शिक्षा

सामुदायिक विद्यालयको एसइई नतिजा

एसइईमा उत्तीर्ण प्रतिशत ७८ : ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १३.७७ प्रतिशत

महानगरभित्रका ३ हजार ९५९ जना विद्यार्थी एसइई परीक्षामा सामेल

इकागज |
असार १७, २०८१ सोमबार २०:५३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७%) विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । गएको वर्ष १५० जना (३.८३%) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यसमा वर्ष २५९% सुधार आएको छ ।  

५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष ३ हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना (७८%) उत्तीर्ण भएका छन् । ८७३  जना (२२%) ले पुनः परीक्षा दिनुपर्ने भएको छ । 


गएको वर्ष ३ हजार ९१२ जना आवेदक थिए ।

झाका अनुसार ३.६० देखि ३.२१ सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष १ हजार ५०  जना (२६.५२%) छ । गएको वर्ष यो संख्या ४८८ जना (१२.४५ %) थियो । यो समूहमा गएको वर्षभन्दा यस वर्ष ११३% ले नतिजा वृद्धि भएको छ । यसमा नतिजा बढ्ने क्रममा छ । 

३.२० देखि २.८१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष १ हजार ८० जना (२७.२८%) छ । गएको वर्ष ८०९ जना (२०.६३%) थियो । यस वर्ष गएको वर्षभन्दा ३२ प्रतिशत संख्या वृद्धि भएको छ । यस्तै २.८० देखि २.४१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष ३९५ जना (९.९८%) छ । यसमा गएको वर्ष ९८२ जना (२५.०४ %) थियो । यस्तै २.४० देखि २.०१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष १६ जना (०.४०%) छ । गएको वर्ष यो संख्या ९२३ जना (२३.५४%) थियो । यो नतिजाले कम संख्या ल्याउने विद्यार्थीको संख्या घटिरहेको र धेरै अङ्क ल्याउने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ, झाको भनाइ छ । 

२ र त्यसभन्दा तल जीपीए ल्याउने विद्यार्थीको संख्या ८७३ छ । यो २२.०५% हो । गएको वर्ष यस समूहमा ५६९ जना अर्थात् १४.५२ प्रतिशत विद्यार्थी थिए । 

विश्व निकेतनका ४ जना विद्यार्थीले ल्याए ४ जीपीए

काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका ४ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । यो नेपालभरिका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट संख्या हो । यससँगै ज्ञानोदय माध्यमिक विद्यालय, वाफलका ३ जना, रत्नराज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरका २ जना र तरुण माध्यमिक विद्यालय, बालाजुका १ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । यसरी महानगरपालिकाभित्रका ५८ विद्यालयमध्ये ४ वटा विद्यालयका १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको हुन् । 
 
उत्कृष्ट नतिजाका लागि महानगरपालिकाको प्रयत्न 

प्राप्त नतिजा महानगरपालिकाले सञ्चालन गरेको शैक्षिक सुधार कार्यक्रमको उपलब्धि हो । नतिजा  सुधार  कार्यक्रमअन्तर्गत  विद्यालयको आवश्यकताअनुसार २ देखि ३ महिनासम्म  गणित, विज्ञान र अंग्रेजी विषयका लागि विशेष कक्षा सञ्चालन गरिएको थियो । सिकाइ उपलब्धिका लागि उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयले माग गरेअनुसार काठमाडौँ महानगरपालिकाले अनुदान रकम उपलब्ध गराएको थियो । कार्यक्रम र बजेट हुँदा पनि सक्षम जनशक्तिको अभावमा नतिजा प्राप्त गर्न नसकिने हुँदा काठमाडौँ विश्वविद्यालयबाट सिकाइ सुधारका विशेषज्ञ शिक्षकको उपलब्धता गराइएको थियो । 

पुस्तकरहित शुक्रबारको माध्यम बाट सह–पाठ्यक्रम र अतिरिक्त  क्रियाकलापमा जोड दिँदै विद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास गरिएको थियो । 

शिक्षामा रुपान्तरण ल्याउन विद्यार्थीको सिकाइ सुधार महानगरपालिकाको प्राथमिकता हो । यसलाई सम्भव बनाउन  विद्यार्थीको सिकाइ कमजोरी हुनुको मुल कारण बुझ्न र सोहीअनुसार सुधार कार्यक्रम कार्यान्वयन योजनाको आधार अहिले पनि अनुसन्धान भइरहेको छ । काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन भएको ‘टिचर कलेज कार्यक्रम’ यसको एउटा उदाहरण हो । 

शिक्षकको दक्षता अभिवृद्धि, पुस्तकरहित शुक्रबारको पाठ्यक्रम विकास, अनुसन्धानमा आधारित कार्ययोजना र त्यसको कार्यान्वयन  इनपुट, आउटपुट ‘टिचर कलेज कार्यक्रम’ बाट प्राप्त हुन्छ । नतिजा र प्रभावको अन्तरनिहित सम्बन्ध स्थापना गर्ने योजना यस कार्यक्रमबाट स्थापित हुनेछ । 

कक्षा कोठामा भन्दा खुला, अतिरिक्त र बाहिरी क्रियाकलापले नतिजा बढाएको झा बताउँछन् । प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरूलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सीप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाइ पेडागोजीमा सुधार, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।


 


Author

थप समाचार
x