शिक्षा

मुस्लिम समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच न्यून

मुस्लिम समुदायका बालबालिकाको उत्थानका लागि इमामहरूको भूमिका महत्वपूर्ण : अध्यक्ष अन्सारी

सुभद्रा धिताल |
जेठ १४, २०८१ सोमबार १२:४७ बजे

काठमाडौँ- मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले हरेक क्षेत्रमा मुस्लिम समुदायको सहभागिता एकदमै न्यून रहेको बताएका छन् । उनले यस समुदायका बालबालिकाहरूको पहुँच शिक्षामा पनि ज्यादै कम भएको दाबी गर्छन् ।

मुलुकको हरेक क्षेत्रमा मुस्लिमको उपस्थिति हुनुपर्ने मुस्लिम आयोगको माग रहेको अध्यक्ष अन्सारीले बताए । ‘हामी मुस्लिम आयोगले हरेक क्षेत्रमा मुस्लिमको उपस्थिति हुनुपर्छ, मुस्लिम हरेक क्षेत्रमा आफ्नो भूमिका पाएपछि आफ्नो भूमिका निर्वाह गर्दछ, भन्दाभन्दै हामीले हरेक समयमा मिडियामार्फत हामीले आवाज उठाउँदै आएका छौँ,’ उनले भने ।


उनले मुस्लिम समुदायको हक, अधिकार, विकास र उत्थानका लागि आयोगले विभिन्न कामहरू गर्दै आएको पनि उल्लेख गरेका छन् ।

अध्यक्ष अन्सारीका अनुसार नेपालका हरेक क्षेत्रमा मुस्लिम समुदायका व्यक्तिको सहभागिता ज्यादै न्यून रहेकाले सो सहभागिता वृद्धि गर्न मस्जिद र मदरसाका मौलाना तथा इमाम (मुस्लिम समुदायका धर्म गुरु)हरूको भूमिका महत्वपूर्ण रहन्छ ।

‘हरेक शुक्रबार मस्जिदहरूमा जुमा नमाज अर्थात प्रवचन दिने काम हुन्छ । यस दिन मस्जिदमा हरेक व्यक्तिको उपस्थिति रहन्छ । यदी त्यो प्रवचनमा यस्ता विषयहरू राखियो भने इमाम तथा मौलानाहरूको भूमिका प्रभावकारी देखिन्छ,’ उनले भने ।

उक्त प्रवचनमा देशको उन्नति र धार्मिक सहिष्णुता कायम गर्ने खालका विषयहरू राखिन्छन् । सो क्रममा इमामहरूले शिक्षाको विषय पनि प्रवचनमा राखेको खण्डमा बालबालिका तथा युवाहरूले शिक्षा हासिल गर्न सक्ने अन्सारीको भनाइ छ ।

इमामले जे बोल्छन् र गर्छन् बालबालिकाहरूले त्यहीँ नै सिक्छन् । त्यस कारण इमामहरू नै बालबालिकाको पहिलो गुरु तथा विद्यालय हुन् । उनीहरूले आफ्नो जिम्मेवारी र कर्तव्यको पालना राम्रोसँग गरेर भावी पुस्तालाई धेरै ज्ञान र सीपका कुरा सिकाउन सक्छन् ।

यस्तै मुस्लिम समुदायबाट प्रशासनिक र प्राविधिक क्षेत्रमा मात्र दुई जना सहसचिव कार्यरत रहेको भन्दै अध्यक्ष अन्सारीले सो सङ्ख्यामा वृद्धि गर्दै लैजान आवश्यक रहेको उल्लेख गरे । 

नेपालको सन्दर्भमा मुस्लिम समुदाय मानव विकास सूचकाङ्कको दृष्टिकोणले सबैभन्दा पछाडि रहेको छ । यस समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न अत्यावश्यक देखिन्छ । यसका लागि तीनै तहका सरकारहरूले मुस्लिम समुदायको सामाजिक, आर्थिक, शैक्षिक एवं साँस्कृतिक विकास र उत्थानका लागि विशेष लक्षित नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ । 

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २६ अनुसार प्रत्येक व्यक्तिलाई प्रारम्भिक र आधारभूत तहसम्म निःशुल्क शिक्षाको अधिकार प्रदान गरेको छ । विश्वका प्रायः सबै मुलुकहरूमा बिना कुनै भेदभाव सबै बालबालिकाहरूलाई आधारभूत शिक्षा उपलब्ध गराउन विभिन्न प्रयासहरू भएका छन् । तर, पनि मुस्लिम समुदायका बालबालिकाहरूलाई शिक्षाको पहुँचसम्म पुर्‍याउन नसकिरहेको अवस्था छ । 

