शिक्षा

एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, कसरी हेर्ने ?

इकागज |
असार १२, २०८१ बुधबार ८:२० बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज साँझ वा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।


परीक्षा नियन्त्रक पौडेलले भने, 'असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।'

उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताए । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । 

कसरी हेर्ने एसइईको रिजल्ट ?
एसइईको रिजल्ट IVR, एसएमएस र वेबसाइटबाट हेर्न सकिने जनाएको छ । IVR का लागि नेपाल टेलिकमको ल्याण्डलाइन फोन, मोबाइलबाट १६०० डायल गरी निर्देशनअनुसार प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

SEE लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा म्यासेज पठाएर पनि एसइईको रिजल्ट हेर्न सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमको http://see.ntc.net.np वेबसाइट पनि हेर्न सकिने जनाएको छ । यीबाहेक विभिन्न नीजि कम्पनीहरूले पनि राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा रिजल्ट हेर्न मिल्ने व्यवस्था गर्ने गरेका छन् ।


Author

थप समाचार
x