शिक्षा

मेडिकल र पारामेडिकलको पुनः प्रवेश परीक्षा गराउन विद्यार्थी संगठनको माग

इकागज |
साउन २८, २०७८ बिहीबार २२:३३ बजे

काठमाडौँ - संयुक्त विद्यार्थी संगठनले मेडिकल र पारामेडिकलको प्रवेश परीक्षा पुनः गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । काठमाडौंमा बिहीबार बसेको बैठकमा उपस्थित विद्यार्थी नेताहरुले सरकारसमक्ष यस्तो माग राखेका हुन् । 

‘चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षाबाट सीट संख्याभन्दा कम उत्तीर्ण हुँदा मुलुकभित्रै अध्ययन गर्नबाट वञ्‍चित हुने र विदेशिनु पर्दा नेपाली मुद्रा बाहिरिने भएकोले तत्काल पुनः  प्रवेश परीक्षा मिति सार्वजनिक गरी विद्यार्थीहरुलाई मुलुकभित्रै अध्ययनको वातावरण बनाउन माग गरेका हौं,’ नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले भने । 


बैठकले विद्यार्थीको माग पूरा गर्नुको साटो ज्यादती गरेको भन्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई अविलम्ब बर्खास्त गर्न पनि माग गरेका छन् । ‘विद्यार्थीका जायज माग पूरा गर्नुको साटो ज्यादतीमा उत्रने उपकुलपतिलाई पदमाबस्ने अधिकार नरहेको हुँदा अविलम्ब उपकुलपतिको बर्खास्त गर्न सरकरसँग जोडदार माग गर्दछौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।  

समस्याको सम्बन्धमा प्रधानमन्त्रीलाईसमेत भेटेर मागपत्र बुझाएकोमा हालसम्म समस्या समाधानमा नभएको र उपकुलपतिजस्तो उच्च ओहदामा रहेका व्यक्तिबाट विध्यार्थीहरुमाथि हात हाल्नेको घटनाले देशकै शैक्षिक र प्रागिक जगतको शिर निहुर्‍याएको बैठकको निष्कर्ष छ । विद्यार्थी संगठनले मध्यपश्‍चिम विश्वविद्यालयको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै विद्यार्थीका मागहरु पूरा नहुँदासम्म थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ । 

‘इन्जिनियरिङसहित शैक्षिक संस्थहरुमा शुल्क समायोजनको विषयलाई लिएर भइरहेको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै कोभिड महामारीका जारी लकडाउन भएको अवधिमासमेत शुल्क असुल्ने, शुल्क वृद्धि गर्ने र विद्यार्थीहरुमा ब्रम्हलुट मच्चाएर चरम आर्थिक शोषण गरिरहेकोले शैक्षिक माफियाहरुलाई अविलम्ब लुटपाट रोकी आन्दोलनका माग सुनुवाइ गर्न र वार्ताद्वारा समस्या हल खोज्न संयुक्त विद्यार्थी संगठनले आग्रह गरेको छ,’ मैनालीले भने, ‘यस्तै लकडाउनपछिको समयमा अध्यापनमा संलग्न शिक्षक प्राध्यापकहरुलाई पूरा तलब नदिई वौद्धिक श्रमको शोषण गरिरहेको पाइएको भन्दै त्यस्ता कार्य रोकी तत्काल तुरुन्त पूर्ण तलब उपलब्ध गराउन पनि विज्ञप्तिमार्फत माग गरेका छौं ।’ 

यसैगरि विज्ञप्तिमा सीटीइभीटीको परिक्षा सञ्चालनमा बहुकेन्द्रहरु राखी स्वास्थ्य मापदण्ड कायम गर्न । मुलुकभरका आंगिक क्याम्याम्पसहरुमा कोटा थप गर्नुपर्ने एघार बाह्रको अध्ययनमा दिँइदै आएको १० प्रतिशत छात्रवृत्ति अनुगमन र नियमन गर्न उपत्यकाको हकमा विशेष नियमवली र संरचना बनाएर अनुगमन गर्नसमेत संगठनले माग गरेको छ ।

नेपाली कांग्रेसनिकट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमार्चाको विद्यार्थी संगठन अखिल छैठौं अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा जारी गरेका हुन् ।

 


Author

थप समाचार
x