शिक्षा

सीबीएम कलेजद्वारा कक्षा ११ र १२ का लागि छात्रवृत्ति घोषणा

इकागज |
असार ८, २०८१ शनिबार १३:५५ बजे

काठमाडौँ- कलेज अफ बिजनेश म्यानेजमेन्ट (सीबीएम)ले छात्रवृत्ति योजना घोषणा गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कलेजले आगामी शैक्षिक सत्रका लागि दिने छात्रवृत्ति घोषणा गरेको हो । 

कलेजले आगामी शैक्षिक सत्रका लागि अधिकतम् ६०० जनालाई छात्रवृत्ति प्रदान गर्ने दाबी गरेको छ । 


कक्षा १० सम्म सरकारी विद्यालयबाट अध्ययनगरी कलेजमा अध्ययन गर्न आउने विभिन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल सिए सुमन न्यौपानेले जानकारी दिए । 

उनका अनुसार विभिन्न छ वटा आधारमा एक एक सय जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति उपलब्ध गराइने छ । 

गरिब तथा पिछडिएको वर्ग, जेहनदार तथा मेहनती, खेलकुदमा रुचि भएका, संगीत तथा नृत्यमा रुचि राख्ने र अन्य प्रयोगात्मक विषय तथा अध्ययनसँगै कार्यदक्षता हासिल गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिइने उनले बताए । 

छात्रवृत्तिका लागि असार १६ गते प्रवेश परीक्षा हुने छ । ​काठमाडौँबाहिर रहेका विद्यार्थीले डिजिटल माध्यमबाट पनि प्रवेश परीक्षा दिन सक्ने उनको भनाइ छ । 

कलेजले विगतका वर्षमा पनि छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ ।  २५ वर्ष पुरानो कलेज हाल युवा व्यवस्थापकले सम्हालिरहेका छन् ।


Author

थप समाचार
x