शिक्षा

स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबिबीएस अध्यापन सुरु

इकागज |
पुस ३, २०८१ बुधबार १५:३२ बजे

फाइल फाेटाे

जनकपुरधाम - मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । संघीय सरकारबाट यस वर्ष एमबिबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन सुरु गरेको हो ।

प्रतिष्ठानले प्राप्त गरेको ५० मध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति र २५ प्रतिशत सिटमा तोकिएको रकमको आधारमा नामांकन गराइने प्रतिष्ठानका उपकुलपति डा अकुर साहले जानकारी दिए । पूर्ण छात्रवृत्तिअन्तर्गत ३८ जनाको नामांकन गरिएको छ । विदेशी विद्यार्थीको हकमा ४५ लाख भारतीय रकम लिने निर्णय भएको उनले बताए । 


पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामांकन सुरु गरिएको उपकुलपति डा साहले बताए । अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामांकन गरिएको छ । यही पुस २४ गतेसम्म नामांकनको समयावधि तोकिएको छ । छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले रु ४५ लाख शुल्क तोकेको जनाउँदै उनले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गरे । ​

एमबिबीएसको अध्ययन जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पछाडि रहेको एकेडेमी कलेजमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । यसअघि उक्त भवनमा नर्सिङका  छात्राहरू अध्ययन गर्दै आएका थिए ।

 एमबिबीएस अध्यापनका लागि शिक्षकको छनोट र नियुक्ति पहिला नै भइसकेको बताउँदै उपकुलपति डा साहले छनोट भएका शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण दिने कार्य पनि भइसकेको जानकारी दिए । 


Author

थप समाचार
x