‘मुस्लिम समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच अत्यन्त न्यून छ,’ अन्सारीले भने, ‘यो संख्यालाई बढाउनका लागि हामी ठाउँ-ठाउँमा गएर जनचेतना फैलाउने काम गरिरहेका छौँ ।’

मुलुकको समग्रतालाई केलाएर हेर्दा मधेश प्रदेशमा यस समुदायका धेरै बालबालिकाहरू शिक्षाबाट वञ्चित रहेको अध्यक्ष अन्सारीले जानकारी दिए । 

आफूहरूले पटकपटक शिक्षाको महत्वलाई बुझेर सरकारले मुस्लिम समुदायको लागि विशेष नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।  

सोही क्रममा राष्ट्रियसभा सदस्य मोहम्मद खालिद सिद्धिकीले मुस्लिम समुदाय राज्यका लागि कहिल्यै पनि समस्याको रूपमा नरहेको उल्लेख गरेका छन् । उनले मस्जिद र मदरसाले नेपालको कानुन र ऐन कानुनलाई सर्वोपरी ठानेर अघि बढेको बताए । सिद्धिकीले इमाम तथा मौलानाले आफ्नो रितिरिवाज र धर्म संस्कृतिबारे बालबालिका र नयाँ पुस्तालाई सुसूचित गराएर अघि बढ्नुपर्ने सुझाव दिएका छन् । 

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा इस्लाम धर्मावलम्बी मुस्लिमहरूको जनसङ्ख्या १४,८३,०६६ रहेको छ जुन कुल जनसंख्याको ५.०९ प्रतिशत हुन आउँछ । उक्त जनसंख्यामध्ये पुरुषको जनसङ्ख्या ७३२००६ (४९.३६ प्रतिशत) र महिलाको जनसङ्ख्या ७५१०६० (५०.६४ प्रतिशत) रहेको छ ।

प्रदेशगत रूपमा मुस्लिम समुदायको उपस्थिति र बसोबासको अवस्था हेर्दा सबैभन्दा बढी जनसंख्या क्रमशः मधेश, लुम्बिनी, कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको देखिन्छ भने जिल्लागत रूपमा हेर्दा क्रमशः रौतहट, कपिलवस्तु, बाँके, बारा र सुनसरीलगायतका जिल्लामा बढी जनसंख्या रहेको देखिन्छ । 

इस्लाम धर्ममा सबैभन्दा ठूलो भूमिका मस्जिदको हुने र मस्जिदलाई गाइड गर्ने कर्तव्य इमामको हुने इस्लामी संघ नेपालका अध्यक्ष मौलाना नजरुल हसन बताउँछन् । 

‘अपनत्व महसुस हुने, आफ्नो विकासको गुणहरू सिक्ने, असल मानवको गुणहरू प्राप्त गर्ने ठाउँ नै मस्जिद हो,’ उनले भने, ‘त्यसैले मौलाना तथा इमामहरूबाट बालबालिकाले धेरैभन्दा धेरै ज्ञानका कुराहरू सिक्न सक्ने भएकाले उनीहरूको भूमिका महत्वपूर्ण छ ।’

मुस्लिम समुदायका अधिकांश बालबालिकाहरू मदरसामा शिक्षा लिने गर्छन् । हाल सयौंको संख्यामा ठूला मदरसाहरू छन् । सरकारी आंकडाअनुसार १,१९७ मदरसाहरू दर्ता भएका छन् । केही मदरसाहरूमा स्नातक तहसम्मको अध्ययन-अध्यापन हुँदै आएको छ । केही बालिका मदरसाहरू पनि सञ्चालनमा छन् जसमा स्नातक तहसम्मको शिक्षादिक्षा दिइन्छ ।

भएका मदरसामा पनि भौतिक पूर्वाधार तथा पढाइको गुणस्तर राम्रो नभएको इमामहरू बताउँछन् । 

यस्तै मदरसा व्यवस्थापन समितिको निर्वाचनका कारण मधेशका विद्यालयहरू राजनीतिक अखडामा परिणत भएका छन् । अधिकांश विद्यालयमा पढाइभन्दा राजनीति बढी भइरहेकाले पनि शैक्षिक अवस्था खस्किएको हुनसक्ने मौलानाहरूको भनाइ छ ।

