ज्यान जोखिममा राखेर उज्यालो भविष्य खोज्दै भुजीका बालबालिका
ज्यान जोखिममा राखेर उज्यालो भविष्य खोज्दै भुजीका बालबालिका
मन्थली (रामेछाप)- रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइ डराइ पहिरो पार गरेर विद्यालय पुग्छिन् । उनलाई विद्यालयमा पढ्न आउँदा र फर्किंदा माथिबाट पहिरोसहित ढुङ्गा खस्छ कि भन्ने डर छ । ज्यान जोखिममा राखेर उनीजस्ता बालबालिका उज्यालो भविष्य खोजिरहेका छन् ।
पहिरोका कारण स्थानीय ठिङ्केपु विद्यालयमा पढ्न आउने रियासँगै खिनमाया, आईश्वरी, अर्निताजस्ता धेरै बालबालिका जोखिम पार गरेर पढ्न आउन बाध्य छन् । भविष्यलाई उज्यालो बनाउन उनीहरू जस्ता धेरै बालबालिकाले सङ्घर्ष गरिरहेका छन् ।
पहिरोकै कारण विद्यालयमा आउने विद्यार्थी कम भइसकेका विद्यालयका प्रधानाध्यापक राजन सुवेदीले बताए । 'यो पहिरो जानुअघि तीन सय ५० भन्दा बढी विद्यार्थी थिए । अहिले घटेर ७५ पुगेका छन् । हिउँद र वर्षा दुवै समयमा आउने पहिरोका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको छ । हिजोआज पनि विद्यार्थीहरू डराइ डराइ विद्यालयमा आइपुग्छन् । सर आज ढुङ्गा खसेन नी भनेर खुसी हुन्छन्,' उनले भने, 'वर्षाको बेलामा ल्याउने र पुर्याउने गर्नुपर्छ । पहिरो कटाउन सकिएन भने यतै व्यवस्थापन गर्नुपर्छ । ठूलै झरी परे विद्यार्थी आउने सम्भावना नै हुँदैन ।'
ज्यान जोखिममा राखेर नानीबाबुहरू आउँछन् । मानसिक रूपमा नै थाकेर स्कुल आइपुगेका कलिलो दिमागले कति ज्ञान लिन सक्लान् र खै ? सुवेदीले दुखेसो पोखे । 'यो त दोस्रो घ्याप्चेभन्दा पनि फरक पर्दैन । त्यहाँ जस्तै यहाँ पनि पहिरोले साह्रो कष्टकर दैनिकी बनाएको छ,' उनले भने ।
मन्थली नगरपालिका र लिखु तामाकोसी गाउँपालिकाको सिमानामा पर्ने ध्याप्चे पहिराेका कारण सालुको गैराथोक कठजोरको अर्चलेका धेरै स्थानीय विस्थापित भइसकेका छन् । सदरमुकाम मन्थली र आसपाका धेरै खेतीयोग्य जमिनलाई नष्ट पारेको घ्याप्चेको पहिरोलाई जिल्लाको ठूलो पहिराेका रूपमा लिइन्छ ।
सानो पानी परे पनि पहिरो खस्ने र हिउँदमा सुख्खा पहिरो खसेर बाटो माथिबाट ढुङ्गा झर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकुमार सुनुवारले बताए । 'पानी पर्यो कि पहिरो झरिहाल्छ । पहिरो कति बेला आएर के गर्ने हो पत्तो हुँदैन । अर्को बाटो भएर घुमेर आउ नानीबाबु भन्न पनि कतै बाटो छैन,' उनले भने, 'पहिरो झरेको फेदीमा झेलुङ्गे पुलको योजना पर्यो भन्ने सुनिन्छ तर पुल तरेर आउँदा/जाँदा बालबालिकालाई निकै उकालो ओरालो हिँड्नुपर्छ ।'
भुजीको पहिरो रोकिने भन्दा पनि जोखिम बढाउँदै गइरहेको छ । विसं २०७२ को भूकम्पदेखि सुरु भएको उक्त पहिरो त्यस वर्षको वर्षातकाे समयदेखि बढ्दै गएको स्थानीय भीमबहादुर नेवारले बताए । 'निरन्तर पहिरो झर्ने भएकाले जोखिम बढ्दै गएको छ । विद्यालय जाने/आउने बालबालिकालाई निकै समस्या छ,' उनले भने, 'जोखिमका कारण वर्षातकाे समयमा बालबालिकालाई वडाको व्यवस्थापनमा वडा कार्यालयमा राखेर पढाउने गरिन्छ ।'
पहिराेका कारण भुजीको ठिङ्केपुु पीपलडाँडा, सारीटोल, कोकर्सी गाउँको नेवारी, सुनुवार र दलित समुदाय गरी करिब ८० घरपरिवार विस्थापित भइसकेका उमाकुण्ड गाउँ कार्यपालिका सदस्य हेमन्त सुनुवारले जानकारी दिए । उनका अनुसार पीपलडाँडाबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारसहित दलित र नेवारी समुदायका २५ घरपरिवार अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।
भूर्गविद्लाई यससम्बन्धी गहिरिएर अध्ययन गराई समस्याको समाधान गर्नुपर्ने भन्दै समयमा नै समस्या समाधान नभए थप जोखिम बढ्ने कार्यपालिका सदस्य सुनुवारले बताए । 'सरकारले यस ठाउँको बस्ती स्थानान्तरणको कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन सकेको छैन । रुना, ठिङ्केपु, पीपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना पर्नुका साथै पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रु १० लाखको योजना परेको छ । तर, यो मात्र पर्याप्त छैन,' उनले भने ।
उक्त पहिरोको जोखिमका कारण वर्षातकाे समयमा भुजीस्थित पोल्दिममा भएको स्वास्थ्य चौकीमा र वडा कार्यालयमा आउने सेवाग्राहीको सङ्ख्या पनि घटेको स्थानीय दशराम सुनुवारले जानकारी दिए । 'पहिरोले विद्यालय र बालबालिकालाई मात्र नभएर अरु स्थानीयलाई समेत समस्या परेको छ । ओल्लोपाटोका नागरिकलाई किनमेलका लागि समेत समस्या छ,' उनले भने, 'दैनिक उपभोग्य सामान खरिदका लागि पहिरो कटेर जानुपर्ने बाध्यता छ ।'
पहिरोलाई रोकछेक गर्ने कुनै सम्भावना नै नभएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । 'हामीले अहिलेलाई त्यहीँ पहिरोको बीचबाट बाटो खोलेका छौँ । तर, त्यहाँबाट आवतजावत गर्न जोखिम छ,' उनले भने, 'हरेक वर्ष बाटो खोल्छौँ । वर्षा लागेपछि बाटो सरेर झण्डै एक सय मिटरभन्दा तल पुगेको हुन्छ । त्यसको विकल्पका लागि पुल बनाउने योजनामा छौँ ।'
पुल निर्माणका लागि कार्यपालिकाबाट निर्णय भएर केन्द्रमा गइसकेको अध्यक्ष सुनुवारले जानकारी दिए । यो प्रक्रियागत काम भएकाले छिट्टै पुल बनाउने काम सुरु हुने उनको भनाइ थियो । पुल बनेपछि मात्रै यहाँका नागरिकले पहिरोको जोखिमबाट मुक्ति पाउनेछन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया