शिक्षा

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’

इकागज |
असार १९, २०८१ बुधबार ९:२५ बजे

नवलपुर (नवलपरासी)- हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । 

जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट गाउँपालिकामा दुई, बुलिङटार गाउँपालिकामा दुई र विनयी त्रिवेणी गाउँपालिकामा दुई छन् ।


जिल्लाको मध्यविन्दुमा दुई संस्थागत विद्यालय एवं सामुदायिकतर्फ एक प्राविधिक धारको विद्यालय र साधारण विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरले जनाएको छ । एकाइ प्रमुख रुद्र शर्माका अनुसार मध्यविन्दुको संस्थागततर्फ तमासपुरको सनराइज इङ्ग्लिस स्कुल र वल्र्ड लाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन् । 

त्यस्तै, सामुदायिकतर्फ रत्नराज्य माध्यमिक विद्यालय र प्राविधिक धारको जनता माध्यमिक विद्यालय अरुणखोला छन् । सन्राइजले सात विद्यार्थी, वल्र्ड लाइटले छ विद्यार्थी, रत्नराज्यले आठ विद्यार्थी तथा जनता माविले २२ विद्यार्थी एसइईमा सहभागी गराएकामा सबै विद्यार्थी ‘अनुत्तीर्ण’ भएका एकाइ प्रमुख शर्माले जानकारी दिए । 

त्यसैगरी विनयी त्रिवेणीमा एक÷एक संस्थागत र सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । उहाँका अनुसार विनयी त्रिवेणीको संस्थागततर्फ दाउन्नेको अहिंसावादी महाबौद्ध अनाथ माध्यमिक विद्यालय तथा सामुदायिकतर्फ कुदापानीको भवानी माध्यमिक विद्यालयले एसइईमा विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । अहिंसावादी विद्यालयबाट चार  र भवानी माविबाट १० विद्यार्थी एसइईमा सहभागी भएका थिए । 

जिल्लाको गैँडाकोट नगरपालिकामा दुई विद्यालयको नतिजा शून्य आएको एकाइ प्रमुख शर्माले बताए । उनका अनुसार दमारको बालज्योति माध्यमिक विद्यालय र श्रीमद् रामानुज बेद विद्याश्रमको नतिजा शून्य आएको हो । बालज्योतिबाट ११ एवं बेद विद्याश्रमबाट तीन जना विद्यार्थी एसइईमा सहभागी थिए । गैँडाकोटको दमारमा रहेको विद्यालय जिल्लाकै बिकट ठाउँको विद्यालयको रुपमा रहेको उनले बताए । 

हुप्सेकोटको जनता माध्यमिक विद्यालय गुहेरी र जनकल्याण राष्ट्रिय माध्यमिक विद्यालय शङ्खदेवको नतिजा शून्य आएको छ । ती दुवै सामुदायिक विद्यालय हुन् ।  जनता माविबाट १५ जना विद्यार्थी र जनकल्याणबाट १८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।  जिल्लाको बुलिङटारबाट एसइईमा सहभागी भएका विद्यालयमध्ये गोरखकाली माध्यमिक विद्यालय अर्खला र जनजागृति माध्यमिक विद्यालय ढाडबेँसीको नतिजा शून्य आएको छ । 

नतिजा शून्य ल्याएका दुवै सामुदायिक विद्यालयमध्ये गोरखकालीबाट सात  र जनजागृतिबाट चार विद्यार्थी एसइईमा सामेल भएका एकाइ प्रमुख शर्माले बताए । उनका अनुसार जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुई वटा विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन् । रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय मुकुन्दपुर र डेढगाउँ माध्यमिक विद्यालयबाट एसइईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका थिए । 

जिल्लामा सामुदायिकतर्फ ८७ विद्यालयबाट चार हजार पाँच सय २३ विद्यार्थी एसइईमा सहभागी भएकामध्ये एक हजार आठ सय ५३ विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ उत्तीर्ण विद्यार्थी ४० प्रतिशत रहेका जनाउँदै एकाइ प्रमुख शर्माले सामुदायिक विद्यालयबाट दुई हजार छ सय ७० विद्यार्थी ‘अनुत्तीर्ण’ भएका जानकारी दिए । संस्थागततर्फ ५२ विद्यालयका एक हजार चार सय चार विद्यालय एसइईमा सहभागी भएकामध्ये नौ सय ८७ विद्यार्थी उत्तीर्ण भएका शमाएको भनाइ छ । 

संस्थागत विद्यालयका विद्यार्थी उत्तीर्ण प्रतिशत ७० रहेको रहेको जनाउँदै उहाँले संस्थागत विद्यालयबाट चार सय १७ विद्यार्थी एसइईमा ‘अनुत्तीर्ण’ भएका बताए । जिल्लामा अनुत्तीर्ण भएका तीन हजार ८७ विद्यार्थी साउनमा हुने ग्रेडवृद्धि परीक्षामा सामेल भएर उत्तीर्ण भए कक्षा ११ मा अध्ययन गर्न पाउने एकाइ प्रमुख शर्माले जानकारी दिए ।  

जिल्लाका एक सय ३९ विद्यालयबाट एसइईमा सहभागी भएका पाँच हजार नौ सय २७ विद्यार्थीमध्ये दुई हजार आठ सय ४० विद्यार्थी उत्तीर्ण भएका उनले बताए । जिल्लामा एसइईमा उत्तीर्ण विद्यार्थीको प्रतिशत ४७ दशमलब ९२ रहेको उनको भनाइ छ । रासस


Author

थप समाचार
x