मदरसा शिक्षामा देखिएका समस्याहरूको पहिचान गरी मदरसा शिक्षालाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाई मुस्लिम समुदायका बालबालिकालाई राष्ट्रिय शिक्षाको मूलप्रवाहीकरणमा ल्याउन आवश्यक रहेको उनीहरू बताउँछन् ।

मदरसा शिक्षाको विकासमा टेवा पुऱ्याउनका लागि समयसापेक्ष वातावरण र पढाइ हुनु आवश्यक रहेको अध्यक्ष हसनले उल्लेख गरे ।

उनका अनुसार मदरसा शिक्षालाई आधुनिक, व्यवहारिक र वैज्ञानिक बनाई राष्ट्रिय शिक्षामा आबद्ध गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्न मदरसा शिक्षा ऐन तर्जुमा गर्नुपर्छ ।

यस्तै मुस्लिम समुदायका बालबालिकाको विद्यालयस्तरको अध्ययनमा सहभागिता वृद्धि गर्न समुदायमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी विद्यालय शिक्षाको महत्वबारेमा उजागर गर्दा बालबालिकामा पढाइप्रति चासो झन्‌ बढ्ने उनको भनाइ छ ।

मुस्लिम समुदायको शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रको उत्थान र विकासका लागि विशेष अधिकारको व्यवस्था गर्न, सीपमूलक एवं चेतनामूलक कार्यक्रम सञ्चालन गरी मुस्लिम समुदायभित्र रहेको अन्धविश्वास, गरिबी, अशिक्षा र बेरोजगारको अवस्थालाई न्यूनीकरण गर्न परम्परागत धार्मिक र शैक्षिक व्यवस्थाको रूपमा रहेको मदरसा शिक्षालाई थप सुदृढ र संस्थागत गर्दै आधुनिकीकरण गर्न आवश्यकता रहेको देखिन्छ ।

आधिकारिक दस्तावेजको अभावले गर्दा नेपालमा मदरसा शिक्षाको इतिहास स्पष्ट छैन । धेरै पहिला नै काठमाडौँ उपत्यकामा मस्जिदहरूको निर्माण भएको देखिन्छ । मस्जिदहरूमै मुसलमानहरूले आफ्ना बालबालिकाहरूलाई आधारभूत इस्लामी शिक्षा दिने गरेका छन् । धर्मगुरुहरूले यी मस्जिदहरूमा धार्मिक शिक्षा प्रदान गर्छन् । 

मदरसा शिक्षाको मुख्य समस्या अन्तर्गत पर्याप्त आर्थिक स्रोतको अभाव, कमजोर पूर्वाधार, मदरसाहरूमा शैक्षिक वातावरणको अभाव हुनु र बालबालिकालाई आकर्षित गर्ने खालका कृयाकलापको कमी हुनु रहेको अध्यक्ष हसनले बताए । 

कम्तीमा शुक्रबारको दिन मुस्लिम समाजका प्रत्येक व्यक्ति मस्जिदमा जान्छन् । त्यस दिन मस्जिदका गुरुहरूले ज्ञान र धर्मका कुराहरू सुनाउँछन् । जसले गर्दा थोरै समयमा नै ठूलो जनसंख्यामा इमाम तथा मौलानाहरूको कुरा पुग्छ । जसबाट भर्खरका बालबालिकादेखि युवापुस्ता तथा वृद्धवृद्धाहरूसम्ममा ती जानकारीहरू पुग्छन् । त्यस कारण पनि मुस्लिम समुदायका युवा तथा बालबालिकाको उत्थानका लागि इमाम तथा मौलानाहरूको भूमिका ठूलो रहने अध्यक्ष हसनले बताए ।

मुस्लिम आयोग तथा प्लान इन्टरनेशनलद्वारा संयुक्त रूपमा गत सोमबार ललितपुरमा ‘मुस्लिम समुदायका बालबालिका तथा युवाहरूको उत्थानका लागि इमामहरूको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । जहाँ काठमाडौँ, ललितपुर र भक्तपुरका इमाम तथा मौलानाहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सहजीकरण गरेको प्लान इन्टरनेशनका कन्ट्री डाइरेक्टर राम किसनले यस्तो गम्भीर विषयमा सहजीकरण गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले मुलुकमा मुस्लिम समुदायका व्यक्तिहरूमा शिक्षाको पहुँच बढाउन अति आवश्यक रहेको जिकिर गर्छन् । उनले आफ्नो स्थानबाट यस समुदायको उत्थानका लागि आगामी दिनहरूमा पनि राम्रा र जीवनउपयोगी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएका छन् ।


Author

थप समाचार
x