राजर्षि जनक विश्वविद्यालय र इष्ट चाइना युनिभर्सिटीबीच सम्झौता
काठमाडौँ- राजर्षि जनक विश्वविद्यालय र चीनस्थित इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबीच शैक्षिक तथा सांस्कृतिक गतिविधि आदानप्रदान गर्ने समझदारी भएको छ ।
हालै चीनको नाङचाङमा भएको कार्यक्रमका बीच चिनियाँ विश्वविद्यालयको साहित्य, कानुन र कला संकायका प्रतिनिधि सु गुओहुवा र राजर्षि जनक विश्वविद्यालयका मानविकी तथा कानुन संकायका डीन प्राध्यापक डा. नरेन्द्र कटुवालबीच सम्झदारी पत्रमा हस्ताक्षर भएको हो ।
दुई देशका विश्वविद्यालयले शैक्षिक, सांस्कृतिक र अनुसन्धान आदानप्रदानलाई प्रबद्र्धन गर्ने लक्ष्य यो समझौताले राखेको छ ।
समझदारीमा संयुक्त अनुसन्धान, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना, भाषा प्रशिक्षण, विद्यार्थी र शिक्षकको अनुभव आदानप्रदान लगायतका विभिन्न सहयोगात्मक क्रियाकलापलाई प्रोत्साहन गरिने उल्लेख छ ।
विद्यार्थी तथा शिक्षकहरूका लागि छोटो र दीर्घकालीन एक्सचेन्ज कार्यक्रम, संयुक्त सेमिनार, कार्यशाला, गोष्ठी, अनलाइन तथा प्रत्यक्ष कक्षाहरू सञ्चालन तथा दुबै विश्वविद्यालयका स्रोत साझा गर्नेसम्मको सहकार्य गरिनेछ ।
यो सम्झौताले मधेश प्रदेशको शैक्षिक र सांस्कृतिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच थप विस्तार गर्ने अपेक्षा गरिएको डीन डाक्टर कटुवालले बताए । उनले यो सम्झौताले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धा गर्न थप सशक्त बनाउने विश्वास पनि व्यक्त गरे । यस समझदारीको अवधि प्रारम्भिक रूपमा तीन वर्ष तोकिएको छ ।
समयावधि समाप्त भएपछि कुनै पनि पक्षले ६ महिना अघिसम्म जानकारी नदिएमा समझदारीलाई थप तीन वर्षका लागि स्वचालित रूपमा नवीकरण गरिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया