शिक्षा

भ्याली भ्यु स्कुलको कक्षा ५ का विद्यार्थीद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

इकागज |
असार ८, २०८१ शनिबार २१:३५ बजे

काठमाडौँ- काठमाडौँको मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुल, कक्षा ५ मा अध्ययनरत १ सय ३४ जना छात्रछात्राले नागार्जुन नगरपालिकास्थित रानीबारीको मानवसेवा आश्रममा सहयोग गरेका छन् । विद्यार्थीहरूले आश्रममा स्थलगत भ्रमण गरी त्यहाँ रहेका असहाय, रोगी तथा पीडित मानवहरूलाई सहयोग गरेका हुन् ।

उनीहरूले फजुल खर्च नगरी आफूले बचाएको २५ हजार ५५ रुपैयाँ मिलेर सहयोग गरेका हुन् । स्वेच्छिक रूपमा आश्रममा आश्रितहरूको भोजन कोषका लागि रकम हस्तान्तरण गरिएको विद्यार्थीहरूले जनाएका छन् ।


भ्याली भ्यु स्कुलको सामाजिक अध्ययन विभागले 'मानवसेवा' शीर्षकको शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत उक्त भ्रमण एवं सहयोग हस्तान्तरण  कार्यक्रम सम्पन्न गरेको प्राथमिक तह संयोजक सुशीला शर्माले जानकारी दिइन् । 

प्रयोगात्मक तरिकाले गरिएको शिक्षण सिकाइबाट बालबालिकालाई गहिरो र दिगो प्रभाव परेकोमा विषय शिक्षकको नाताले आफूलाई निकै सन्तुष्टि मिलेको शिक्षिका हिमा बाँस्तोलाले प्रतिक्रिया दिइन् । मानवसेवा आश्रमका स्वयंसेवक तथा अधिकारीहरूले बालबालिकाहरूलाई आश्रमभित्रका विविध गतिविधिबारे औपचारिक जानकारी दिएका थिए ।

यस किसिमका अभ्यासले आदर्श तथा नैतिकवान् नागरिक निर्माणमा सहयोग पुग्ने विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीको विश्वास छ । अशक्त र बेसहाराहरूलाई सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाको विकासको बीजारोपण आजका साना बालबालिकाको मन-मस्तिष्कमा गराउन सके समयसापेक्ष शैक्षिक मर्म सार्थक हुने भएकाले विद्यार्थीहरूका लागि अभिभावक वर्ग समेतको हौसलायुक्त सहयोगमा सबैलाई सामाजिक उत्तरदायित्व बोध गराउने किसिमको कार्यक्रमको आयोजना गरिएको उनले बताए ।


Author

थप समाचार
x