शिक्षा

‘पुस्तकविहीन शुक्रबार’ मा प्रयोगात्मक शैक्षिक क्रियाकलाप सञ्चालनका लागि इच्छुक संघसंस्थालाई सूचीकृत हुन आव्हान

इकागज |
पुस २, २०८० सोमबार १७:५५ बजे

काठमाडौँ- ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यावहारिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने भएका छन् । कक्षा ९ र १० मा गएको शुक्रबारदेखि ‘शिक्षामा सीप’ तालिम कार्यक्रम सञ्चालन भइसकेको छ । यसका लागि विद्यालयहरूले तालिम प्रदायक संघसंस्थाहरूलाई सूचीकृत गरेर सेवा लिन थालेका हुन् ।

‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ गएको वर्षदेखि निरन्तर चलिरहेको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्छन्, ‘यसरी सञ्चालन हुने कार्यक्रमका लागि हामीले छुट्टै बजेटको व्यवस्था गरेका छौँ । यो बजेट हामी विद्यालयमा पठाउँछौँ । विद्यालयहरूले आफैँ कार्यक्रम सञ्चालन गर्नेछन् ।’


सूचीकृत हुनेले चालु आर्थिक वर्षकाे अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबारका लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु पर्नेछ । हरेक शुक्रबार ६ घण्टाका लागि कक्षा हुने छन् ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘पाठ्यक्रम, दररेटसहित खर्चको प्रस्ताव, कार्यक्रम सञ्चालनका लागि प्रयोग गरिने सामग्रीको विवरणसहित प्रस्तावकले आफूले तालिम सञ्चालन गर्न चाहेको विद्यालय सूचीकृत हुन सक्नेछन् ।’

कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बाल समूहहरू गठन गरिसकिएको छ । कारागारभित्रका, फरक क्षमता भएका बालबालिकाका लागि सञ्चालन भएका र रात्रिकालीन विद्यालयबाहेक ८१ वटा विद्यालयमा समूह गठन गरिसकिएको हो ।

शुक्रबारको कार्यक्रमका लागि १५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये बालबालिका तथा वातावरण (वावा) र विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस् र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह हुन् । अन्य विषय विद्यार्थीको संख्यालगायत सूचकका आधारमा सञ्चालन गर्न सकिनेछ ।

उपसमूहहरू  
१) बालबालिका तथा वातावरण (वावा), २) विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित (स्टिम), ३) म्युरल (भित्ते चित्र), ४) संस्कृति र सम्पदा, ५) ट्राफिक व्यवस्थापन, ६) विपद व्यवस्थापन, ७) नाट्य समूह, ८) व्यक्तित्व विकास, ९) उद्यमशीलता सोच, १०) पठन संस्कार, ११) योग, १२) संगीत तथा नृत्य, १३) ड्रोन, १४) एनिमेसन र गेमिफिकेशन र १५) कोड 

विद्यार्थीहरूको संख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा यी विषय तथा उपसमूह निर्धारण गरिएका हुन् । 


Author

थप समाचार
x