छ । तर हेटौंडा बजारमै आएर आफूले रोजेको विषय पढिरहेकाहरुको सहजताको लागि वडाले यो योजना अघि सारेको बताइएको छ ।

वडा कार्यलयले स्थानीय यातायात व्यवसायीसँग सहकार्य गर्ने योजना बनाएको छ । हाल हर्नामाडीदेखि हेटौडा आवतजाआत गरेको भाडा प्रतिव्यक्ति ८० रुपैयाँ भाडा लिने गरेको छ ।

वडा कार्यालयको यो निर्णयसँगै अब वडाभित्रका ७५ जना भन्दा वढी विद्यार्थी निःशुल्क बस चढेर हेटौडासम्म अध्ययन गर्न सक्ने भएका छन् । वडामा जम्मा ४ वटा सामुदायिक विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ । वाणिज्य, मानविकी र शिक्षा संकायका विषयमात्र पढाइ हुने र अन्य विषय पढ्न चाहने विद्यार्थीले हेटौंडा बजारका क्याम्पससम्मै पुग्नुपर्ने बाध्यता छ 

उपमहानगरपालिकाले एमबिबिएस पढ्न हरेक विद्यार्थीलाई ५ लाख रुपैयाँ सहयोग गर्दै आएकामा यस वर्षदेखि आफ्नो वडाले पनि १ लाख रुपैयाँ दिने नीति लिएको अध्यक्ष बानियाँले बताए । यसपटक यो वडाबाट २ जना एमबिबिएस पढ्न छानिएका छन् ।


Author

थप समाचार
x