शिक्षा

वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी

इकागज |
साउन २४, २०८१ बिहीबार १०:५५ बजे

काठमाडौँ- वन कभर प्राइभेट लिमिटेड र लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साइबर सुरक्षा कम्पनी वन कभर र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजबीच बुधबार समझदारी भएको हो । 

वन कभरको तर्फबाट सीईओ चिरञ्जीवी अधिकारी र लिबर्टी कलेजको तर्फबाट यसको मातृ कम्पनीसमेत रहेको ग्लोबल कलेजका शैक्षिक निर्देशक डा. देवराज पनेरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।


कार्यक्रममा लिबर्टी कलेजका कार्यकारी निर्देशक नवराज भण्डारी, प्रिन्सिपल प्रदीप पराजुली, आईटीको शैक्षिक प्रमुख डा. समीर खरेललगायतका प्रतिनिधि उपस्थित थिए । 

यसरी सहकार्य गर्नुको उद्देश्य कलेजमा साइबर सुरक्षाको विषयमा विद्यार्थीलाई जागरुक बनाउनु रहेको कलेजले बताएको छ । यसले विद्यार्थी र समुदायका लागि सुरक्षित डिजिटल वातावरण प्रदान गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको जनाएको छ । 

त्यस्तै लिबर्टी कलेजले पोखरा विश्वविद्यालयसँग सम्बद्ध बीसीएसआईटीबाट आईटी कार्यक्रमको सुरुवात गरेको हो । र, बुधबारको समझदारीपश्चात कलेज साइबर सुरक्षा हेल्प डेस्क, साइबर सुरक्षा घटना व्यवस्थापन, साइबर सुरक्षा कार्यशाला, साइबर सुरक्षा बुटक्याम्प, साइबर सुरक्षासम्बन्धी विभिन्न सम्मेलनलगायतका गतिविधि हुने पनि समझदारीपत्रमा उल्लेख छ ।


Author

थप समाचार
x