काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य गर्ने समझदारी
धुलिखेल- काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ । सोमबार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा तथा नेपाल प्रहरीका महानिरिक्षक वसन्त कुँवरले हस्ताक्षर गरे ।
समझदारीअनुसार दुवै पक्षले चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदान प्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने आदि कार्य गर्नेछन् । समझदारी पाँच वर्षका लागि मान्य हुनेछ ।
समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति थापाले काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरीबीचको सहकार्यले नेपालको चिकित्साक्षेत्र सुदृढ बनाउनमा उल्लेखनीय सहयोग पुग्ने बताए ।
'नेपालमा २०७२ सालको भूकम्प र कोभिड महामरीका बेला स्वास्थ्यकर्मीको महङ्खव झन् उजागर भयो । अब प्रविधिको व्यापक प्रयोग गर्दे नेपालको चिकित्सा क्षेत्रलाई झनै चुस्त बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ आजको सहकार्यले विशेष भूमिका खेल्नेछ,' थापाले भने ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. अच्युत वाग्लेले यो सहकार्य सबैका लागि सुखद हुने बताए । 'नेपालको चिकित्सा क्षेत्रमा झण्डै ५० प्रतिशत जनशक्ति काठमाडौँ विश्वविद्यालयले उत्पादन गरेको छ, र यो जनशक्तिले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरबाट पनि मान्यता पाएको छ,' वाग्लेले भने 'नेपाल प्रहरी अस्पतालसँगको अबको सहकार्य ऐतिहासिक हुनेछ ।'
नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीचको सहकार्य गौरवको विषय भएको बताए । 'नेपाल प्रहरीको शैक्षिक सुधार एवं पाठ्यक्रम गुणस्तर वृद्धि, नेपाल प्रहरीका शिक्षकहरूको गुणस्तर र कार्य सम्पादनमा यसबाट सहयोग पुग्नेछ,' कुँवरले भने 'यो सहकार्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्न, पोष्टग्राजुएट कक्षा सुरू गर्न र दुवै पक्षबीच रहेको ज्ञान, क्षमतालाई आपसी समझदारीमा विस्तार गर्दै जान मार्ग प्रशस्त भएको छ ।'
कार्यक्रममा विश्वविद्यालयका चिकित्सा शास्त्र संकायका डीन प्रा. डा मनोज हुमागाईं तथा नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक डा. आशा सिंहलगायत विश्वविद्यालयका विभिन्न संकायका डीन, विभागीय प्रमुखहरू, तथा प्रहरीका उच्च अधिकारीको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया